'दैनिक २४१ रुपैयाँ ज्‍यालाले नानीहरू पढाउनु कि आफू  बाँच्‍नु?'

|

इलाम : चिया बगानमा बहने स्याँठको बेवास्ता गर्दै कन्याम चिया बगानमा वेत पुगेका चिया ‘स्किप’मा व्यस्त टेकमाया महतले भनिन्, ‘राजनीतिक व्यवस्था फेरियो तर हाम्रो दुःख कहिल्यै फेरिएन।’

कन्याम चिया बगानमा ३१ वर्षदेखि मजदुरी गर्दै आएकी महतको जस्तै अनुभव छ बगानमा कार्यरत अरू मजदुरको पनि। दशकदेखिको तलब वृद्धि र सुविधाका मागहरूका लागि बगान व्यवस्थापनसँग सामूहिक माग गर्दै आएका उनीहरूको मन मर्न थालेको हो। यस पटक दलका उम्मेदारहरू पनि माग पूरा गर्न नसकेको कारण नै भोट बैंक मानिने चिया मजदुर सामु नपुगेको उनीहरूले सुनाए।

कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदुरको सरकारले राजपत्रमा प्रकाशन गरेको ज्यालासमेत नपाएको दशक लामो गुनासो अहिले पनि उस्तै छ। टिपिसकेको चियाको टुप्पो धारिलो छुरीले छप्काउँदै मजदुर महतले गुनासो गरिन्, 'आश्वासन दिने धेरै भए, हाम्रो माग पूरा गर्ने कोही आएन।'

२४१ रुपैयाँले नानीहरू पढाउनु कि आफू बाँच्नु?

नेपाल चिया मजदुर श्रमिक संघकी केन्द्रीय उपाध्यक्ष नर्बदा निरौलाले पनि व्यवस्था परिवर्तनले मजदुरको माग पूरा नगरेपछि बगान व्यवस्थापनसँग मिलेरै समस्या समाधानको बाटोमा लागेको बताइन्। इलामका चारवटै बगानमा श्रमिकका लागि स्वास्थ, शिक्षा, बसोवासको सामान्य प्रबन्धसमेत नगरेको प्रति मजदुरको गुनासो रहेको छ।

महतले भनिन्, ‘थर्मसदेखि डोको नाम्लोसमेत पाएका छैनौँ। अहिले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काम गर्दा पाउने दैनिक २४१ रुपयाँले नानीहरू पढाउनु कि आफू बाँच्नु?’ मजदुरका यस्तै प्रश्नको झिरमा उनिने डरले दलका नेताहरूले निर्वाचनअघि मजदुरहरूलाई सामूहिक रूपमा भेट्न उत्साह देखाएका थिएनन्।

सरकारले तोकेको ज्याला झापाका बर्ने, टोक्ला र बाह्रदशी चिया बगानका मजदुरले मात्र पाएपछि पहाडका मजदुरमाथि भएको विभेदको समाधान गर्न सबै दल अक्षम भएको मजदुर धनमाया प्रधानले आरोप लगाइन्।

चिया विकास निगमअन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएपछि मजदुरका पक्षमा बोल्ने क्षमता सरकारले पनि गुमाएको प्रति मजदुर नेताहरू निकै आक्रोशित छन्। बगानमा अहिले काम गर्न सक्ने पुरुष छैनन्। महिला मात्रै काम गरिरहेका छन्। यसको कारण कम तलब नै भएको उनीहरूको भनाइ छ।

इलामका बगानमा ४६ वर्षदेखि काम गर्ने मजदुर पनि अरू विकल्प नपाउँदा जीवनका अन्तिम प्रहरहरू चिया बगानका बुटाहरूमा बिताइरहेका छन्। उनीहरूको जीवन झनै टिठलाग्दो छ।

कन्याम चिया कारखाना बनाउँदा गिटी बोकेको अनुभव सुनाउने माया तामाङले भनिन्, ‘हाम्रो दुःख बुझ्ने कोही आएन।’ उनले बगानले कम वेतन दिएकाले काम हुँदा आफू पनि गाउँमै काम खोजेर गुजारा गर्ने गरेको बताइन्। घरबार चल्ने वेतन नपाएकै कारण चिया बगानमा काम गर्ने मजदुरहरू कोही अरू पेसामा त कोही वैदेशिक रोजगारीमा गएका छन्।

पाँच वर्षअघि १३५ चिया मजदुर लाइन लागेर काम गरेको देखिने इलाम सदरमुकामको चिया बगानमा अहिले २६ जना मात्र स्थायी कर्मचारी रहेका छन्। उक्त बगानमा ३४ जना करारका कामदार लगाएर काम जारी राखेको बगान प्रशासनले जनाएको छ। त्यहाँका कर्मचारीले दैनिक २४१ रुपैयाँ ज्याला पाउने गरेका छन्।

किन घट्छन् वर्षैपिच्छे कर्मचारी?

कन्याम चिया बगानमा पनि अहिले स्थायी कामदार घट्ने क्रममा रहेको नेपाल चिया मजदुर श्रमिक संघ कन्यामका सचिव अम्बर निरौलाले जानकारी दिए। त्यहाँ ८० जना करारका श्रमिक काम गरिरहेका छन्। सरकारले तोकेको २५४ रूपयाँ दैनिक ज्यालाको व्यवस्था गरे पनि बगानका श्रमिकले उक्त रकम नपाएको बताए।

बगान छोडेका कामदारले अहिले दैनिक ५०० रुपैयाँसम्म कमाउँछन्। सिजनमा बगानकै मजदुर पनि गाउँका निजी बगानमा चिया टिपेर दैनिक ५०० कमाउने गरेका छन्। कतिपयले काम नहुँदा मात्र बगानमा आउने गरेको बताए। जिल्लाका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ भन्दा बढी मजदुर विस्थापित भएका छन्।

सरकारी स्वामित्वमा रहेका यी चिया बगान र कारखानामा २०५७ सालमा ८५८ जना मजदुर कार्यरत थिए। २०५७ सालमा चिया बगान र कारखाना निजीकरण भएसँगै मजदुर विस्थापित भएका छन्। निजीकरण गरिएपछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा कटौती गरेपछि परिवार पाल्न नसक्ने भएकाले मजदुर चिया बगान छोडेर रोजगारीका लागि अन्य स्थानतिर जाने गरेका हुन्।

४७३ स्थायी मजदुर रहेको देशको ठूलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला १०५ मजदुर कार्यरत रहेका छन्। यस्तै १६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा अहिले २६ जना मात्र रहेका छन्। सोक्तिम, चिलिमकोट चिया बगानमा पनि केही मजदुर मात्र स्थायी छन्, अरू करारमा काम गर्छन्।

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएपछि मजदुरहरू भने मारमा परेको गुनासो गर्दै आएका छन्। विस्थापित मजदुर भारतको दार्जिलिङ, सिक्किम, गान्तोक, भारतका कोइलाखानी र खाडी मुलुक पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.