|

दमक (झापा) : शुक्रबार बिहान जंगली हात्तीको बथान गाउँ प्रवेश गरेर दमक–३ मा क्षति पुर्‍याएको छ। हात्तीको बथानले स्थानीयबासीको एक घरको केही भाग भत्काउनुका साथै किसानको अन्नबालीमा क्षति पुर्‍याएको वडाध्यक्ष नवीन बरालले जनाएका छन्।

बिहानको ४ बजे तिर गाउँ पसेको ७ ओटा हात्तीको बथानले ओमबहादुर बस्नेतको पक्की घरको एक छेउ नै भत्काएको उनले जनाए। यस्तै अर्का किसान हेमसागर पोखरेलको कुन्युको धान पनि हात्तीको बथानले खाइदिएको छ। हात्तीको बथान नै गाउँ प्रवेश गरेपछि स्थानीयबासी त्रसित बनेका छन्। बारम्बार हात्ती गाउँमा पसेर दुःख दिने गरेको र मानिस नै जोगिन पनि कठिन भएको पीडितले बताएका छन्। 

सोही ठाउँमा भुटानी शरणार्थी शिविरसमेत रहेकाले रात भर शिविरमा पनि त्रास छाएको थियो। सो स्थानमा रहेको हम्सेदुम्से सामुदायिक वनमा रहेका हात्ती पटक पटक बस्तीमा प्रवेश गरी धनजनको क्षति पुर्‍याउने गरेको छ। झापा दमकको उत्तरी क्षेत्रमा पटक पटक जंगली हात्तीको बथानले हैरानी दिने गरेको छ। हात्तीको त्रासकै कारण स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य छन्। यस अघिसमेत हात्तीको बथान गाउँ छिर्दा सुरक्षाकर्मी परिचालन गरी धपाइएको थियो।

हात्ती धपाउन स्रोत साधनको अभाव

जंगली हात्तीले समस्या दिने वर्षौ अघिदेखि भए पनि स्रोत साधनको अभावमा दिगो समाधान गर्न नसकिएको नगरपालिकाले जनाएको छ। हात्ती आएमा पुल्ठो बालेका भरमा लखेट्नु परेको स्थानीय गणेश चाम्लिङ्ले बताए। दक्षिणी इलामको चुलाचुली, भुटानी शरणार्थी र उत्तरी दमकका बासिन्दा जंगली हात्तीसँग लुकामारी गरेर बाँच्नु परेको उनको भनाइ छ। 

बेला बेला जंगली हात्तीको आक्रमणका कारण स्थानीयको ज्यानै समेत जाने गरेको छ। नगरपालिकामा पनि पर्याप्त बजेट नभएकाले केही समयअघि सडक बत्तीसम्म व्यवस्था गर्न सकिएको वडाध्यक्ष बरालले बताए। दिगो समाधानका लागि जिल्ला वन कार्यालयसँग समन्वय गरी हात्ती नियन्त्रणको प्रयास थालिने उनले प्रतिवद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.