विचार

कृत्रिम दाँत राख्दै हुनुहुन्छ? थाहा पाउनुहोस् कुन उमेरकाले कस्तो खालको दाँत राख्न उचित हुन्छ?
SHARES

माघ २, २०७४

    दाँतलाई स्वास्थ्य र सुन्दरता दुवैका लागि महत्त्वपूर्ण अंगको रूपमा लिने गरिन्छ। स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा दाँतले हामीले खाएका खानेकुरा चपाउने र त्यसलाई पाचन प्रणालीतर्फ पठाउने काम हुन्छ। मानव शरीरको प्रमुख बाहिरी अंगका रूपमा रहेको अनुहारको सौन्दर्य बढाउन दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ। 

    हामीले खाएका खानेकुरा र दाँतमा हुने संक्रमणले दाँतको जरा खिइने, गिजा खिइने र अन्त्यमा दाँत झर्ने गर्दछ। विशेषतः धेरै गुलियो तथा चिसो खानेकुरा खानेहरूका कम उमेरमै दाँत झर्ने गरेका पाइन्छ। प्राकृतिक दाँत झरे पनि विज्ञानको विकासले पुनः प्राकृतिक जस्तै कृत्रिम दाँत लगाउन पाइन्छ। कृत्रिम दाँत प्राकृतिक दाँत झरे वा दाँतलाई कीराले खाएर काम नलाग्ने भएमा मात्र राख्नुपर्दछ। 

    कस्तो अवस्थामा कृतिम दाँत राख्ने?

    कृत्रिम दाँत प्राकृतिक दाँत काम नलाग्ने भएपछि राख्ने गरिन्छ। दाँत झरेको वा काम नलाग्ने भएर निकालिएको छ भने त्यस ठाउँमा नयाँ दाँत राख्ने गरिन्छ। यस्ता दाँत तीन प्रकारका हुन्छन्।

    राख्न र निकाल्न मिल्ने

    अगाडि र पछाडि भागका दाँत बिग्रिएको अवस्थामा प्रायः कृत्रिम दाँत राख्ने गरिन्छ। सस्तोमा राख्न मिल्ने दाँतले प्राकृतिकले जसरी काम नगरे पनि दाँतको बीच भागमा राखेर कडा खालका खानेकुरा टोक्न सहयोग गर्छ। यस्ता दाँतलाई हरेक रात सुत्ने बेलामा निकाली पानीमा डुबाएर राख्नपर्छ र भोलि पुनः गिजामा राख्नुपर्दछ।

    इम्प्लान्ट दाँत

    यस्ता दाँत काम नलाग्ने दाँत भएको ठाउँमा राखिन्छ। झरेको दाँतको जरामा मेटलको प्रयोगबाट यो दाँत राख्ने गरिन्छ, जसलाई चिकित्सकीय भाषामा क्राउन गर्ने भनिन्छ।

    फिक्स दाँत

    मुखको अगाडि र पछाडिको भागमा दाँत राख्नुपरेमा फिक्स दाँत राख्ने गरिन्छ। यो प्राकृतिक दाँत जस्तै हुन्छ। हेरचाह राम्रो गरेमा यसले लामो समयसम्म काम गर्दछ। यस प्रकारका दाँतले हामीले खाएका खानेकुरालाई प्राकृतिक दाँतले जसरी नै चपाउन सकिन्छ। तर, चिसो र अमिलो खानेकुराबाट भने यस्ता दाँतलाई जोगाउनुपर्छ।

    कृत्रिम दाँत राख्दा ध्यान दिनुपर्ने कुरा

    सकेसम्म प्राकृतिक दाँतलाई बिग्रन नदिनु सबैभन्दा राम्रो हो। तर विविध कारणले कृतिम दाँत राखिएका भए केही कुरामा ध्यान दिनु जरुरी छ।

    कृतिम दाँत राख्दा झिक्ने प्रकारका राखिएको छ भने त्यसलाई प्रत्येक रात सुत्ने बेलामा झिकी पानीमा डुबाएर राख्नुपर्छ र भोलि सफा गरेर मात्रै गिजामा राख्नुपर्छ। यस्ता दाँत राखेका मानिसले कडा खालका खानेकुरा टोक्दा विचार पुर्‍याउनुपर्छ ।

