|

काठमाडौं : ‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लाञ्छना लगाइएको छ।

उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिँदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ ।

नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो। भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो।

सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी छिन् ।

‘मेरा श्रीमान हेमराज बन्जाडेको हत्या कसले गरेको हो? सीबीआई र अरु सम्बद्ध निकायले मेरा श्रीमानको हत्याराबारेमा अलग सोधबिन किन गर्न नचाहेको हो र?’,अर्घाखाँचीको, धारापानी निवासी खुमकलाले दिल्ली पुगेर फिरेपछि भनिन्। दिल्लीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग लिएर न्यायको खोजीमा अदालत पुगेकी खुमकलाले अहिलेसम्म श्रीमानको हत्यामा संलग्न अभियुक्त अथवा कानुनी तहको क्षतिपूर्तिबारेमा कहीँकतैबाट भरथेग पाएकी छैनन्।

अदालती फैसलामा आरुषी र हेमराज हत्यापछि तलवार परिवारसम्बद्ध नेपाली घरेलु कामदारहरु कृष्ण थापा, राजकुमार तथा विजय मण्डल (भारतीय) लाई दोषी देखाएको छ। यीमध्ये कृष्ण र राजकुमार अहिले नेपालमै बसेर आफ्नो रोजीरोटी धान्ने काम गरिरहेका छन्। आरुषी हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा यी नेपाली कामदारहरुलाई सीबीआईले चर्को यातनासहित बयान लिएको खबर पनि बाहिर आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.