|

काठमाडौं: त्यस बेला रेडियो नेपालबाट सीमित संगीतकार र गायकको मात्र गीत बज्थे। प्राय: सधैँ एकै किसिमका गीत बजिरहन्थे, जुन कुराबाट असन्तुष्ट थिए उनी। गायक बन्ने सपना बोकेका उनमा १४/१५ वर्षको उमेरमा यस्तो लाग्यो कि अब नयाँ शैली र ढंगका गीत संगीतको आवश्यकता छ।

रेडियो नेपाल मात्र एउटा यस्तो माध्यम थियो, जसबाट आफ्नो प्रतिभा देखाउन पाइथ्यो। तर रेडियो नेपालमा  सबैका लागि र सधैँ यस्तो अवसर जुर्दैनथ्यो। रेडियो नेपालले त्यस बेला गायक हुन तीन कुरा मापन गरेको थियो- रेडियो नेपालमा गीत गाएको हुनुपर्ने, रेडियो नेपालमा बज्दै आएको संगीतबाट प्रभावित भएको हुनुपर्ने, उत्कृष्ट (गहन) शब्दहरू छनोट गर्न सक्ने। तर अहिलेका नेपाली पप संगीतमा 'नेपाली माइकल ज्याक्सन'का उपनामले चिनिने धीरज राईका गीत रेडियो नेपालमा बज्दै आएका गीतभन्दा एकदमै फरक हुन्थे।

रेडियो नेपालले एकदमै गहन शब्द खोज्थ्यो,धीरज सरल शब्दको प्रयोग गर्थे। 'रेडियो नेपालमा गीत गाइरहेका गायकहरूमा 'स्टेज पर्फमेन्स'को ज्ञान थिएन, ग्ल्यामर थिएन', धीरज भन्छन्, 'तर मलाई एउटा गायकमा फेसन, ग्ल्यामर, स्टेज पर्फमेन्स पनि हुनपर्छ भन्ने थियो।'

धीरजलाई गायक बन्नका लागि दुईवटा बाटोमा एक रोज्नुपर्ने भयो। 'कि त म रेडियो नेपालको अगाडि झुक्नुपर्थ्यो, होइन भने आफ्नो गीतलाई स्थापित गर्न आफैँले बाटो खन्नुपर्थ्यो', राई भन्छन्, 'त्यसबेलासम्म कुनै पप गीत रेकर्ड भएका थिएनन्।' उनका अनुसार रेडियो नेपालमा समर्पित हुँदा भविष्य निश्चित थियो, आफूले सुरु गर्दा स्वाभिमानसहितको अनिश्चित भविष्य थियो। उनी भन्छन्, 'मैले स्वाभिमान बेचिनँ।' त्यहीँबाट उनको संघर्ष सुरु भयो। उनको पहिलो संघर्ष नै रेडियो नेपालसँगको जुधाइमा भयो।

वि. सं. २०४६/०४७ मा प्रजातन्त्र आयो। प्रजतन्त्र आएपछि प्रत्यक्ष राजतन्त्रको अन्त्य भयो। राजतन्त्रको शक्तिमा रहेकाहरू पनि टुटे। राजतन्त्रकै छयामा रहेको रेडियो नेपालको पनि संरचना र व्यवहार परिवर्तन हुनपुग्यो। अब रेडियो नेपाल सबैका लागि खुला भयो। २०४७ सालमा धीरज राईको पहिलो गीत रेकर्ड भयो, 'लुकी लुकी।' यही गीत हो उनलाई नेपाली पप गीतका क्षेत्रमा चर्चित गराउने पहिलो गीत।

गीत रेकर्ड गराउन सजिलो भने पक्कै थिएन त्यसबेला। रेडियो नेपालसँगको द्वन्द्व त सकियो, तर अब गीत रेकर्ड गराउनका लागि उनीसँग पैसा थिएन। मध्यम वर्गीय परिवारमा जन्मिएका धीरज पढाइमा भने 'ट्यालेन्ट' थिए। १४ वर्षका धीरजले आमासँग एउटा प्रस्ताव गरे, 'आमा, म फस्ट भए भने के दिनुहुन्छ मलाई?' आमाले हाँस्दै उत्तर दिइन्, 'तिमी फस्ट हुने! तिमी फस्ट भयौ भने तिमीले जे भन्छौ, त्यही दिन्छु म।'

धीरज ध्यान दिएर पढाइमा लागे। अन्तत: उनी पहिलो नै भए। आमाले  बाजी हारिन्। धीरजले आमासँग डिंगो जुत्ताको माग गरे, जसको आमाको एक महिनाको तलब बराबर मूल्य पर्थ्यो। तर आमाले बाजी हरेकाले पनि किन्दिनै पर्‍यो।

डिंगो लगाएर हिँड्दा आफूलाई टोलको राजा सम्झिन्थे धीरज। धीरजको छिमेकमा एउटा व्रिटिस गोर्खाली लाहुरेको छोरा बस्थे। धीरजको डिंगोमा उनको आँखा पुगेको थियो र भनिरहन्थे, 'ओई, तेरो यो डिंगो मलाई बेच न!'

