|

पर्वत : ‘सबैले भन्छन् यो देशमा केही गर्न सकिन्न तर म सात वर्ष विदेश बसेपछि अर्काका लागि दुःख किन गर्ने? भनेर स्वदेशमै आएँ, अहिले तरकारी खेती गरिरहेको छु। किन्ने ग्राहक घरमै आउँछन्। आम्दानी पनि राम्रो छ’, पर्वतको कुश्मा नगरपालिका– ७ का अगुवा कृषक नीलराज पुरीको भनाइ हो यो। 

उनका अनुसार अर्काको देशको माटोमा जति पसिना बगाइन्छ, त्यति पसिना यहीँ बगाउने हो भने हरेक नेपाली लखपति हुन्छन्। ‘यहाँ अल्छी गर्नेहरू विदेशमा एक मिनेट खाली बस्दैनन् अनि कसरी हुन्छ यो देशको विकास?’, उनी भन्छन्।

नेपालमा जागिर पाइनँ भन्दै साउदी अरेबिया हानिएका पुरी सात वर्षपछि जिल्ला फर्किएर २०५५ सालदेखि सदरमुकाम कुश्मा बजारमा तरकारी र बिरुवा उत्पादन गर्दै आएका छन्। उनी आफ्ना पौरखी हात र आर्थिक उपार्जनमा गर्व गर्छन्। 

पुरी जस्तै विदेशिएर नेपाल फर्किएका धेरै पर्वते युवाहरूमध्ये धेरैले केही न केही उद्यम स्वदेशमै गरेर अब विदेश नजाने बताउँछन्। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरू गाउँका भएका कारण उनीहरू फर्किएपछि पनि गाउँमै भएको जमिनलाई सदुपयोग गर्न चाहन्छन्। 

विदेशबाट फर्किएपछि मात्र स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच किन आउँछ? पाँच वर्ष मलेसियामा काम गरी अहिले आफ्नै गाउँ खुरकोटमा तरकारी खेती र पशुपालन गर्दै आएका नारायणदत्त पौडेल भन्छन्, ‘विदेशमा काम गर्दा परिवार पाल्नै धौधौ थियो। भनेजस्तो काम कहाँ पाइन्छ र उता?’ गाउँमा जग्गा बाँझिएको र घर आएर गाई भैँसी पाल्ने तथा तरकारी खेती गर्ने सोच बनाएर विदेश त्यागेको उनी बताउँछन्। ‘अहिले यहीँबाट राम्रो भएको छ, विदेश किन जाने?’ 

गाउँ ठाउँमा आम्दानीको स्रोत नभएको भन्दै आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएर फर्किएका पर्वतका धेरै युवाहरू विदेशको अनुभवपछि गाउँमा कुनै न कुनै तरीकाले व्यस्त हुन थालेका छन्। विदेशी भूमिमा गएर गर्नुपर्ने कठोर दुःखपछि स्वदेशमै दुःख गर्दाको महत्त्वसँगै यहाँका युवाहरूको आकर्षण कृषि फर्म दर्ता गरेर व्यावसायिक रूपमा गरिने कृषिमा बढेको छ। आँकडामा हेर्ने हो भने पर्वतमा पछिल्ला वर्षहरूमा कृषि उद्यम दर्ता गर्नेहरू बढेका छन्। 

सरकारले व्यावसायिक कृषकहरूलाई मात्र अनुदान दिने भएकाले अनुदान लिएर व्यवसाय गर्न सहज भएका कारण गाई, भैँसी पालन, तरकारी खेती, बाख्रा पालन जस्ता व्यावसायिक फर्म दर्ता गर्न युवाहरूको आकर्षण छ। विगतका वर्षहरूमा राइस मिल, सिलाइ कटाइ, खाद्यान्न पसल, होटललगायतका व्यवसाय दर्ता बढी हुने गरेकामा पछिल्ला वर्षहरूमा कृषिसम्बन्धी फर्म दर्ता गर्नेहरू बढेको बताउँछन् घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतका सूचना अधिकारी टेकनाथ पराजुली। 

जिल्ला कृषि विकास कार्यालयका अनुसार व्यावसयिक कृषकहरूलाई युवा लक्षित कार्यक्रमअन्तर्गत ४० हजार रुपैयाँ र व्यवसायको लगानी तथा उत्पादन हेरेर ५० प्रतिशतसम्म कृषि अनुदानको व्यवस्था भएका कारण पनि विदेशबाट फर्किएका युवाहरू नै कृषिमा आकर्षित भएको उनको भनाइ छ।

कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी भन्छन्, ‘हामीले युवा लक्षित कार्यक्रमलाई विशेष महत्त्व दिएका छौँ। तालिममा पनि विदेशबाट फर्किएर गाउँमै केही न केही गरिरहेका युवाहरूको उपस्थिति बाक्लो छ।’ युवाहरूले विदेशमा काम सिकेर नेपाल आएपछि त्यही सीपको प्रयोग गर्ने गरेको अनुभव उनको छ। 

तर कतिपयले भने कृषि फर्म संचालन गरेर अनुदान लिने अनि विभिन्न बहानामा केही समयमै फर्म बन्द गरेर अनुदानको दुरूपयोग हुने गरेको पनि आरोप छ।

हेर्नुहोस् फोटा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.