विचार

प्रजातन्त्रका अविचल आस्थापुञ्ज सन्त नेता किसुनजी
SHARES

पुस ८, २०७४

    पुस ८ गते सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को जन्मदिन। उहाँ महायात्रामा जानुभएको छ वर्ष हुँदा पनि उहाँको याद नेपाली जनमानसमा ताजा छ। झन् यस पटकको निर्वाचनमा नेपाली कांग्रेसको लज्जाजनक पराजयको बेलामा उहाँको सम्झना कांग्रेस तथा गैरकांग्रेस सबैले गरेका छन्। 

    अहिले जस्तै २०५४ सालमा पनि नेकपा एमालेले स्थानीय निकायको निर्वाचनमा कांग्रेसको भन्दा बढी नै सफलता हासिल गरेको थियो तर २०५६ सालमा किसुनजीको नाम प्रधानमन्त्रीमा प्रस्तावित गरेपछि नेपाली कांग्रेसले बहुमत ल्याएर किसुनजीकै प्रधानमन्त्रित्वमा सरकार बनाएको थियो। फरक यत्ति हो, त्यो बेलामा नेपालीहरूलाई अभिभावकत्व दिने नेता किसुनजी हुनुहुन्थ्यो र नेपाली जनताले उहाँको भरोसामा नेपाली कांग्रेसलाई बहुमत दिलाएका थिए।

    अहिले नेपाली जनतालाई भरोसालाग्दो र नेपाललाई अभिभावकत्व दिने नेता नेपाली जनताले देखेनन्। नेपाली कांग्रेसमा त झनै देखेनन्। र त नेपाली कांग्रेसलाई नराम्रोसँग पराजयको स्वाद चखाएका छन्। 

    त्यसैले जनजनको मनमा, जनजनको मुखमा प्रजातन्त्रको पर्याय बनेको कांग्रेस र संस्थापक नेताहरू वीपी, गणेशमानजी, किसुनजी, सुवर्णजी जस्ता व्यक्तित्वको सम्झना गर्दै नेपाली कांग्रेसको भविष्यका बारेमा बहस भइरहेको छ। यही मेसोमा, यही बेलामा किसुनजीको जन्मजयन्ती पर्दा एउटा नयाँ बहस पैदा भएको छ, नेपाली राजनीतिमा। शिवजीले जस्तै हलाहल विष पिएर पनि प्रजातन्त्र र प्रजातान्त्रिक सँस्कृतिको  पक्षमा फेरि जनतालाई एकबद्ध गर्दै लैजाने को हुन सक्ला? सबैलाई समेटेर प्रजातन्त्रका पक्षमा गोलबन्द गर्न सक्ने अब त्यस्तो नेता को हुन सक्ला? कि न भूतो, न भविष्यति? 

    सबैको सेवा गर्नु नै जीवनको एउटा मात्र उद्देश्य हुनुपर्छ भन्ने आदर्शलाई सदैव ग्रहण गर्ने एक जना महामना तपस्वी कृष्णप्रसाद भट्टराईको जन्म विक्रम सम्वत् १९८१ पुस ८ गते बनारसमा उहाँका पितामाता निर्वासनमा रहँदै भएको थियो। उहाँको महानिर्वाण २०६८ साल फागुन २० गते मध्यरातमा काठमाडौंमा भयो। 

    जन्मने सबैको मृत्यु अनिवार्य र अपरिहार्य भए पनि बाँचेको जीवन र अँगालेको मृत्यु कति प्रासंगिक र समाजका लागि अनुकरणीय हुन्छ, त्यसैमा जीवन र मृत्युको पनि वर्गीकरण हुँदोरहेछ। सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवन त सार्थक थियो नै नेपाल र नेपालीका लागि, उहाँको मृत्युसमेत सगरमाथाभन्दा पनि अग्लो हुन गएको थियो यस धर्तीमा। र त आज पनि उहाँको सार्थकता र सान्दर्भिकताका बारेमा बहस भइरहन्छन्। द्विविधाविना सबैले स्वीकार गरेको व्यक्तित्वको रूपमा लिइन्छ उहाँलाई। 

    उहाँको जीवन प्रेरणाको स्रोत बनेको छ राजनीति र समाजसेवामा लाग्ने सबैलाई। राजनीति समाजसेवाको सबैभन्दा परिष्कृत रूप हो भन्ने प्रमाण पेस गर्ने नेपाली राजनेतामध्ये उहाँ पनि अग्रणि हुनुहुन्थ्यो। 

