|
फाइल फोटो

  • मिलन विश्वकर्मा-

पाल्पाः राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना पाउनु नागरिकको मौलिक अधिकार भएकाले नागरिकलाई सूचनाबाट बंचित गर्न नहुने बताएका छन्। 

पाल्पाको तानसेनमा आइतबार सरकारी कार्यालय प्रमुख र पत्रकारहरूसँगको अन्तक्र्रियामा बोल्दै उनले सूचना साँचो भएको र त्यो नागरिकले पाउनुपर्ने बताएका हुन्। ‘सूचना भनेको साँचो हो’, प्रमुख आयुक्त बाँस्कोटाले भने, ‘राज्य रूपी दराजको साँचो जनताको हातमा दिनु नै सूचनाको हक कार्यान्वयन हुनु हो।’

सूचना माग्नेवित्तिकै पाउनु कुनै पनि नागरिकको अधिकार भएको उनले बताए। ‘कसैले घडीमा कति बज्यो भनेर सोध्यो भने त्यसको जवाफ तत्काल दिनुपर्छ किनकि ढिलो गरी जवाफ दिँदा समय फरक परिहाल्छ’, बाँस्कोटाले भने, ’त्यसैगरी सूचना पनि माग्नेवित्तिकै दिनुपर्छ।’ 

अहिलेको ऐनले सूचना सिक्रीले बाँधेर राख्दैमा नलुक्ने भन्दै त्यो आवश्यकताअनुसार सार्वजनिक हुने उनको भनाइ थियो।

लोकतन्त्रको आधार सूचनाको अधिकार भएको भन्दै आम जनताले चाहे सुशासन कायम र विकास हुने उनले स्पष्ट पारे। ‘पहिलेको प्रजातन्त्रमा जितेर गएका नेताले जे गरे पनि हुने थियो’, उनले भने, ‘अहिलेको लोकतन्त्रमा जनतालाई सोधेर मात्र काम गर्नुपर्ने हुन्छ।’ 

नेपालको सुशासन र विकासमा नेपाली जनता बाधक भएका हुन् भने उनीहरूलाई विदेश पठाएर काम गर्न चुनौती दिँदै उनले भने, ‘जनताको साथविना मुलुकको विकास गर्न असम्भव छ।’ चौतारीमा बसेर नागरिकले चोर औँला ठड्याएर सूचना माग्न पाउने अधिकार रहेकोसमेत उनको भनाइ थियो। यसरी मागिएको सूचना हाँसेर उपलब्ध गराउन उनले आग्रहसमेत गरे। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आफुहरू सूचनामैत्री भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.