६ सचिवको 'जिम्मेवारी हेरफेर'

|

काठमाडौं : बिहीबार मन्त्रिपरिषद् बैठक बस्यो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा। ३ बजेका लागि बोलाइएको बैठक झण्डै १५ मिनेटपछि सुरु भएर दुई घण्टाभन्दा बढी चल्यो।

रिपोर्टिङका लागि पुगेका पत्रकारलाई भारत र चीनमा राजदूत प्रस्ताव गर्ने र सचिवहरुको सरुवा गर्ने निर्णय गर्ने जानकारी थियो। पत्रकारहरु सोही निर्णयको प्रतिक्षामा थिए। 

बैठक चलिरहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा बैठकबाट बाहिरिए। बैठक जारी रहेको जनाउ दिँदै केही नबोली उनी बाहिरिए। बेलायती विकासमन्त्री भेटका निम्ति आएकाले उनी अर्थमन्त्रालयतिर लागेका थिए। 

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्की (राम) बैठकबाट बाहिरिएपछि पत्रकारले उनीमाथी क्यामेरा तेर्स्याए। प्रवक्ता कार्कीले भने, ‘पत्रकार मित्रहरु, आजको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ, लामो समयदेखि राजदूतविहीन दुई छिमेकी राष्ट्र भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई राजदूतका लागि प्रस्ताव गरेका छौँ।’ (पढ्नुस् समाचारः भारतमा फेरि उपाध्याय र चीनमा पौडेल राजदूत सिफारिस)

बैठकका निर्णय सुनाउँदै उनले थपे, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा अर्थविद् श्रीराम पौडेल र परराष्ट्रविद्मा ऋषि अधिकारीलाई नियुक्त गरिएको छ।’

सानो कापीको टुक्रामा बैठकका निर्णय लिएर पत्रकारसामु आइपुगेका कार्कीले बैठकका निर्णय सुनाउने बित्तिकै पत्रकारले प्रश्न गरिहाले, ‘सचिवहरुको बारेमा आज केही निर्णय भएन?’ उनले भने, ‘आज त्यस्तो केही भएन।’ तर मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेको सचिव सरुवासहितका तीन निर्णय प्रवक्ता कार्कीले पत्रकारसामु सार्वजनिक गरेनन्।

१. सचिव सरुवा

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको छ। प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले सचिवहरुको जिम्मेवारी हेरफेर भएको बताए। 

जिम्मेवारी हेरफेर गरिएका ९ सचिवः

  • अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई गृह मन्त्रालयमा सरुवा।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई अर्थ मन्त्रालयमा सरुवा।
  • उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा।
  • गृह मन्त्रालयका सचिव नारायणप्रसाद मलेगोलाई उपराष्ट्रपति कार्यालयमा सरुवा।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा।
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरुवा।
  • स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलाई शिक्षा मन्त्रालयमा सरुवा।
  • सामान्य प्रशासनका सचिव टंकमणी शर्मालाई मन्त्रिपरिषद् सचिवालयमा सरुवा।
  • सामान्य प्रशासनको सचिवमा पूर्णचन्द्र भट्टराई बढुवा तथा पदस्थापन ।

२. भिसा नवीकरण शूल्क ३० डलरले घट्यो

मन्त्रिपरिषद्को बिहीबारको बैठकले विदेशमा रहेका नेपालीहरुले भिसा नवीकरण शूल्क घटाएको छ। श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै आएका कामदारले भिसा नवीकरण गर्दा यसअघि ८० अमेरिकी डलर तिर्नुपर्ने भएपनि अब ५० डलर तिरे पुग्छ। बिहीबारको बैठकले नवीकरण शुल्कमा ३० डलर घटाउने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले थाहाखबरलाई जानकारी दिए। दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री निर्वाचित भएको पाँचौ दिनदेखि यो निर्णय गराउन पहल गरेका थिए। 

३. एलपी ग्यासको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार

सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजन गर्नेगरी पेट्रोलिय पदार्थ तथा ग्यासको मूल्य निर्धारण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले 'सरकारले एलपी ग्यासको मूल्य अहिले कायम रहेको भन्दा १ सय ११ रुपैयाँसम्म घट्ने अनुमान गरेको' बताए। तर नेपाल आयल निगमले भने बिहीबार राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाउने निर्णय गरेको छ। अहिले प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ। अब प्रतिसिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.