|

एक दशक लामो सशस्त्र द्वन्द्वको प्रत्यक्ष पीडा र शान्ति प्रक्रियाको पनि एक दशक लामो अनुभव सँगाल्दै दुई दशकपछि संघीयतासहितको नयाँ स्वरूपमा रुकुमले नयाँ पाइला सुरु गरेको छ। 

संघीयताको नयाँ संरचनासँगै असोजदेखि दुई जिल्लाको रूपमा समेत रुकुमले मान्यता पाएको छ। यसले गर्दा रुकुमेलीहरूको विकास र समृद्धिको सपना दुई जिल्लाको राजनीतिक सक्रियता, आर्थिक संभावना र प्रशासनिक व्यवस्थापनले साकार पार्ने देखिन्छ। पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिसहितको कार्यक्रम र युवा बेरोजगारीको समस्या झेल्दै आएको यस क्षेत्रमा उद्योग स्थापना गरेर युवाहरुलाई आफ्नै गाउँघरमा पसिना बगाउने अवसर दिन सकिन्छ। त्यसका साथै यातायात, शिक्षा, स्वास्थ्य, ऊर्जा र कृषिसहितका क्षेत्रमा पनि दीर्घकालीन योजना बनाएर रुकुमको विकास र समृद्धिको सपना पूरा गर्न सकिने स्थानीय बताउँछन्। 

पर्यटन

राप्ती क्षेत्रकै एक दुर्गम जिल्ला रुकुम ५२ पोखरी र ५३ टाकुरीको जिल्लाका रूपमा प्रख्यात छ। ५२ पोखरी र ५३ टाकुरी अहिले नयाँ बनेको रुकुम पूर्वको रुकुमकोट क्षेत्रमा पर्छ। जिल्लाका विभिन्न ठाउँमा धेरै ससाना पोखरी र टाकुराहरू छन्। त्यहाँ भूगोल, जाति, भाषा, धर्म, संस्कृति र संस्कारमा विविधता छ। 

राप्ती क्षेत्रकै सबैभन्दा ठूलो ताल रुकुममै छ। २ दशमलव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पुतालले मौसमअनुसार रङ फेर्ने भएकाले यसलाई ‘कान्छो रारा’समेत भन्ने गरिन्छ। सदरमुकाम मुसिकोटबाट स्यार्पुतालतर्फ जाँदा बाटोमा थुप्रै साना ठूला झरनाहरू देख्न सकिन्छ। स्यार्पुतालपछि अर्को घुम्नै पर्ने ठाउँ हो, कमलताल। खलंगाबाट पूर्वी क्षेत्रमा पर्ने यो ताल पुग्नका लागि तीन घण्टा गाडीको यात्रा गर्नुपर्छ र पैदल हिँड्न मन लागे पाँच घण्टामा सानीभेरीको तिरैतिरै ताल रहेको स्थानमा पुग्न सकिन्छ। 

सोलाबाङ बालुवा सडक भएर पुग्न सकिने उक्त तालमा घुम्नका लागि कमलको फूल फुल्ने बेला अर्थात् भदौ, असोजमा उपयुक्त हुन्छ। अर्को छुटाउनै नहुने ठाउँ हो, सिस्ने हिमाल। सदरमुकामबाट १५ मिनेटको छोटो यात्रापछि सिस्ने हिमालको शिर देख्न सकिन्छ तर यसको आधार शिविर पुग्न भने स्यार्पुताल नजिकै पुग्नुपर्छ। 

मध्यपश्चिम क्षेत्रकै अग्लो हिमाल मानिने सिस्नेको उचाइ पाँच हजार ५४१ मिटर छ। मनोरम हिमाली परिदृश्य, महाभारत श्रृङ्खलाका अग्ला पहाड, पश्चिमका चुरे पहाडसँगै चौरजहारी र आठबीसकोट राडीको समथर र मनमोहक फाँटले रुकुमको भौगोलिक विविधताको परिचय दिन्छ। यसका साथै धार्मिक र सांस्कृतिक रूपले पनि रुकुम प्रख्यात छ। 