    किन कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको जीवनले र मृत्युले अजात शत्रुको रूप ग्रहण गरेको होला? अनि महामना, मनीषि र सन्त नेताको श्रेणीमा, निस्पृह, निर्मोही व्यक्तिको श्रेणीको वर्गीकरणमा पर्नुपरेको होला उहाँले? उहाँले खास के गर्नुभयो र यो दुनियाँलाई? वास्तवमा उहाँले जीवनमा त्यही गर्नुभयो यस दुनियाँमा, जुन काम सबैले सधैँ गर्न सक्दैनन्। जुन काम सत्य युगका महर्षिहरूले यस धर्तीमा गर्ने गर्दथे। मात्र सेवा गर्नुभयो र त्यसको कुनै फलको आशा कहिल्यै गर्नुभएन।

    संभवतः भूतपूर्व प्रधानमन्त्रीको कुनै घर नहुनु र कुनै लोभ लालच नराखी आफूलाई सदैव जनताको मात्र भएर बाँच्न सक्ने क्षमता राख्ने विश्वमा उहाँ मात्र पहिलो विश्वनेता हुन सक्नुहुन्छ। नेपालमा यस्ता पनि नेता थिए भनेर इतिहासमा लेखिने एउटा अर्को नेताको नाम थपिएको छ। 

    श्रीमद्भगवद् गीताको सारलाई जीवनमा सदैव प्रयोग गर्नुभयोः कर्म गर तर फलको आशा नगर। उहाँको जीवनको शब्दकोशमा सेवा र त्यागबाहेक अरू केही थिएन। 
    नेपाल र नेपालीले ती सन्तलाई जीवनमा त्याग मात्र देखाउन दिएनन्, त्यसबापत दुई दुई पटकसम्म मातृभूमिको सेवाका लागि मुलुकको प्रधानमन्त्री जस्तो उच्च कार्यकारी पदमा समेत आसिन गराए। उहाँमा केही अन्तर देखिएन सामान्य नागरिक हुँदा या जेलमा रहँदा वा प्रधानमन्त्री हुँदा। एउटा ट्यांका, एउटा सुराही र एउटा छाता बोकेर प्रधानमन्त्री क्वार्टर जानुभयो र त्यही लिएर छानोविहीन गन्तव्यमा फर्कनुभयो। न घर, न सम्पत्ति, न लोभ, न घमण्ड। प्रधानमन्त्री निवासबाट कहाँ जाने भन्ने कुरा कार चालकलाई थाहा नै थिएन। न पदको प्राप्ति र अप्राप्तिमा अन्तर नै देख्नुभयो। 

    आरोह र अवरोहका बीचमा सधैँ तुफानको बीचमा उभिएको सतिसाल झैँ उभिनुभयो, नेपाल, नेपाली र प्रजातन्त्रका पक्षमा। नेपाल उहाँको घर थियो, प्रजातन्त्र उहाँको साधन, साध्य र साधना थियो। नेपाली जनता उहाँको मुटुमा बसेका थिए, जसको सेवा मात्र उहाँको जीवनको लक्ष्य र परिणाम थिए। 

    कारागारको घाम नछिर्ने कालकोठरीको एउटा कैदी हुँदा र नेपालको प्रधानमन्त्रीको उच्च पदमा रहँदा दुवैलाई आफ्नो कर्तव्यको समान आधारभूमि मान्न सक्ने स्थितप्रज्ञ पनि यो देशमा कुनै बेला एउटा राजनेता थियो, कुनै दलको सभापति थियो या मुलुकको प्रधानमन्त्री थियो भनेर भोलिका सन्ततिले जब राजनीतिक इतिहासको र आजको स्थितिको मूल्यांकन गर्दै नेपाली इतिहासको अध्ययन गर्नेछन्, त्यसबेला मात्र किसुनजीको सही मूल्यांकन हुनेछ।

    कारागारको कालो कोठाबाट राजाको गोप्य खोपीमा प्रधानमन्त्री पदको उपलब्धता हुँदा पनि सविनय त्यस्तो पदलाई लत्याउँदै पुनः कालकोठरीमा फर्कने अर्को नायक फेरि यो धरतीमा आउला या नआउला।  आरोह र अवरोहसँग सम्बन्धित आफ्ना जीवनका सबै कुरालाई फगत नियतिको चक्र सम्झने, कसैलाई दोष नदिने तर कर्मप्रति भने आफूलाई निरन्तर र अनवरत होमिइरहने अथक जननायकको कमीले नेपाली मन अहिले पनि बोझिलो पाइन्छ तर त्यागलाई मात्र राजनीतिको केन्द्रविन्दु मान्ने परम्पराको भने अन्त्य भएको हो कि भन्ने त्रास भने बढेको छ। त्यसैले झन आजको अन्योलपूर्ण संक्रमणकालमा उहाँको अभ्यासको सान्दर्भिकता अझ बढेको ठोकुवा गर्न सकिन्छ। 

