|

काठमाडौं : सरकारले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायलाई नै सिफारिस गरिएको छ भने चीनका लागि पूर्व मुख्य सचिव लीलामणि पौडेललेलाई सिफारिस गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।  

'तपाईहरुले थाहा नै छ छिमेकी राष्ट्र भारत र चीनमा राजदूत छैनन्। हाम्रो देशका प्रधानमन्त्री र दुवै छिमेकी देशका राष्ट्रपतिको केही समयमा नै भ्रमण हुँदैछ त्यसैले सरकारले राजदूत गरेको छ' बिहीबारको मन्त्रिपरिषद बैठक निर्णय सुनाउँदै उनले भने।  

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो भने चीनका राजदूत डा. महेश मास्के अवधि सकिएर फर्किएका हुन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई राजदूत सिफारिस गरेपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत सिफारिसको निर्णय फिर्ता लिएको थियो। 

उपाध्याय र पौडेललाई सरकारले राजदूतमा सिफारिस गरेपनि उनीहरुको संसदीय सुनुवाई पछि राष्ट्रपतिले नियुक्ति गर्नुपर्नेछ। सरकारले राष्ट्रिय योजना आयोगमा राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। उनी राष्ट्र बैंकको सार्वजनिक वित्त ब्यवस्थापन विभागका प्रमुख छन्। 

त्यस्तै प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल र परराष्ट्रविदमा डा. ऋषि अधिकारी नियुक्त गरिएको प्रवक्ता कार्कीले जानकारी दिए। पौडेल हाल नेपाल राष्ट्रबैंकका सञ्चालक समितिका सदस्य रहेका छन्। उनले यसअघि अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन्। 

त्यस्तै सरकारले स्थानीय र प्रदेशको निर्वाचनका लागि विधेयक तर्जुमा गर्न निर्वाचन आयोगलाई सैद्धान्तिक स्वीकृति पनि दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.