सदरमुकाम खलंगामै डिग्रे साइकुमारी मन्दिर छ। प्राचीनकालको प्रसिद्ध यस मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास गरिन्छ भने प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन यहाँ जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्छ। 

जिल्लामा पदयात्राको पनि राम्रो संभावना छ। सदरमुकाम मुसिकोट खलंगाबाट स्यार्पुताल, सिस्ने हिमाल, कमलताल हुँदै सानीभेरीको तिरैतिर सुन्दर वस्ती, अग्ला पहाड, साना ठूला झरना र दर्जन बढी मगर वस्तीहरूको घुमघामसँगै बागलुङसम्मको पदयात्रा गर्न सकिन्छ। 

यस्तै, अविरल बगिरहने सानीभेरी र ठूलीभेरीमा जलयात्राको विकासको राम्रो संभावना छ। यसबाहेक तातोपानीको मुहान पनि यही जिल्लामा छ। यस क्षेत्रमा माथि उल्लेखितबाहेक पनि अन्य धेरै पर्यटकीय क्षेत्र र संभावना भए पनि आवश्यक प्रवद्र्धनका कार्यक्रमहरू प्रभावकारी ढंगबाट हुन नसक्दा अपेक्षित उपलब्धी हुन सकेको छैन। 

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र विद्रोहको उद्गम थलोका रूपमा समेत चर्चित रुकुम संभावना भएर पनि पर्यटकीय गन्तव्य बन्न सकेको छैन। रुकुमलाई युद्ध पर्यटनको रूपमा समेत विकास गर्न एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुमको चुनबाङ आएर गुरिल्ला पदमार्गको उद्घाटन गरेका थिए तर त्यसपछि कुनै कार्यान्वयनका कार्यक्रम संचालन भएका छैनन्। 

त्यसका साथै रुकुमका सबै पर्यटकीय स्थलहरूमा पर्यटकलाई खान र बस्नका लागि स्थानीय घरहरूमा ‘होम स्टे’ सेवाको प्रभावकारी व्यवस्थापन भएको छैन। रुकुममा प्याराग्लाइडिङको पनि राम्रो संभावना रहेको छ। रुकुमको जन्ती बस्ने डाँडाबाट मुसिकोटमा एक वर्षअघि प्यााग्लाइडिङको सफल परीक्षण गरिए पनि पुनः त्यसलाई निरन्तरता दिने खालको कार्यक्रम सञ्चालन गरिएको छैन। यसले गर्दा उक्त कार्य पनि अलपत्र अवस्थामा पुगेको छ। 

यदि राम्रो व्यवस्थापन भएमा रुकुमपूर्व प्रदेश नम्बर– ५ र रुकुम पश्चिम प्रदेश नम्बर– ६ कै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर यहाँबाट आर्थिक उपार्जन गर्न सकिन्छ। 

उद्योग

एसईई परीक्षा सकेपछि धेरै विद्यार्थीहरू अबको यात्रा के कसरी अगाडि बढाउने भनेर सोच्छन्। कोही कम्प्युटरलगायतका विभिन्न तालिमहरू लिन सुरु गर्छन्। तर रुकुमलगायतका पहाडी जिल्लाका अधिकांश विद्यार्थीहरूको भने नयाँ गन्तव्य सुरु भएको छ, कालापार (भारत)।  

घरको आर्थिक अवस्था कमजोर हुनु र गाउँघरमा अन्य कुनै काम नहुँदा एसईई दिएर पैसा कमाउन भारत जाने गरेका हुन्। अहिले पनि रुकुमका धेरै स्थानीय भारतको कालापारमा जाने गरेका छन् भने त्यसबाहेक रोजगारीका लागि विदेशका अन्य भागहरूमा जाने युवाहरू पनि त्यस्तै छन्। 

लामो सशस्त्र द्वन्द्वबाट ग्रस्त बनेको रुकुम जिल्लामा कुनै पनि ठूला तथा मझौता उद्योग कलकारखानाहरू छैनन्, जसका कारण वर्सेनी युवाहरू विदेशको भूमिमा पसिना बगाउन बाध्य छन्। 

