|

काठमाडौं– दिपायलको पिपल्लावनस्थित जेबी पेट्रोल पम्पमा चैतमा आगलागी हुँदा पम्प, ट्यांकर, नजिकैको होटल र सुनचाँदी पसल पूर्ण रूपमा नष्ट भए। आगलागी इन्धन अनलोड गर्ने क्रममा भएको थियो।

गत असारमा भक्तपुरको सिद्धार्थ पेट्रोल पम्पमा पनि आगलागी भएको थियो। ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा नोजल र ट्यांकीको पाइपको बीचको जोर्नीबाट झिल्को निस्केपछि आगो फैलिएको थियो। त्यस क्रममा दुई जना घाइते भए।

दुई वर्षअघि बालाजु वनस्थलीमा रहेको साझा पेट्रोल पम्प बाहिर पनि आगलागी भयो। इन्धन भरेर स्टार्ट गर्दा मोटरसाइकलमा आगलागी भएको थियो। यस्तै, करिब दुई महिनाअघि त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै ग्यारेजमा पनि आगलागी भयो। त्यसक्रममा एक जनाको मृत्यु भयो। आगोको झिल्का पम्पसम्म नपुगेकाले थप क्षति भएन।

यी घटना केही उदाहरण मात्रै हुन्। हाल मुलुकभरि करिब १२ सय पेट्रोल\डिजेल पम्प सञ्चालनमा छन्। तीमध्ये वाग्मतीमा १ सय ७२ र उपत्यकामा १ सय १७ छन्। ती अधिकांश सरकारी मापदण्डभित्र छैनन्। उपत्यकाका अधिकांश पम्पहरू सडक पेटीबाटै सञ्चालन गर्दै आएका छन्।

यसरी सञ्चालन भएका पम्पलाई तत्काल सरकारी मापदण्डभित्र ल्याउन नसके ठूलो विनाश निम्त्याउने अधिकारीहरूको भनाइ छ। ‘व्यवसायीले पेटीमा राखेर सञ्चालन गरेका छन्। यस्तामा धेरै जोखिम हुन्छ,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘व्यवसायीले सुरक्षामा ध्यानै दिएका छैनन्। करिब ५० प्रतिशत पम्प जोखिममा छन्।’

पम्प सञ्चालकले सुरक्षा मापदण्ड नअपनाउँदा वार्षिक ४\५ पम्पमा आगलागी भएको उनले बताए। पम्पहरू असुरक्षित भएपछि आयल निगमले गत पुसमा सार्वजनिक सूचना प्रकाशित गरी ४ महिनाभित्र पूर्वाधार सुधार गर्न निर्देशन दिएको थियो। तर, एक वर्ष बित्दा पनि व्यवसायीले मापदण्ड कार्यान्वयन गरेका छैनन्। तिनलाई कानुनी दायरामा ल्याउन निगमले बिक्रेता विनियमावली संशोधनसमेत गरेको थियो।

निगमको बिक्रेता विनियमावली (छैटौं संशोधन), २०७३ अनुसार पम्प सञ्चालकले साधारण बिक्रेताको बिक्रीस्थल रहने जग्गाको लम्बाइ राष्ट्रिय राजमार्गको हकमा ४० मिटर र चौडाइ कम्तीमा १७ मिटर, कुल क्षेत्रफल कम्तीमा तीन रोपनी वा साढे चार कट्ठा अनिवार्य गर्नुपर्छ। साधारण बिक्रेताको बिक्री स्थल रहने सहायक राजमार्ग, गाउँपालिका र नगरपालिकाका हकमा जग्गाको लम्बाइ कम्तीमा ३० मिटर, चौडाइ कम्तीमा १५ मिटर र कुल क्षेत्रफल कम्तीमा दुई रोपनी वा तीन कट्ठा हुनुपर्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.