|

देशका विभिन्न जिल्लामा जाँदा स्थानीयहरूलाई 'प्रदेशको छुट्टै सरकार गठन भएपछि तपाईंहरूको आन्तरिक आर्थिक स्रोत के हो?' भन्ने प्रश्न राख्यो भने प्रायको जवाफ हुन्छ, 'पर्यटन।'

लौ, मानौँ, पर्यटन आन्तरिक स्रोत होला रे! तर सबैतिर धौलागिरि रेन्ज, सगरमाथा या लाङटाङ क्षेत्र छ त? 

कि सबैतिर चितवन  सफारी या बर्दिया राष्ट्रिय निकुन्ज छ?

ल मानौँ, त्यही नभए पनि त्यस्ता हेर्ने, घुम्ने र आनन्द लिने स्थानहरू होलान् पनि रे!

तर पर्यटन व्यवसायलाई चाहिने आधारभूत पूर्वाधारका आवश्यकताहरू छन् त? ती भनेको त्यहाँ पुग्ने बाटो कस्तो छ? सवारी साधन गुड्ने या ट्रेकिङ रुट? बस्ने व्यवस्थाको लागि होटेल, होम स्टे आदि के सुविधा छ?

खानका लागि चाउचाउ, अन्डा र ममबाहेक नयाँ कुरा केही छ? हुनत फेसबुक, ट्विटर चलाउनेले त छ भन्नुहोला तर गाउँघरमा पुगेर एक मुठी भुटेको मकै वा ठेट नेपाली खाना खान नपाएको अनुभव प्रशस्तै बाँड्न सकिन्छ। बरु,  दूध, दही र मोहीको विकल्प रक्सीको नाम सोध्नुस्,  म नपिउने मानिसलाई समेत रक्सीका भेराइटीहरू कन्ठ छन्।

त्यो ठाउँको बारेमा कत्तिको प्रचार प्रसार भएको छ? त्यसका लागि सूचना सामग्रीहरू उपलव्ध छन् कि छैनन्? र, सबैभन्दा महत्त्वपूर्ण कुरो 'कस्टुमर सर्भिस' अर्थात् त्यहाँ पुग्ने मानिसहरूलाई खालि पैसा तान्ने हिसाबले मात्रै हेरिन्छ कि आउँदा दिनहरूमा  फेरि फर्किएर आऊन् र अरूहरूलाई पनि आउन प्रेरित गरून् भनेर सोचिन्छ?

उदाहरणका लागि, गत भदौ महिनामा कामको सिलसिलामा दैलेखको क्षेत्र नम्बर- २ स्थित चामुण्डा विन्द्रासैनी नगरपालिकाको लैनचौर पुगियो; सुर्खेतबाटै फोन गरेर होटेलको कोठा बुक गर्न अनुरोध गरेर गएको। राती ११ बजे थकित भएर पुग्दा त्यहाँ 'होटेल' भनिएको घरमा मुस्किलले एक एक जना सुत्न मिल्ने दुई बेडको एउटा कोठा रहेछ। चार जना थियौँ- दुई महिला, दुई पुरुष। हामी महिला कोठाभित्र सुत्यौँ, पुरुष साथीहरू त्यो चिसोमा, सर्पको विगविगी  भएको ठाउँमा, चिया खान बनाइएको त्यही घरको कम्पाउन्डको चौतारामा सुत्नुभयो। 

त्यहाँका वासिन्दाहरूलाई पनि मैले सोधेकी थिएँ, प्रदेशको आम्दानीको स्रोत के हुन्छ?

उहाँहरूको पनि जवाफ थियो, 'पर्यटन।'

हो, दैलेखमा पुरातात्त्विक स्थान छ तर खोइ बाटो? खोइ भौतिक संरचना?

अर्को उदाहरण, बन्दीपुर, खुबै चर्चामा छ आजकल। तर त्यो ठाउँ विदेशीका लागि मात्रै प्रवर्ध्दन गरिएको कि नेपालीको लागि पनि?

