|

बारा : घरबाट बेपत्ता भएका निजगढका दुई महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ। एक दिनको फरकमा निजगढ–९ कि २५ वर्षीया लक्ष्मी बडाल र निजगढ नगरपालिका ४ कि ७४ वर्षीया सन्तोषीदेवी माझीको रहस्यमय मृत्यु भएको हो।

लक्ष्मीको शव जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तीस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको वन क्षेत्रमा सोमबार विहान जलेको अवस्थामा फेला परेको थियो।

घाँस दाउरा गर्न पुगेका स्थानीयले शव देखेर इलाका प्रहरी कार्यालय सिमरालाई जानकारी गराएका थिए। शव चिन्न नसक्ने अवस्थामा थियो। जलेको अवस्थामा पहिचान नभएको शव भेटिएको खबर पाएपछि भोलिपल्ट लक्ष्मीका दाजु बद्री बडाल वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा पुगेका थिए। घटनास्थलमा फेला पारेको चप्पलका आधारमा शव लक्ष्मीको भएको भन्दै बडालले शव पहिचान गरी बुझेर ल्याई दाहसंस्कार गरेका छन्।

हत्यापछि जलाइएको हो वा जलाएर हत्या गरिएको हो भन्ने बारेमा थप जानकारी शवको परीक्षणको रिपोर्टपछि भन्न सकिने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताए।

त्यसैगरी आइतबारदेखि हराइरहेकी निजगढ नगरपालिका ४ कि सन्तोषीको शव स्थानीय पर्वतनाथ मन्दिर पछाडि फेला परेको थियो। सवारी साधनले ठक्करबाट मृत्यु भएपछि मन्दिर पछाडि फ्याँकिएको हुन सक्ने स्थानीयको अनुमान छ। सन्तोषीको के कारण को मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका कार्यालयका निजगढका प्रमुख दीपक रायले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.