    अहिले तत्काल फाइदाको राजनीति चाहिएको छ र राजनीतिका नाममा तत्काल दुनो सोझिनु जरुरी छ। किसुनजीले आफ्नो क्षमता यसरी देखाएर जानुभएको थियो कि २०४७ सालको अवस्थामा राजा, कम्युनिस्ट र प्रजातन्त्रवादीहरू सबैलाई चित्त बुझाउँदै नयाँ संविधान ल्याई व्यवस्थापिकाको निर्वाचनसमेत गराई वैधानिक सरकारलाई आफ्नो कार्यभार सुम्पनुभएको थियो। त्यसबेलाको संक्रमणकालभन्दा अहिलेको अवस्था धेरै सहज छ किनभने अहिले नयाँ संविधान कार्यान्वयनको प्रक्रियामा छ। हालै मात्र संघीय संरचनाको आधार तयार भएको छ। नयाँ संसद बन्दै छ र नयाँ निर्वाचित सरकारले आफ्नो कार्यभार लिने क्रममा छ। 

    किसुनजीको अवस्था कस्तो थियो भने एउटा अहिंसात्मक विद्रोहीले जेलबाट सिधै प्रधानमन्त्रीको शपथ ग्रहण गरेको थियो र राजतन्त्रप्रति अगाध आस्था राख्ने तर सक्रिय राजाप्रति भने आलोचक रहेको व्यक्तिले राजालाई पनि चित्त बुझाउँदै राजाको अधिकार कटौती गर्न राजालाई नै मनाउनुपर्ने अनि राजालाई नै वैधानिक राजाको रूपमा स्वीकृत गराउनुपर्ने अवस्था थियो। 

    अर्कोतिर गणतन्त्रवादी कम्युनिस्टहरूलाई संविधानमा अटाउनु पनि थियो र प्रजातन्त्रका विश्वव्यापी मान्यतालाई संविधानमा जसरी पनि स्थान दिनु नै थियो, नत्र भने प्रजातन्त्रका लागि जेलनेल, सहादतको कुनै अर्थ रहँदैन थियो। दोहोरो तेहरो दायित्व पूरा गर्न एक्लो कृष्णप्रसादको जुन क्षमता देखिएको थियो, अहिले पनि नेपाली कांग्रेसको सम्पत्ति त्यही हो, प्रजातन्त्रको सुन्दरतम पक्ष पनि त्यही थियो। अझ अर्को पक्ष थियो, आफू व्यक्तिगत रूपमा हारेर पनि प्रजातन्त्रलाई जिताउनु। आफ्नो दललाई जिताएर सरकारमा पु¥याउनुभएको थियो अनि मात्र नेपालमा प्रजातान्त्रिक परिपाटीले स्थान बनाउन सकेको थियो। 

    जस्तोसुकै कठिन परिस्थितिमा पनि हतास नभई नेपाली कांग्रेसलाई अघि बढाउँदै लैजाँदा आफूलाई धेरै पटक समयको परीक्षणमा खरो उतार्नुहुने किसुनजीमा नेताका रूपमा पाइने दृढ अठोट र अविचल आस्थाको परिणाम नै आजको प्रजातान्त्रिक अभ्यास हो। प्रजातन्त्र र प्रजातान्त्रिक संस्कारलाई नेपाली माटोमा पल्लवित पुष्पित, सुवासित र प्रबद्र्धित गराउन महामानव वीपी कोइरालासँगै गणेशमानजी र किसुनजीको नाम सदैव नेपाली इतिहासमा स्वर्णाक्षरले कुँदिनेछ।

    नेपाली प्रजातन्त्रका महाअभियन्ताको रूपमा जगको इँट्टा भएर राजनीति सुरु गर्नुहुने किसुनजीकै जिम्मामा निर्दलीय पञ्चायती व्यवस्था ढाल्ने र प्रजातन्त्रको पुनःस्थापनासमेतको नेतृत्व नियतिले दिएको रहेछ। आजका प्रजातन्त्रवादीहरूले अथक र निष्काम कर्मसहितको विश्रामरहित नेतृत्वको गुण उहाँबाट सिक्नु जरुरी छ। 