'होम स्टे'को नाममा चलाएको होटेल (घर)को ओछ्यानमा बिछ्याइएको तन्ना र सिरकको खोलदेखि घीन लागेर कहिले रात कट्ला जस्तो भएको अनुभव ताजै छ। कि त एकदम महँगा (औसत नेपालीका लगि, धनाढ्यहरूको कुरा गरेको होइन) होटेल भेटिन्छन्; होइन भने त्यस्तै भेटिन्छन्।

अर्को महत्त्वपूर्ण कुरा, नेपाली पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक धेरै आउने स्थानमा नेपाली पर्यटकहरूलाई प्राथमिकतामा नै राख्दैनन्। यो पनि यसै आरोप लगाएकी होइन। गत वर्ष डिसेम्बरको अन्तिम हप्ता प्रख्यात पर्टकीयस्थल पुनहिल पुग्दा भोगेको; देखेको। त्यहाँ पनि होटेलहरूमा नेपाली र  विदेशीलाई फरक चार्ज लगाएको जस्तो त लागेन। एक कप तातो पानीको ५० रुपैयाँ र एक स्लाइस पाउरोटीको एक सय रुपैयाँ तिरेर खाएको हो। घान्द्रुकदेखि घोरेपानीसम्म रहेका ५२ (त्यस्तै लाग्छ) होटेलहरूमा एउटै चार्ज लाग्ने रहेछ तर ग्राहकहरूलाई भने छाला र रङ हेरेर व्यवहार गरेजस्तो महसुस हुने; यसरी चल्छ पर्यटन व्यवसाय?

करिब २६ रोपनीमा फैलिएको हलेसी धामलाई हिन्दुहरूले पूर्वको पशुपतिनाथ, बौध्दमार्गीले दोस्रो लुम्बिनी र किरात धर्मावलम्बीले आदिम भूमि मानेर प्रार्थना र पूजा गर्न आउने रहेछन्। त्यहाँ पुग्दा भुटान र तिब्बतबाट आएका बौध्द धर्मावलम्बीहरू समेत भेटिए।

के नेपालीहरूले आफ्नै देश दर्शनमा जाँदा सामान्य सम्मानित व्यवहारसमेत नपाउने?

छन त त्यहाँको व्यवसाय एकदमै व्यवस्थित पनि रहेछ। होटेलहरूले भरिया र गाइड बनेर गएकाहरूको पैसा छुट्टै राखेर त्यसबाट समुदायको व्यवस्थापन समितिले बाटो बनाउने र अन्य कार्य गर्ने रहेछ। ट्रेकिङ जाने बाटोमा अलिकति बिग्रियो वा केही चाहियो भने बनाइहाल्ने रहेछन्। तर नेपाली पर्यटकमाथिको व्यवहार पनि अलि राम्रो गर्न सकिन्न?

हुनत 'कस्टुमर सर्भिस' के हो भनेर त धेरैतिर प्रश्न उठाउनुपर्छ। खैर, यो छाडौँ।

अब प्रचार प्रसारको पाटो हेरौँ; यसमा पनि कहिलेकाहीँ हामी निष्पक्ष भएको जस्तो लाग्दैन।

यसको उदाहरण 'हलेसी धाम'लाई लिन सकिन्छ। आफू हिन्दु परिवारमा जन्मिएको र यसै समुदायको सेरोफेरोमा हुर्किएको कारणले पनि, हिन्दु देवी, देवताको कुराबारे जानकारी हुन्छ; यसै तीर्थस्थलबारे सुनिन्छ।

