|

काठमाडौं: समाचारको विषयलाई लिएर समाचार स्रोत माग्दै नेपाल प्रहरीले सम्पादकहरूलाई पत्र काटेको घटनाप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।
चौतारीले नेपाल प्रहरीले पाँच सञ्चार माध्यम र त्यसका सम्पादकहरूलाई काटेको पत्रप्रति आपत्ति जनाएको हो। चौतारीका महासचिव राजेश राईले आइतबार विज्ञप्ति जारी गरी समाचारको स्रोत माग्दै प्रहरीले पत्र काटेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा वाम गठबन्धनको साझा उम्मेदवार भएर ललितपुर– १ बाट प्रतिनिधिसभामा विजयी सांसद तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चार माध्यमहरूलाई आदेशको शैलीमा काटिएको पत्रले आश्चर्यचकित बनाएको उल्लेख गरिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं पाटी डट कमका रोशन खड्का, मूलधारन्युज डट कमका रवि धामी, सुशासन डट कमका मदनबाबु भण्डारी, शुभदिन डट कमका खिलानाथ ढकाल र जनप्रहार साप्ताहिक/अपराध खबर डटकमका रोशन पाण्डेलाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको छ।

'पत्रकारहरूका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेलबहादुर पाण्डेलाई पाँचै जना पत्रकारहरूको पछिल्लो एक वर्षको 'कल डिटेल' लिन निर्देशनसमेत दिएका छन्', विज्ञप्तिमा भनिएको छ।

प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको 'कल डिटेल' मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको नांगो हस्तक्षेप मात्रै नभई राज्य आतंकसमेत भएको विज्ञप्तिम उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र रहेको उक्त विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उडाएको छ। नेपाल प्रहरीको यो कदमप्रति प्रेस चौतारी खेद व्यक्त गर्दै भर्त्सना गर्दछ।' प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक व्यवस्थाविरोधी उक्त कदम तत्काल सच्चाउन चौतारीले प्रहरीलाई आग्रह गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग मागसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.