    किसुनजी भनेको क्षमाको प्रतिमूर्ति पनि हो। नेपाली इतिहासमा भीम मल्ल, भीमसेन थापा, वीपी कोइरालाको नियतिलाई आफ्नै दल र आफ्नै शिष्यहरूबाट भोग्दा पनि कहिल्यै ऐया नभनी सबै चोटलाई आफ्नो नियतिको क्रम र चक्र सम्झँदै  सदाशिव भोलेनाथले हलाहल विषलाई पचाउँदै नीलकण्ठ हुनुभएझैँ नेपाली राजनीतिका नीलकण्ठ बन्नुभएको थियो किसुनजी। यो पंक्तिकारलाई लागेको थियो कि उहाँको प्रकाशित ‘मेरो म’ पुस्तकमा पक्कै नै ती तीता मीठा कुराहरू समेटिएका होलान् र आफ्ना मार्मिक अभिव्यक्ति राखेर तत्कालका नसुल्झिएका गाँठाहरूको कतै स्पष्ट विवरण दिनुभएको होला।

    तर कति शिष्टता र शालीनताका साथ ती प्रसंगबाट आफूलाई निष्पृह राखेर सबैलाई क्षमा दिनुभएको थियो।  त्यस्ता कुराहरू समेटिएका त के कतै प्रसंगसमेत उल्लेख गर्नुभएको थिएन। त्यसले पनि के देखाउँछ भने साँच्चै नै उहाँले सन्तको रूपमा आफूलाई उभ्याउन सक्नुभएको रहेछ। अनि मात्र सन्त नेताको संज्ञा चरितार्थ भएको महसुस भएको हो।  

    यो मानव चोला एक दिन आउँछ र एक दिन जानु नै पर्छ। मृत्यु त्यस्तो सत्य हो, जसलाई जाँच्न कुनै प्रमाण आवश्यक छैन। गीताका पारखी र स्नेही किसुनजीका लागि यो कुनै अकल्पनीय पनि थिएन। तर जीवनका उत्तराद्र्धमा आफैँबाट, आफ्नो दलबाट पाएको अपमानलाई पनि उहाँले स्वर्गबाट नै क्षमा दिएको हुनुपर्छ। उहाँको महाप्रस्थानमा कृतज्ञ दल नेपाली कांग्रेस, आम नेपाली जनता एवम् नेपाल सरकार तथा विश्वका प्रजातन्त्रवादीहरूले उहाँप्रति देखाएको सम्मानले उहाँको देनलाई सम्झाएको थियो। 

    किसुनजीको सम्मान गर्नु भनेको देश र देशवासीप्रति गर्ने माया र त्यागलाई कसैले पनि व्यक्तिको कमजोरी नसम्झनु हो। जीवनलाई प्रजातन्त्रप्रति एक विषयमा मात्र उत्सर्ग गर्नसक्नु कमजोरी होइन, जीवनको महान् उद्देश्य प्राप्ति हो भन्ने नेपाली इतिहासमा लेखिएको छ। संभवतः भूतपूर्व प्रधानमन्त्रीको कुनै घर नहुनु र कुनै लोभ लालच नराखी आफूलाई सदैव जनताको मात्र भएर बाँच्न सक्ने क्षमता राख्ने विश्वमा उहाँ मात्र पहिलो विश्वनेता हुन सक्नुहुन्छ। नेपालमा यस्ता पनि नेता थिए भनेर इतिहासमा लेखिने एउटा अर्को नेताको नाम थपिएको छ। 

    जस्तोसुकै कठिन अवस्थामा पनि आफूलाई निडर, अविचल र दृढ व्यक्तित्वको रूपमा किसुनजी  हिमालय झैँ अविचल उभिनुभयो र प्रजातन्त्रलाई आस्थाको दृढ प्रतिज्ञाको रूपमा संसारलाई चिनाउनुभयो। 

    उहाँ अध्यात्मिकतामा र खासगरी हिन्दू धर्मप्रति आस्थावान् हुनुहुन्थ्यो। उहाँ पूर्व जन्म र पुनर्जन्म मान्नुहुन्थ्यो। यदि पुनर्जन्म हुन्छ भने उहाँ यहाँ नेपालमा नै अवतरित हुनुहोस् र नेपालको खस्कँदो राजनीतिक सँस्कारलाई पुनर्जीवन दिनुहोस्। 

    नेपालको प्रजातन्त्रलाई कतैबाट पनि कुनै ग्रहण नलागोस् भन्ने कामनासहित त्यस्ता सन्त महामनाप्रति हार्दिक श्रद्धाञ्जलि। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]