|

बारा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको खर्च विवरण बुझाउन जिल्लाका उम्मेदवारले अटेरी गरेका छन्। प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना नाघिसक्दा जम्मा ४ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४  अनुसार चुनावमा गरेको खर्चको विवरण परिणाम घोषणा भएको ३५ दिन भित्र दल, उम्मेदवार वा तिनका प्रतिनिधिले पेश गर्नुपर्ने व्यवस्था छ। निर्वाचन भएको १ महिना नाघिसक्दासमेत जम्मा ४ जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय बाराका प्रशासन अधिकृत गणेश नेपालीले जानकारी दिए।

हालसम्म राष्ट्रिय यथार्थवादी पार्टीका राजुप्रसाद कलवार र गोपाल सहनी, नेकपा एमालेका महमद उमिउल्लाह र विवेकशील साझा पार्टीका सनी लामाले मात्र खर्च विवरण बुझाएका छन्।

मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्च विवरण बुझाउन निर्वाचन कार्यालयले उम्मेदवारलाई पटक–पटक आग्रह गरेको थियो।उम्मेदवारले प्रचार प्रसार, कार्यालय सञ्चालन, सवारी, अन्तर्क्रियालगायतमा भएका खर्चको विवरण बुझाउनुपर्ने हुन्छ। परिणाम घोषणा भएको ३५ दिनभित्र दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन खर्च विवरण नबुझाएमा निर्वाचन आयोगले दल, उम्मेदवार वा तिनका प्रतिनिधिलाई पाँच सय रुपैयाँ जरिवाना गर्न सक्छ। 

निर्वाचन सामग्री हटाएनन् 

प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दा पनि चुनावी प्रचारका लागि दल तथा उम्मेदवारले बाराका विभिन्न स्थानमा प्रयोग गरेको निर्वाचन सामग्री हटाएका छैनन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका रुपमा रहेको जितपुर बजार, सदरमुकाम कलैया, निजगढलगायत जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री नहटाइदा सार्वजनिक स्थलहरु कुरुप बनेका छन्।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रयोग गरिएका निर्वाचन सामग्रीहरु तत्काल हटाउन निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय बारामार्फत बाराका राजनीतिक दललाई पत्राचार गरिसकेको भए पनि त्यसको अटेर गर्दै जिल्लाका राजनीतिक दलहरुले प्रचार सामग्री हटाएका छैनन्। चुनाव प्रचारका क्रममा सडकका पोल र सार्वजनिक स्थानहरुमा राखिएको तुल, व्यानर र झण्डाहरु नहटाइदा सार्वजनिक स्थानको स्वरुप विग्रिएको छ भने दलहरुले आयोगको निर्देशन र नियमलाई समेत अटेर गरेको पाइएको छ।

निर्वाचन आयोगले पनि हटाएको छैन सामग्री

मंसिर २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रयोग भएका निर्वाचन सामग्री नहटाउनेमा दल र उम्मेदवार मात्र होइनन् स्वयं निर्वाचन आयोगले पनि यस्ता प्रचार सामग्री हटाएको छैन। आयोगले निर्वाचनमा मतदाता शिक्षाका लागि प्रयोग गरेको पोस्टर, व्यानर र फ्लेक्स बोर्डहरु नहटाएको हो।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफले निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि प्रयोग गरेका फ्लेक्सहरु राख्ने काम निजी कम्पनीलाई दिएको बताए। ‘विज्ञापन एजेन्सीलाई जिम्मा दिइएको थियो, त्यसो भएको छ भने हामी तत्काल हटाउछौं’ उनले भने।

उम्मेदवार भन्छन् : हामीले हटाइसकेका छौं 

नेकपा एमालेबाट निर्वाचित बारा ४(१) का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्रमा सबै निर्वाचन सामग्री हटाइसकेको दाबी गरेका छन्। ‘हामीले निर्वाचन समग्री हटाइसकेका छौं, यदि त्यस्तो रहेछ भने हामिले त्यसलाई तत्काल हटाउनेछौं’ विश्वकर्माले भने।

यस्तै बारा ३(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित नेकपा माओबादी केन्द्रकी नेतृ ज्वाला साहले आफ्नो क्षेत्रका सबै प्रचार सामग्री हटाइएको बताइन्। ‘कुनै तडकभडकविना मैले निर्वाचन जितेकाले मेरो क्षेत्रमा यसै पनि कम मात्र निर्वाचन सामग्री प्रयोग भएको थियो, त्यो पनि सार्वजनिक स्थानबाट हटाइसकेका छौं’ साहले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.