|

सडक संजाल, व्यवस्थित यातायात, संचार, शिक्षा, स्वास्थ्य र खानेपानी आदि आधुनिक विकासका मूल आधार हुन्। तिनै आधारहरूमा नै आजको विकासको मापन गर्ने गरिन्छ।

अझ कतिपयले त यातायातको (गाडी) गतिसँगै आज विकासको गति मापन गरिन्छ भन्ने गर्छन्। तिनमा सहमत होइएला या नहोइएला, तर हाम्रो र विकसित राष्ट्रको सडक र यातायातको तुलना मात्र गरे पुग्छ कि हामी कति पछि परेका रहेछौँ! 

आधुनिक विश्वका तीन महत्त्वपूर्ण आविष्कार केके हुन्? कसैले भन्ला संचार, कसैले स्वास्थ्यको आविष्कार अनि कसैले कम्युटर। ती भनाइ काठमाडौं महानगर कसले बनायो भन्दा पीएल सिंहले भनेजस्तै हुन्। 

आजको युगलाई आधुनिक विकासको युगमा रूपान्तरण गर्न  जेम्स वाटको वाफबाट चल्ने इन्जिन (स्टिम इन्जिन)को डनलपको टायर र माइकल फेराडेको डाइनामो नै मूल तत्त्व भएकोमा कुनै शंका? अनि ती सबै अटोसँग सडक र यातायातसँग अनि मोविलिटीसँग सम्बन्धित छन्। 

कुनै बेला तिब्बतको व्यापारिक साम्राज्य अनि कुब्लाँ खाँको राजनीतिक साम्राज्यको इतिहास हेरौँ न हामी। 

जुन बेलासम्म घोड सवारी या पैदल मात्र यातायातको आधार थिए, त्यति बेलासम्म तिब्बत र मंगोलियाको के कुरा, हाम्रा साँखु र त्रिसुली बजार अनि बन्दीपुरको व्यापारिक दबदबा कति थियो भनेर इतिहास पल्टाउँदा हुन्छ। तर ती अब इतिहासमा लुप्त भइसके। 

किन त्यस्तो भयो त? उत्तर सहज छ, त्यसपछि जल यातायात अर्थात डुंगा र पानी जहाजले हाम्रो विकासे इतिहास लुप्त बनाइदिए। 

हङकङ, सिंगापुर, मुम्बई जस्ता शहरको उदय हुनुमा यातायात (जल)कै योगदान रहेको तथ्य नबुझ्नेले कसरी विकासको गति बुझ्ने? जलपछि हवाई यातायातले नै संसारलाई एक बनाएको तथ्य जगजाहेर नै छ। 

जब जोन डनलपले चक्का निर्माण गरे, अटोमोवाइलको आविष्कार अनि सडक संजाल बन्न सुरु भयो, त्यसले मानिसको विकास, चेतनास्तर, कार्यशैली तथा जीवनस्तरमा समेत आमूल परिवर्तन सम्भव भयो। 

आज विश्वमा आफ्नो शान र वैभव देखाउने मात्र होइन, जनताको स्तर मापक बनेको छ– सडक र सवारी। विकास र पूर्वाधार जनजीविकाको आधार। युरोप विकासको आधार सरल, सहज र व्यवस्थित रेल वे संजाल बनेको छ भने चीनले त्यसमा अद्भुत क्षमता देखाएको छ।

आज नेपालमा स्थानीय तहको निर्वाचन भइसकेको छ र नयाँ आशा बोकेका छन् जनताले। जनप्रतिनिधिहरूले चुनावताका आफ्नो शहरलाई स्मार्ट सिटी बनाउँछौँ भनेर गरेको भाषण भुलेका नहुनुपर्छ उनीहरूले। 

स्मार्ट सिटी भनेको मोबाइलबाट चल्ने शहर भनेर मात्र पो बुझेका त हैनन् होला नि! 

सार्वजनिक यातायात, पर्किङ, २४ घण्टा यात्रा पहुँच, साइकल  पैदलयात्रीमैत्री फुटपाथ, घरघरमा खानेपानी, संचार, स्वास्थ्य सेवा, आधारभूत शिक्षा अनि तिनको एकीकृत र ईसेवा नै स्मार्ट सिटीका आधार होलान्। 

संचार र सूचना प्रविधिको अधिकतम उपयोग गरी शहरको आधारभूत संरचना यातायात, स्वास्थ्य, शिक्षा, २४सै घण्टा पानी, बत्ती, बाल र वृद्धमैत्री सडक, प्रशस्त खुला स्थान, सार्वजनिक यातायात आदिआदि स्मार्ट सिटीका आधारभूत शर्त हुनुपर्ने हो। 

मार्ट सिटीको अवधारणामा संचार र सूचनाले प्रविधिद्वारा साधन र स्रोत दुरूपयोग रोकिनुपर्दछ। जस्तैः स्वचालित सडक बत्ती, जुन काम नभएको बेलामा निभ्ने हुनुपर्छ। स्मार्ट सिटीको अवधारणामा साधन र स्रोतको उच्चतम प्रयोग पनि मुख्य कुरा हो। 

