|
उपमहानगरपालिकाले दाउरा वितरण गर्दै।

बारा : अत्यधिक चिसोका कारण बाराका सामुदायिक तथा निजी विद्यालयहरु थप चार दिन विदा दिने जिल्ला शिक्षा कार्यालय बाराले निर्णय गरेको छ। यसअघि जिल्ला शिक्षा कार्यालय बाराले पुस १६ देखि २१ गते सम्म विद्यालयहरु बन्द गरी आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो। 

केही दिन यता चिसो र शितलहर बढेपछि विद्यालयहरु पुस २६ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी लालबाबुप्रसाद साहले जानकारी दिए। मौसम प्रतिकुल भई शिक्षण सिकाई कार्य प्रभावित भएकाले वर्षे विदाबाट कट्टा हुने गरी थप ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए। 

सिमरा विमानस्थलबाट उडान रद्द

लगातारको शितलहर र कुहिरोका कारण बाराको सिमरा विमानस्थलको उडान शनिबार पनि प्रभावित भएको छ। नागरिक उड्ययन प्राधिकरण सिमराका अनुसार बाक्लो कुहिरोका कारण शनिबार पनि सिमरा विमानस्थलको उडान पूर्ण रुपमा प्रभावित बनेको छ। शुक्रबार पनि उडान पूर्ण रुपमा रद्द भएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ। यसअघि बुधबार पनि पूर्णरुपमा उडान रद्द भएको थियो। गत बिहीबार भने विमानस्थलबाट पाँचवटा उडान भएको थियो।

विमान उडान तथा अवतरणका लागि २ हजार तिन सय मिटर भिजिविलिटी आवश्यक पर्छ। सिमरामा आवश्यक भिजिविलिटी नपुग्दा उडान हुन नसकेको सिमरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर संगम श्रेष्ठले बताए। सिमराबाट औसत दैनिक सातवटा उडान हुँदै आएको छ। सिमरा विमानस्थलमा बुद्ध एयरलायन्स र नेपाल एरलायन्सका विमानले उडान भर्दै आएका छन्। 

लगातार उडान रद्द हुँदै आएपछि बारा पर्सा, मकवानपुर, रौतहट लगायत भारत विहारबाट समेत काठमाडौं जाने तथा काठमाडौंबाट फर्कने यात्रु प्रभावित भएका छन्।

राजमार्गमा चहलपहल घट्यो

लगातारको शितलहर र चिसोका कारण बजारमा चहलपहल कम भएको छ भने राजमार्गमा मोटरसाइकल यात्रुको संख्यासमेत घटेको छ। साना र ठूला सवारी साधनको संख्यामा खासै कमी नआए पनि मोटरसाइकलमा यात्रा गर्नेको संख्या भने ह्वातै घटेको छ। चिसोका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथमा गुड्ने मोटरसाइकलको संख्यामा साविकको तुलनामा कमी आएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

उपमहानगरपालिकाद्वारा दाउरा वितरण

शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि जितपुरसिमरा उपमहानगरले दाउरा वितरण कार्यलाई तिब्र पारेको छ। नगरबासीलाई चिसोबाट बच्नका निम्ति सार्वजनिक स्थानमा धुनी बाल्नका उपमहानगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तिब्र पारेको हो।

जिल्ला वन कार्यलय र निजगढस्थित बकैया नागमणि सामुदायिक वन उपभोक्ता समितिसंग समवन्य गरी उपमहानगरको कार्यालयमा ल्याइएको दाउरा वडा कार्यलयमा पठाउन थालिएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए। अहिलेसम्म वडा नम्बर ७, १०, १९, २० नम्बर वडाका वडाअध्यक्षले उपमहानगरबाट दाउरा लगिसकेको र अन्य वडामा पनि दाउरा पठाउने क्रम जारी रहेको नगर प्रमुख डा. पौडेलले बताए।

उपमहानगरको वातावरण तथा बिपद ब्यवस्थापन समितिको बैठक बसेर बढ्दो शितलहरबाट जोगिनका निम्ति न्यानो वितरण र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। समितिको निर्णयअनुसार दाउरा संकलन गरी उपमहानगरका वडामा वितरण गर्ने क्रमलाई तिब्र पारिएको र शितलहर रहेसम्म दाउरा वितरणलाई निरन्तरता दिने प्रमुख डा. पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.