हलेसी धामको नाम पनि 'हलेसी महादेव'कै कारणले सुनिएको थियो। केही दिनकै योजनामा त्यहाँ पुग्ने मौका मिल्यो। आफूभन्दा पहिले पुगेकाहरूबाट त्यहाँ पुग्ने बाटो कच्ची भएको, एक स्थानमा दूधकोसी वारिबाट पारि जान अर्को गाडीमा जानुपर्ने बाध्यता सुनेको; त्यसैले मनैमन त्यस्तै सोच्दै हिँडियो। तर सिन्धुली-बर्दिवासको बाटो सललल बगेर पुग्दाको आनन्द काठमाडौंको गाडीमा जोल्ठ्यांग खाँदाको भन्दा कता हो कता आनन्द रहेछ। त्यो दूधकोसीमा २०७४ मंसिर १० गतेदेखि पक्की पुलबाट पार गर्न पाइने भएछ।

त्यति गरेर प्रदेश नम्बर- १ अन्तर्गत खोटाङ जिल्लाको हलेसी तावाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्वतिर वडा नम्बर- ७ मा रहेको महादेवस्थान पुग्दा बाटैबाट देखिने बौध्द धर्मावलम्बीले चढाउने तोरणले ढाकिएको डाँडो देख्दा एकछिन आश्चर्य पनि लाग्यो। कारण, आफ्नो सीमित ज्ञानले त्यस स्थललाई  हिन्दु तीर्थस्थल मात्रै ठानेको थियो। तर त्यो स्थल त हिन्दु, बौध्द र किरात समुदायको समेत धार्मिक थलो रहेछ। 

करिब २६ रोपनीमा फैलिएको हलेसी धामलाई हिन्दुहरूले पूर्वको पशुपतिनाथ, बौध्दमार्गीले दोस्रो लुम्बिनी र किरात धर्मावलम्बीले आदिम भूमि मानेर प्रार्थना र पूजा गर्न आउने रहेछन्। त्यहाँ पुग्दा भुटान र तिब्बतबाट आएका बौध्द धर्मावलम्बीहरू समेत भेटिए।

त्यो सेरोफेरोमा तीनवटा विशेष महत्त्व राख्ने गुफाहरू रहेछन्, महादेव, बसाह र भैरवको नामबाट ख्याति प्राप्त गरेका।

महादेवको नाममा प्रख्यात गुफामा विभिन्न आकृतिका ढुंगाहरू जताततै देखिन्छन् र त्यसैलाई हिन्दुहरूले विभिन्न देवी, देवताको नाम दिएर पुज्ने गरेका रहेछन्। गुफाको अग्लो भागमा हिन्दुहरूले 'पार्वती'को नाममा पुज्ने स्थान रहेछ भने त्यहीँ बौध्दमार्गीहरूले गुरु पद्मसम्भवले अमरत्व प्राप्त गरेको स्थान मानेर खादा चढाउँदा रहेछन्।

हलेसी धामको गुफा छ हजार वर्ष पुरानो मानिने रहेछ भने पद्मसम्भवको प्रसंग आउँदा सन् ७०० तिरको अनुमानित इतिहास बोकेको रहेछ। जे होस्, यो प्राचीन र प्राकृतिक रूपले महत्त्वपूर्ण स्थान हो भन्नेमा दुई मत रहेन। 

महादेव पुजिने स्थानमा भन्दा अलिक पर अर्को गुफा रहेछ, त्यो गुफाको मुखमा एउटा ठूलो चट्टान रहेछ र त्यसलाई बसाहा भनेर पूजा गरिने रहेछ। त्यो गुफाभित्र पसेपछि फराकिलो भूभाग र भित्तामा विभिन्न देवी, देवताको आकार कल्पना गरिने बनोट रहेछ। त्यहाँ सबैभन्दा माथि आकाशतिरको केही भाग खुला रहेछ। भित्ताको एउटा कुनामा गाईको थुन जस्तै आकृतिको चुनढुंगाबाट सेतो रङको पदार्थ तपतप चुहिने रहेछ। त्यसलाई भक्तजनहरूले 'दूध देउमाई'को नाम दिएका रहेछन्। स्थानीयका अनुसार भाग्यमानीको हातमा मात्र त्यो चुहिन्छ रे!