    यस्तै, इम्प्लान्ट दाँत राखिएको छ भने कडा खालको खानेकुरा टोक्दा बीचमा राखेर मिलाएर टोक्ने गर्नुपर्छ। यस्तो खालको दाँतको जरामा विशेष प्रकारको मेटल राखिने हुँदा कडा खालका खानेकुरा टोक्दा जरामा असर पुगी मेटल फुट्ने, खिइने भई दाँत काम नलाग्ने हुनसक्छ। त्यसैले कडा खालका खानेकुरा खाँदा विचार पुर्‍याउनुपर्छ।

    फिक्स दाँत राखिएको छ भने हरेक दिन बिहान–बेलुका प्राकृतिक दाँतलाई जसरी नै ब्रस गर्नुपर्छ। जुनसुकै प्रकारका दाँत राखिए पनि विशेषतः चिसो, अमिलो र दाँतमा टाँसिने खालका खानेकुरा खानु हुँदैन, जसले दातँलाई असर गर्छन्।

    कृत्रिम दाँतका फाइदा

    दाँत सुन्दरता मात्र होइन, स्वास्थ्यको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ। दाँतले खानेकुरालाई  चपाएर पाचन प्रणालीसम्म पुर्‍याउन सहयोग गर्ने मात्र नभई स्पष्ट रूपमा बोल्नसमेत सहयोग गर्छ। विशेषतः दाँतले हामीले खाएका खानेकुरालाई प्राचन प्रणालीमा पुर्‍याई शरीरका मुटु, मिर्गौलालगायतका महत्त्वपूर्ण अंगहरूलाई आवश्यक पोषक तत्त्व पुर्‍याउन सहयोग गर्दछ। त्यसैले विविध कारणले प्राकृतिक दाँत झरे कृत्रिम दाँत राख्न आवश्यक छ।

    ६ हजारदेखि  ३५ हजारसम्मका कृत्रिम दाँत

    बजारमा छ हजारदेखि ३५ हजार रुपयाँसम्ममा कृत्रिम दाँत राख्न पाइन्छ। सरकारी अस्पतालहरूमा झिक्न मिल्ने दाँतलाई पाँच हजार रुपैयाँसम्ममा राखिन्छ भने निजी अस्पतालहरूमा भने छदेखि सात हजार रुपैयाँसम्म लाग्ने गर्दछ। यस्तै, फिक्स दाँत नौदेखि १८ हजार रुपैयाँसम्ममा राख्न सकिन्छ भने इम्प्लान्ट दाँत राख्न ३५ हजार रुपैयाँसम्म पर्छ। तर, सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा दोब्बर शुल्क लिने गरिएको पाइन्छ।

    कृत्रिम दाँतप्रति भ्रम

    धेरैलाई जुन ठाउँको प्राकृतिक दाँत निकालिएको छ, त्यहीँ मात्र कृत्रिम दाँत राख्न सकिन्छ भन्ने जानकारी छैन। यसका कारण एउटा दाँत झरेको वा बिग्रिएको लामो समयसम्म ननिकाल्दा सद्दे दाँतलाई समेत असर गर्ने गर्छ।

    दाँत राख्दा आफ्नो उमेरको पनि ख्याल गर्नुपर्छ। २० वर्षभन्दा कम उमेरमा नै कृत्रिम दाँत राख्नुपर्ने अवस्था आएमा झिक्ने खालको राख्दा राम्रो हुन्छ। किनकि उक्त उमेर समूहका मानिसको झरेको दाँत फेरि आउने सम्भावना हुन्छ।

    (थाहाखबरकर्मी सविना खनालले दन्तरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीसँग गरेको कुराकानीका आधारमा तयार पारिएको।)

डा. प्रकाश बुढाथोकी

डाक्टर बुढाथोकी दन्तरोग विशेषज्ञ हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]