|
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुनस्संरचना गरिरहेको संघीय संसद् सचिवालयले संसदीय समिति बैठक कक्ष र कार्यालय प्रयोजनका लागि सिंहदरबारभित्रै दुईवटा ‘प्रिफेब’ भवन बनाउने भएको छ। 

सभाकक्ष व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ५ करोड रुपैयाँ लिएको सचिवालयले ‘प्रिफेब’ भवन बनाउन डेढ करोड खर्चिने तयारी गरेको छ । संघीय संसद् भवन निर्माणमा तदारुकता नलिएका कारण बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी भाडा खर्च गरिरहेको सचिवालयले सिंहदरबारभित्रै अस्थायी संरचना निर्माण र भाडाकोभवन पुन: संरचनामा ठूलो रकम खर्चिन लागेको हो ।

‘संसदीय समितिका सभा हलका लागि तत्कालै नयाँ संरचना आवश्यक छ,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘सिंहदरबारको सचिवालय र नयाँ बानेश्वरमा सदन सञ्चालन गर्नुपर्ने बाध्यताका कारण कार्यव्यवस्था शाखासहित थुप्रै कार्यालय दुवै स्थानमा आवश्यक परेका हुन्।’ दुवै सदनसँग सम्बन्धित कार्यालय सञ्चालनका लागि सम्मेलन केन्द्रको सिंगो परिसर नै संसद् सचिवालयले प्रयोग गर्ने तय भएको उनले बताए ।

संविधानसभाका दुवै कार्यकालमा नयाँ बानेश्वरको भाडाको हलमा मूल बैठक राखिए पनि संसदीय समितिका बैठक कक्ष, सभा हल, ३० वटासम्म संसदीय दलका कार्यालय सिंहदरबारमै अटाएका थिए। 'थ्रेसहोल्ड'सम्बन्धी कानुनी व्यवस्थाका कारण ५ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका कारण संघीय संसद् सचिवालयले संसदीय दलका लागि ५ वटा मात्रै कार्यालय सञ्चालन गरे पुग्छ । संघीय संसदमा संयुक्त, विशेष र विषयगत गरी बढीमा १३ वटा समितिको गृहकार्य भएका कारण समिति सभापतिको कार्यकक्ष र सभाकक्षको संख्या पनि विगतभन्दा थोरै हुन्छ।

सिंहदरबारमा रहेको प्रतिनिधिसभाको पुरानो ग्यालरी बैठक भूकम्पका कारण क्षतिग्रस्त भए पनि राष्ट्रिय सभाको पुरानो सभाकक्ष चालु अवस्थामा छ । संविधानसभा जस्तै संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने भएकाले राष्ट्रिय सभा बैठक पनि एकै परिसरमा राख्ने सचिवालयको तयारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.