कसरी बन्छ स्मार्ट सिटी? 
-    स्मार्ट सिटी बनाउने परिकल्पनाबाट सुरु हुन्छ।
-    भिजन स्पष्ट हुनुपर्छ।
-    भिजनलाई एक्सनमा कसको नेतृत्वमा लैजाने भन्ने स्पष्ट हुनुपर्छ (मेयर हुँदै निकाय बनाउने कि केन्द्रीय सरकार)। 
-   नेतृत्व चयन भएपछि एउटा निश्चित क्षेत्र तोकिनुपर्छ। 
-    स्मार्ट सिटीको बारेमा जनमानसमा जानकारी दिनुपर्छ किनभने यसमा सबैको साथ चाहिन्छ। स्मार्ट सिटीले जीवनस्तर उकास्छ भन्ने कुरामा जनमानसले विश्वास गर्नुपर्छ। जस्तैः यसका लागि भोलिका दिनमा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ, त्यसका लागि जनमानस सहमत हुनुपर्‍यो। 
-    स्पष्ट समय तालिका बनाएर काम अगाडि बढाउनुपर्छ।

हाम्रो जस्तो देशमा यस्तो काम गर्न निकै चुनौती छन्। तिनलाई चिर्दै अगाडि बढ्नुपर्छ। यसका लागि सहमति, स्रोत र संभावना कसरी जुटाउने भन्ने स्पष्ट हुनु जरुरी छ। 

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्ने होे या  सरकारी स्रोत अथवा सहकारी मोडेलमा भन्नेमा उच्चस्तरको विश्लेषण गरी त्यसको निक्र्याेल गर्नुपर्छ। 

हाम्रा जस्ता गफाडी र कमजोर निर्णय क्षमता भएका नेतृत्व र कर्मचारीतन्त्र, दल, अझ जातजातमा बाँडिएका मतदाता (जनता)का कारण मौसमी विकासे संस्कारले स्मार्ट सिटी बनाउन निकै चुनौती छन्। 

काठमाडौं–पोखरा सार्र्वजनिक यातायात व्यवस्थित गर्न किन नसकेको होला? दुई घण्टामा पुग्न सकिने मन्थली बजारसम्म हवाई यात्रा कसको रमाइलोका लागि होला? गोरखा, बलेवा र इलामको एयरपोर्ट कसको कल्पना होला? 

सडक संजाल, चौडा र व्यवस्थित सडक, जिम्मेवारी सार्वजनिक यातायात व्यवस्थापन अनि त्यसले जनताको जीवनस्तरमा पार्ने प्रभावबारे हाम्रा नीति निर्माता बेखबर त पक्कै होइनन्, बेढंगी र लापरवाह भने अवश्य हुन्। 

छिमेकी राष्ट्र चीनको वान बेल्ट वान रोड होस् वा रेल वे संजालको, खुबै गफ गर्न रमाइलो मान्ने हामी त्यसको अलिकति सिको गर्दै नेपालमा भएका सडक र यातायात व्यवस्थित, टिकाउ पार्न भने डराउँछौँ। सायद हाम्रा नीति निर्मातालाई बस, रेल, सडक, बसपार्क, फुटपाथ जस्ता शब्द आफ्ना लागि बनेका होइनन् जस्तो लाग्दो हो। सायद उहाँहरूलाई डोमेस्टिक, इन्टरनेशनल, डाइरेक्ट, कनेक्टिङ, ट्रान्जिट, लवी, रनवे, ल्यान्ड, टेक जस्ता शब्दमै खेल्ने बानी परेर हो कि!

जनसंख्या र विकास व्यवस्थापन आज ध्यान दिनुपर्ने पक्ष हो। कुनै समयमा काठमाडौं ठीकै थियो होला डिजाइनका हिसाबले। आज किन शहरी व्यवस्थापनको आधुनिक प्रविधि अवलम्बन गर्न अल्छी गर्ने? माथि भनिएझैँ आधारभूत सुविधा पुर्‍याउन नसक्ने भए सरकारले सोही तथ्य जनतालई बताउनुपर्छ। २, ४ वटा घर भएका डाँडाकाँडामा विकास पुर्‍याउन भनेर जोड गर्नु पनि मनासिब होइन। वस्ती हस्तान्तरण गरी ती स्थानमा कृषि, पशुपालन, जडिबुटी र वनसम्बन्धी उद्यम गर्न सकिन्छ। मतलव, अब जहाँ जे जतिवटा घर बने पनि आधारभूत कुरातर्पm ध्यान दिनु जरुरी छ। हाम्रा निति निर्माताहरू यति सत्य र आधारभूत तत्थ्यसमेत लुकाएर कस्तो जनसहभागितामूलक र दिगो विकास गर्न चाहन्छन्? 

ल पुरानाबाट त पार लागेन, नयाँ भनाउँदो व्यवस्था या नवनिर्वाचितहरूले यो तत्थ्य बुझे हामी भाग्यमानी हुने थियौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.