|

काठमाडौं : निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम निकाल्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव बिहीबार साँझसम्म आयोगसमक्ष पेस गर्ने तयारी छ।

समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने काम बिहीबारसम्म सकाउने लक्ष्य राखिएको बताए। ‘सकेसम्म बिहीबारै साँझ नभ्याइए शुक्रबार सबै प्रदेशका समानुपातिकतर्फका परिणाम आयोगसमक्ष पेश गर्नेछौं,’ उनले भने, ‘आयोगको निर्णयपछि थप प्रक्रिया अगाडि बढाइने छ।’ आयोगले निर्णय गरेपछि प्रदेशगत रूपमा कुन दलले कति सिट पाएको र त्यसमा समावेशी समूहबाट प्रतिनिधित्व गर्ने संख्या तोकेर दलहरूलाई पठाइने छ।

आयोगसमक्ष पेस गरिने प्रस्तावमा प्रदेशगत रूपमा कुन दलले कति मत पाए, कुल मतको डेढ प्रतिशत 'थ्रेसहोल्ड' कटाएकामध्ये कुन दलले कति सिट पाउने, डेढ प्रतिशत मत नकटाएका दल र तिनले पाएको मतलगायत विवरण समेटिनेछन्। प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलता आएपछि आयोगले प्रदेशसभाको परिणाम पहिले सार्वजनिक गर्न लागेको हो। राष्ट्रिय सभाको निर्वाचन नभई समानुपातिक सूचीबाट कुन दलले कति महिला पठाउनुपर्ने यकिन संख्या तोक्न आयोगलाई समस्या भएको छ।

संविधानमा संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधिसभा) मा प्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने प्रावधान छ। प्रतिनिधिसभामा प्रत्यक्षबाट र राष्ट्रिय सभामा निर्वाचित हुने सदस्यहरूमध्येबाट कुनै दलको एकतिहाइ सदस्य महिला निर्वाचित हुन नसके त्यस्तो राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संसद्मा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एकतिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सचिव पौड्यालले दलहरूले उम्मेदवार छनोट गरेर पठाउँदा संविधान र कानुनअनुसार समावेशी सिद्धान्तको प्रतिनिधित्व र क्रमआबद्धताको प्राथमिकताअनुसार मिलाएरै पठाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.