|

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नहुने बताएका छन्। राजनीतिक दलहरूले पनि राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि उकास्न नहुने उनले बताए।

आफ्नो निर्वाचन क्षेत्र तनहुँ- १ का मतदातालाई धन्यवाद दिन आएका पौडेलले राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा जोगाउन सबै लाग्नुपर्ने भन्दै असंवैधानिक काम गर्न राष्ट्रपतिलाई कसैले पनि उकास्न नहुने बताए। राष्ट्रपतिले पनि कुनै राजनीतिक दलको उक्साहटमा लाग्नुभन्दा आफ्नो संवैधानिक दायरामा रहेर काम गर्नुपर्ने पौडेलको भनाइ छ।

वरिष्ठ नेता पौडेलले राष्ट्रियसभाको गठन नभएसम्म संघीय संसदले पूर्णता नपाउने भन्दै राष्ट्रियसभा तत्काल गठन हुनुपर्नेमा जोड दिए। ‘राष्ट्रियसभा एउटा जिम्मेवार संस्था हो। अन्तर्राष्ट्रियस्तरमा पनि एउटा पाको सभाका रूपमा राष्ट्रियसभालाई लिने गरिन्छ। त्यस्तो जिम्मेवार सभालाई कुनै एउटा दलको पकड बनाउने ढंगले कानुन बन्नु गलत हुन्छ’, उनले भने।

राष्ट्रियसभाको असल चरित्रका लागि भए पनि एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा सदस्यको चयन हुनुपर्ने उनको तर्क छ।

पौडेलले मतदातालाई धन्यवाद दिँदै तनहुँको सुख, दु:ख र आपतविपतमा सधैँ साथ रहने प्रतिवद्धता जनाए। उनले कांग्रेस नेता, कार्यकर्ताहरूलाई पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन पनि दिए।

आइतबार गृहजिल्ला तनहुँ आएका वरिष्ठ नेता पौडेलले तनहुँको आँबुखैरेनी, सत्र सय, बरादी, याम्पा, विमलनगर, डुम्रे पुगेर मतदातालाई धन्यवाद दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.