|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम सम्पन्न गर्नको लागि तीन खर्ब रुपैयाँ अपुग हुने बताएको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि स्थापना गरिएको प्राधिकरणले ठूलो रकम अपुग हुने भन्दै स्रोतको आवश्‍यकता औल्याएको हो।

'पुनर्निमार्णको सबै काम सम्पन्न गर्नको लागि तीन खर्ब रुपैयाँ अपुग हुने देखिएको छ' प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले भने। भुसालका अनुसार सबै भन्दा बढी रकम शिक्षा क्षेत्रमा आवश्‍यक पर्नेछ। 'शिक्षा क्षेत्रमा मात्रै हामीलाई तोकिएको भन्दा ५० अर्ब रुपैयाँ कम हुने देखिएको छ' उनले भने।

भूकम्पपछिको पुनर्निर्माणमा सहयोग जुटाउनको लागि नेपाल सरकारले गरेको दाता सम्मेलनको क्रममा ४ सय ११ अर्ब रुपैयाँको प्रतिवद्धता दाताले जनाएका थिए। पुनर्निर्माण प्राधिकरणका बजेट शाखा प्रमुख तथा सहसचिव भीष्मकुमार भुसालका अनुसार ४११ अर्बमध्ये ३ सय ३६ अर्ब रुपैयाँ मात्रै प्राधिकरणसँग सम्झौता भएको छ।

यो रकमको ४९ प्रतिशत रकम मात्रै बजेटरी (वजेटमा समेटिएको योजना) खर्चमार्फत प्राधिकरणले सहयोग गर्न पाउँछ। ५१ प्रतिशत बजेट भने प्रधिकरणकै समन्वयमा गैर बजेटरी  (वार्षिक वजेटमा नसमेटिएको) खर्च हुनेछ। पुनर्निर्माण प्राधिकरणको भूकम्पपछिको पुनर्निर्माण खर्च अध्‍यययन अनुसार काम सम्पन्न गर्नको लागि ९ सय ३८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ।

तर, अध्ययन गरिएको भन्दा अनुदानको लागि सम्झौता गर्नेको संख्या न्युन र अनुदान सम्झौता गरेका सबैले घर नबनाउने देखिएपछि रकम कम लाग्ने प्राधिकरणको अनुमान छ। 'सर्वेक्षण अनुसार अनुदान सम्झौता भएको छैन, ६ लाख ६४ हजारले अनुदान सम्झौता गरेकोमा साढे पाँच लाखले मात्रै पूर्ण घर निर्माण गर्छन् भन्ने देखिएको छ' प्राधिकरणका सहसचिव भीष्मकुमार भुसालले थाहाखबरसँग भने।  

स्रोत जुटाउन दाता सम्मेलन

प्राधिरकणले अपुग रकमको स्रोत जुटाउन पुन: दता सम्मेलनको तयारी गरेको छ। यसअघि सुशील कोइराला नेतृत्वको सरकारको पालामा दाता सम्मेलन गरी अनुदान तथा ऋण सहयोग माग गरिएको थियो।

'हामीलाई ३ खर्ब रुपैयाँ अपुग हुने देखिएको छ, यसका लागि दाता सम्मेलन गर्ने हाम्रो तयारी छ' प्राधिकरणका सिइओ भुसालले भने। उनका अनुसार आउँदो आर्थिक वर्षमा स्रोत जुटाउनको लागि दाता सम्मेलन गरिनेछ। दाता सम्मेलन नेपाल भित्र वा बाहिर जहाँ पनि हुन सक्नेछ।

प्राधिकरणले यो वर्ष पैसाको कारण पुनर्निर्माणको काम नरोकिने बताएको छ। सिइओ भुसालले यो वर्ष रकमको कारण काममा समस्या नपर्ने बताएका हुन्। 'यो वर्ष रकम अभाव देखिने छैन' भुसालले भने यो वर्ष हामीसँग पर्याप्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.