|

बागलुङ : प्रहरीले बागलुङको निसीखोलाबाट ५ किलोग्राम लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ।

निसीखोला–५ निसीका ३० वर्षीय खिमबहादुर घर्ती पक्राउ परेका इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए। भल्कोटबाट बुर्तिबाङतर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको बसमा रहेका घर्तीलाई चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

शंका लागेर चेकजाँच गर्दा उनको झोलामा ५ किलोग्राम चरेस भेटिएको झिवाखोलाका प्रहरी नायव निरीक्षक रिनबहादुर बैदवारले बताए। मंगलबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धानको लागि म्याद थप गर्न बुधबार जिल्ला अदालत पेश गरेको छ। ‘लागुऔषध मुद्दामा अनुसन्धानको म्याद ९० दिनसम्म रहने कानुनी व्यवस्था छ,’ बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘अनुसन्धानको लागि म्याद थपको निवेदनसहित उसलाई बुधबार जिल्ला अदालतमा पेश गरेका छौँ।’

प्रहरीले गत साउन महिनामा बागलुङको पश्चिमका आधा दर्जनबढी ठाउँबाट एक हजार रोपनीको गाँजा खेती नष्ट गरेको थियो। ‘हामीले गाँजा खेती हुने गरेका ६, ७ स्थानबाट ९ सय ८५ रोपनीमा भएको गाँजा फाँडेर नष्ट गरेका हौँ,’ बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले भने, ‘अझै पनि कतिपय ठाउँमा लुकिछिपी चरेस बनाइन्छ भन्ने सूचनाका आधारमा चेकजाँच र निगरानी बढाएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.