यो लेखको उद्देश्य धार्मिक आस्था स्थापित गर्नु वा नकार्नु होइन; लेखको सुरुमा उठाएको प्रसंग वा पर्यटनको प्रचार प्रसार हो।

यति पुरानो भनिएको र तीन धर्मावलम्बीको पवित्र स्थलको प्रचार प्रसार हुनुपर्ने जति हुनसकेको छ त?
अनि यसको संरक्षण?

त्यहाँ पुगेर ती गुफाहरूमा प्राकृतिक रूपले बनेका आकृतिहरू हेरिरहँदा अनायासै अमेरिकाको भर्जिनिया राज्यको लुरेस्थित 'लुरे गुफा'को याद आयो। लुरे गुफा त सन् १८७८ मा मात्रै पत्ता लागेको हो। त्यहाँ पनि ढुंगाका त्यस्तै आकृतिहरू बनेका छन्; तुलनात्मक रूपमा त्यसभित्रको सेरोफेरो अलि ठूलो छ। हलेसी धामको जस्तो छुट्टाछुट्टै गुफाहरू होइन। तर त्यसलाई अलिक बनाएर अमेरिकाले पर्यटक सामु बेच्न सकेको छ। जोकोही त्यहाँ पुगेर आएपछि भर्जिनिया जान लागेको व्यक्तिलाई 'लुरे गुफा' जान सिफारिस गरिहाल्छ।

तर हामीकहाँ केही नौलो खालको आकृति वा बनोट  देख्यो कि त्यसलाई भगवानको थान्कोमा थन्क्याएर सिन्दूर, अवीर घस्न थालिहाल्छौँ। फेरि यहाँ कसैको धार्मिक आस्थामा चोट पुर्‍याउन खोजेको वा 'अ-हिन्दु' भन्न  खोजेको आरोप नलगाई हालियोस्। तर बेलैमा सिन्दूर, अवीरबाट ती मूर्तिहरूलाई नजोगाउने हो भने ती आफैँ बनेका आकृतिहरू खिइँदै र मासिँदै जान्छन्।

पूजा गर्नका लागि एउटा छेउ वा कुनोमा मात्रै त्यस्ता सामग्री चढाउने व्यवस्था गरियोस्। भारतका ठूला मानिएका तीर्थहरूमा पनि सिन्दूर, अवीर त के कुरा, एक सय भारतीय रुपैयाँ हालेर किनेको तुलसी पत्रको मालासमेत चढाउन नदिएको यी आँखाले देखेको छ।

यदि पर्यटनलाई प्रदेशको मुख्य स्रोत बनाउने हो भने 'हलेसी धाम'को संरक्षण र प्रचार प्रसार एकदमै जरुरी छ। मुख्य मन्दिरको रूपमा स्थापित गुफामा चमेरोको ठूलै वस्ती पनि रहेछ। त्यहाँ बालिने धूप र बत्तीको कारण हो वा उनीहरूको प्रकृति नै हो, गुफाभित्र चमेरोको चिरिङमिरिङ आवाजले गुफा गुन्जायमान भइरहने रहेछ।

निष्कर्षमा भन्नुपर्दा, यस्ता महत्त्वपूर्ण स्थलहरूलाई प्रदेश सरकारले तुरुन्तै ध्यान दिनुपर्दछ। पहिले भएका तीन हजार ३७४ वटा स्थानीय निकायहरूलाई मुस्किलले एक खर्ब रुपैयाँ बजेट छुट्याउने सरकारले अबका दिनमा बनेका ७५३ वटा स्थानीय तहलाई छुट्याएको करिब तीन खर्ब रुपैयाँले केही हुनेवाला छैन। त्यसैले आआफ्नो प्रदेशका महत्त्वपूर्ण स्थानको संरक्षण गरेर आम्दानीको स्रोत बढाउने उपाय गर्नुमा बुद्धिमानी ठहर्नेछ!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.