सरकार गठनको बाटो छिटो खुलाउन आग्रह

|

काठमाडौं : नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

बिहीबार बिहान बालुवाटारमा बसेको सर्वदलीय बैठकमा वाम गठबन्धनमा आबद्ध एमाले र माओवादीका शीर्ष नेताले नयाँ सरकार गठनमा रहेका सबैखाले अड्चन तत्काल हटाउन आग्रह गरेका हुन्। आफूहरुले नयाँ सरकार गठनमा रहेका अडचन फुकाउन छिटो कदम चाल्न आग्रह गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख, प्रदेशको राजधानी र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा राय मागेका थिए। तर, एमाले र माओवादीले यसमा आफूहरुको चासो नरहेको भन्दै छिटो निर्णय गर्न सुझाव दिए। 'प्रदेशको राजधानी र प्रदेश प्रमुखका विषयमा हाम्रो चासो छैन, सरकारले नै तोकोस्, छिटो तोकोस्,' बैठकमा दिएको सुझाव उल्लेख गर्दै एमाले उपाध्यक्ष भीम रावलले भने।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले राय मागे पनि कुनै राय प्राप्त नभएको जानकारी दिए। 'प्रधानमन्त्रीज्यूले सल्लाह माग्नुभएको थियो, तर कुनै सल्लाह आएन,' नेता पौडेलले भने, 'अब प्रधानमन्त्रीज्यू कमभन्दा कम विवाद हुने गरी निर्णय गरेर अघि बढ्नुहुन्छ।'

राष्ट्रियसभा निर्वाचनको मितिका सम्बन्धमा निर्वाचन आयोगसँग सल्लाह गरेर निर्णयमा पुग्ने नेता पौडेलले बताए। बैठकमा कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमका शीर्ष नेता सहभागी थिए।

सो अवसरमा मधेसी दलहरुले भने परिपक्व र अनुभवीलाई प्रदेश प्रमुख तोक्न सुझाव दिएका छन्। यस्तै राजधानी अस्थायी तोकिने भएकाले जहाँ तोक्दा पनि खासै फरक पर्दैन तर, सकेसम्म सार्न नपर्ने गरी तोक्न सुझाव दिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.