धीरजलाई गीत रेकर्ड गराउनु थियो, जसको लागि एक हजार रुपैयाँ लाग्ने थियो। उनले विचार गरे 'अब यही डिंगो बेच्छु र गीत रेकर्ड गराउँछु।' उनले पाँच सय रुपैयाँमा आफूलाई आमाले किनिदिएको डिंगो बेचिदिए। 'मैले पाँच सयमा डिंगो बेचेँ तर अरू पाँच सय मसँग थिएन', धीरज सम्झिन्छन्, 'तीन सय देउसी भैलो खेलेर कमाएँ, अरू दुई सय आफन्तसँग मागेर एक हजार पुर्‍याएँ र गीत रेकर्ड गराएँ।'

जब पप गीत रेकर्ड भयो, चैतर्फी पप गायकको माग बढ्न थाल्यो। रेडियो नेपालको गयकलाई भेट्न धेरै तहहरू पार गरेर पुग्नुपर्थ्यो। अब त्यो अवस्था रहेन। पप गायकहरू सिधै दर्शक-श्रोता माझ प्रस्तुत हुन थाले। विवाह, विद्यालमा हुने कार्यक्रमलगायत अन्य क्रार्यक्रममा पनि पप गायकको माग बढ्न थाल्यो।

धीरज पप गायकहरूमा पनि 'एक्स्ट्रा' थिए। जिन्सको ज्याकेट र पाइन्ट अनि खुट्टामा डिंगो। स्टेज पर्फमेन्स पनि उत्तिकै राम्रो थियो धीरजको। 'त्यसबेला नै, वाह! पप गायक भनेको त धीरज जस्तो पो हुनुपर्छ भन्ने ट्रेन नै बस्यो', धीरज सम्झन्छन्। धीरज स्टेजमा गीत मात्र गाउँदैनथे, उनी डान्स पनि गर्थे गीतसँगै। यही कारण 'नेपाली माइकल ज्यक्सन'को उपमा समेत पाएका थिए धीरजले।

वि. सं. २०५२ मा आएर क्यासेट प्लेअरमा लाग्ने चक्का बिक्री सुरु भयो। धीरजको पप गीतको क्यासेटको बजार माग एकदमै उच्च भइदियो। ०५२ सालमा नै उनले पहिलो रोयल्टी दश हजार रुपैयाँ थापे। उनले वर्षमा गीतको सीडी बेचेको आधारमा ४० लाख रुपैयाँसम्म रोयल्टी पाएका छन्। उनी भन्छन्, 'मैले ४० लाखसम्म रोयल्टी पाएको छु एक वर्षको, जुन कुरा मेरो परिवारले पनि पत्याएका थिएनन्।'

यही समयमा धीरजले ४२ वटा देश घुम्न भ्याए। २०४८ सालमा पहिलो पटक हङकङ पुगेका थिए उनी। हङकङमा आयोजक संस्थाले उनलाई ४० हजार रुपैयाँ दिने सर्तमा बोलाएको थियो, जुन उनलाई पत्यार नै लागेको थिएन। धीरज भन्छन्, 'मलाई हङकङको लागि ४० हजार दिने सर्तमा बोलाइएको थियो। पहिला त चार हजार होला भन्ने लागेको थियो, पछि पाँच हजार एड्भान्समा पठाइदिन्छु भनेपछि दंग परेँ म।'

पप संगीतको क्षेत्रमा अढाई दशक लामो यात्रा गरेका धीरजले धेरै हिट गीत गाएका छन्। उनको एउटा मान्यता थियो, 'हरेक एल्बममा एउटा मात्र भए पनि गीत हिट हुनुपर्छ।' तर उनका प्राय: गीतहरू हिट हुन्थे। सुरुवाती दिनमा मायाप्रेमका गीत गाउने धीरजले देशका लागि 'बुद्ध बर्न इन नेपाल' नामक एल्बम निकालेका छन्। बुद्धको जन्मथले नेपाल हो भनेर चिनाउनका लागि उनले उक्त एल्बम निकालेका हुन्। 'माया प्रेमको लागि धेरै गीत गाए, अब देशको लागि केही गर्छु', धीरजले भने।

धीरज अब विश्व बजारमा नेपाली गीत पुर्‍याउने सोचमा छन्। नेपालमा चलिआएका गीतहरूलाई अंग्रेजी भाषामा गाएर विश्व बजारमा पुर्‍याउने उनको लक्ष्य छ। उनी भन्छन्, 'नेपालीपन भएका, नेपाली माटो र सभ्यता अनि संस्कृतिसँग जोडिएका गीतलाई अंग्रेजीमा गाउने कोसिस गर्दै छु।' धीरजले अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन्।

अहिले आफ्नो पप गायनयात्राको रजत महोत्सव मनाइरहेका धीरज देश विदेशका विभिन्न एकल कन्सर्टमा व्यस्त छन् भने गौतम बुद्धको जन्मथलोबारे फैलाइएको भ्रमलाई चिर्न 'बुद्ध बर्न इन नेपाल' गीतसँगै यसको प्रचार अभियानमा पनि क्रियाशील छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.