तर रुकुममा विद्युत, वन तथा कृषि, प्रशोधन उद्योगका साथै सिमेन्ट उद्योगहरूको पनि संभावना अध्ययन गर्न सकिएमा रुकुमका धेरै युवाहरूलाई त्यसमा रोजगार गराउन सकिन्छ। यसले गर्दा यस प्रदेशको युवा परिचालन र आर्थिक उत्पादनका हिसाबले पनि राम्रो नतिजा दिन सक्छ। रुकुमका सबै नगर तथा गाउँपालिकाहरूमा वन तथा कृषिमा आधारित उद्योग स्थापना गर्न सकिने संभावना पनि छ। निर्माण सामग्री उत्पादन गर्ने उद्योगदेखि जडिबुटी, केतुकेलगायतका गैरकाष्ठ वन पैदावार प्रशोधनको उद्योग स्थापना गर्न सकिन्छ। त्यसका साथै च्युरा मिल, साबुन उद्योग, अर्गानिक खाद्यान्न उद्योग स्थापना गरी सरकारी र जनताको स्तरबाट समेत लगानी गरेर सहभागिता बढाउन सकिने संभावना छ। 

रुकुम तरकारी बिउ उत्पादनका दृष्टिकोणले राम्रो जिल्ला मानिन्छ। तर अहिलेसम्म पनि तरकारी बिउ प्रशोधनका लागि बिउ प्रशोधन उद्योग स्थापना हुन सकेको छैन, जसले रुकुममा उत्पादन भएको राम्रो बिउ अन्य जिल्लाहरूमा अरू कुनै व्यक्तिहरूको हातमा परेर अरूकै ब्राण्डमा बिक्री वितरण हुँदै आएको छ।

सरकारले जिल्लामा तरकारी बिउ प्रशोधन उद्योग स्थापना गरेर रुकुमको कृषि क्षेत्रको प्रवर्द्धन गर्न र रोजगारी बढाउन स्थानीय तह र अब निर्माण हुने प्रदेश सरकारले सोच्न आवश्यक छ। 

त्यसका साथै रुकुम यार्सागुम्बा, पाँचऔँले जस्ता बहुमूल्य जडिबुटीको पनि उत्पादन थलो हो। यी बहुमूल्य जडिबुटीहरूको स्पष्ट व्यावसायिक नीति र बजारीकरण हुनु आवश्यक छ। तेस्रो व्यक्तिमार्फत् लिएर विदेशमा लाखौं रुपैयाँमा बिक्री हुने रुकुमेली जडिबुटी किसानको हातबाट थोरैमा लिने गरेका छन्। यसले गर्दा काम गर्ने तल्लो वर्गका जनता जहिल्यै गरिब र बिचौलिया धनी हुने अवस्था छ। यसको अन्त्य पनि अबको प्रदेश र स्थानीय सरकारले गर्न आवश्यक छ। 

विद्युत

विद्युत उत्पादन गरेर रोजगारी र आर्थिक उपार्जनका दुवै काम रुकुमबाट गर्न सकिन्छ। रुकुम पूर्व र पश्चिममा गरी दुईवटा ठूला र अन्य साना खोलानालाहरू प्रशस्त रहेका छन्। रुकुम पूर्वमा उत्तरगंगा र पश्चिममा सानीभेरी नदी निरन्तर बगिरहेका छन्। तर पनि यसको पर्याप्त रूपमा सदुपयोग हुन सकिरहेको छैन।

कुमपूर्वमा उत्तरगंगा जलाशययुक्त आयोजना बनाउन सकिने सरकारले यसअघि नै सर्भेक्षण गरेको थियो भने रुकुम पश्चिममा पनि सानीभेरी नदीका धेरै ठाउँमा विद्युत उत्पादन गर्न सकिन्छ। यसले गर्दा रुकुममा हजारौं युवाहरू रोजगार हुनुका साथै खपत नहुने विद्युत अन्य जिल्लाहरूमा बेचेर आर्थिक उपार्जन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.