|

प्युठान : बिहीबार साँझ प्युठानमा छोराले चिर्पट प्रहार गर्दा बाबुको मृत्यु भएको छ।  जिल्लाको सरुमारानी गाउँपालिका-५ बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चालाई दाउराको चिर्पटले हिर्काउँदा मृत्यु भएको हो।

दाउराले हिर्काउँदा घाइते रैसिङको उपचारको क्रममा बिहीबार राति बुटवलमा मृत्यु भएको हो। छोराको कुटपिटबाट मोहोनलालकी आमा पनि गम्भीर घाइते भएकी र उनको बुटबलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

बिहीबार साँझ घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गरेपछि छुटाउन जाँदा बाबुलाई चिर्पट प्रहार गरेको जानकारी आएको प्युठानका प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए।

मोहोनलाललाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिई गाउँकै प्रहरी चौकीमा बुझाएका छन्। डिएसपी पोख्रेलले घटना दुखद भएको बताउदै घटना कसरी, किन र कुन परिस्थितिमा भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताए। घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट विशेषज्ञ टोली घटनास्थल पठाउने तयारी भएको पोख्रेलले जानकारी दिए।

झण्डै दुई बर्ष जति सोलुखुम्बुस्थित एक जलविद्युत आयोजनामा ट्याक्टर चलाउदै आएका सोनु भनेर चिनिने मोहोनलाल एक हप्ताअघि बाबु विरामी रहेको भन्दै घर आएका थिए। घटनास्थल सरुमारानी गाउँपालिकाको केन्द्र बड्डाँडा बजारदेखि झण्डै ७ किलोमिटर पश्चिममा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.