२५ माघमा मतदान प्रस्ताव

|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा आठ प्रकारको मतपत्र प्रयोग गर्ने तयारी गरेको छ। आयोगले दुई अलगअलग मतभार र चारवटा क्लस्टरका आधारमा आठ प्रकारको मतपत्र बनाउने तयारी गरेको हो।राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुखको मतभार फरकफरक हुने भएकाले दुई अलगअलग रङको मतपत्र बनाउनुपर्ने आयोगले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनसम्बन्धी कानुनमा प्रदेशसभा सदस्यको मतभार ४८ छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ छ।

‘फरक मतभारका लागि दुईवटा अलगअलग रङका मतपत्र प्रयोग गर्नुपर्ने हुन्छ,’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, ‘जम्मा आठ प्रकारको मतपत्र प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’ राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना सदस्य मनोनीत गरिने संवैधानिक व्यवस्था छ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जना सदस्यमा कुल चारवटा समूह छन्। प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभाका सदस्यहरूमा तीन जना महिला, एक जना दलित, एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य हुनुपर्नेछ। बाँकी तीन जना खुला समूहबाट रहनेछन्।

यी चारवटै समूहका लागि फरकफरक मतपत्र हुने आयोगले जनाएको छ। चारवटा क्लस्टरका लागि दुई–दुईवटा फरकफरक मतपत्रका दरले आठ प्रकारको मतपत्र प्रयोग गर्न सकिने आयोगको ठहर छ। राष्ट्रिय सभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख तथा अध्यक्ष एवं उपाध्यक्षको मतभार फरकफरक हुने भएकाले हरेक समूहमा फरक रङको मतपत्र आवश्यक रहेको अर्यालले बताए।

राष्ट्रिय सभाको निर्वाचनमा दलित, अपांगता वा अल्पसंख्यक सदस्य निर्वाचित गर्नका लागि बहुमतीय पद्धति अपनाइनेछ भने तीन जना महिला सदस्य र बाँकी तीन जना खुला सदस्य निर्वाचित गर्नका लागि एकल संक्रमणीय पद्धति अपनाइनेछ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख गरी कुल २ हजार ५६ मतदाता हुनेछन्।

आयोगले निर्वाचनको तयारीका लागि कम्तीमा पनि ४० दिन लाग्ने जनाएको छ। केही दिनअघि मात्रै आयोगले आगामी २५ माघमा निर्वाचन गर्न सकिने सुझाव सरकारलाई दिएको थियो। ‘निर्वाचनको मिति तोक्ने काम सरकारकै हो,’ अर्यालले भने, ‘तर हाम्रो कुरा के हो भने निर्वाचनको तयारी गर्न कम्तीमा ४० दिन लाग्छ।’

राष्ट्रिय सभाको निर्वाचनका लागि जतिसक्दो चाँडो राजनीतिक सहमति र समन्वय गरी निर्वाचनको मिति तोक्नुपर्ने आयोगले जनाएको छ। सरकारले प्रदेश प्रमुख हालसम्म नतोक्दासमेत आयोगलाई अप्ठेरो परेको छ। निर्वाचनमा प्रदेशसभा सदस्य मतदाता हुने भएकाले आयोगले निर्वाचनको नतिजा प्रदेश प्रमुखलाई बुझाउनुपर्नेछ। प्रदेश प्रमुख नहुँदा आयोगले निर्वाचनको नतिजा बुझाउन पाएको छैन।

प्रचार सामग्री हटाउन निर्देशन

काठमाडौं स् निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा प्रयोग गरिएका प्रचारप्रसार सामग्री तत्काल हटाउन राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ।

आयोगले आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनका समयमा प्रचारप्रसारका लागि प्रयोग गरिएका प्रचार सामग्री तत्काल हटाउन सम्बन्धित दल तथा तिनका उम्मेदवारलाई निर्देशन दिएको हो।

‘निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएकाले आयोगले निर्देशन दिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारको क्रममा केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्री हटाउन सम्बन्धित दलहरूलाई पत्राचारसमेत गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.