'माओवादी अन्तरसंघर्षबारे मैले बोल्न मिल्दैन'

|

काठमाडौं : पत्रकार अनिल थापाको पुस्तक ‘अविराम बाबुराम’ सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू जिउँदो छउन्जेल माओवादीभित्रको अन्तर्संघर्षबारे नबोल्ने बताए। 'भित्री कुरा खुलाएको छैन, जिउँदो रहुन्जेल खुलाउन मिल्दैन' भट्टराईले भने। 

आफूलाई केन्द्र बनाएर लेखिएको पुस्तक 'अविराम बाबुराम' सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्तव्य  राख्दै उनले पुस्तक र पुस्तकमा उल्लेखित तथ्यहरुका बारेमा स्पष्टीकरण दिए। पुस्तकमाथि टिप्पणी गर्दै एमाले सचिव प्रदीप ज्ञवाली र दुर्गा सुवेदीले उठाएका प्रश्नको समेत जवाफ दिँदै भट्टराईले भने-   

१. ‘अविराम बाबुराम’ मैले लेखाएको होइन

पुस्तक ‘अविराम बाबुराम’ आफूले लेखाएको नभई लेखक आफैले सोधखोज गरी लेखेको भट्टराईले स्पष्ट पारे। २०६९ सालदेखि नै लेखक थापाले पुस्तक लेखन कार्य थालनी गरेको भन्दै बाबुरामले भने, ‘यो किताब म माओवादीमा भएकै बेलादेखि लेख्न सुरु भएको हो। माओवादी छाडेपछि यो किताब मैले लेखाएको हो भन्ने भ्रममा तपाईँहरु नपर्नुहोला। मैले यहाँ लेखकलाई सहजताका लागि केही सहयोग मात्रै गरेको छु।’ 

२. अन्तरसंघर्ष प्रचण्ड–बाबुरामका होइनन्

‘यो किताबभित्र केही अन्तरसंघर्षका विषयहरु समावेश छन्, यी अन्तरसंघर्ष प्रचण्ड–बाबुरामका होइनन्’ उनले भने, ‘तपाईँहरुलाई म के भन्न चाहन्छु भने, सैद्धान्तिक कुराहरु मार्क्सवादको मान्ने कि स्टालिनको मान्ने अनि र तत्कालीन समयमा पार्टी शान्ति प्रक्रियामा जाने कि नजाने भन्ने विषयमा हामीबीचमा अन्तरसंघर्ष थियो, त्यो केवल प्रचण्ड–बाबुरामका अन्तरसंघर्ष थिएनन्।’ उनले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेकोमा खुसी समेत व्यक्त गरे। 

३. भित्री कुरा खुलाएको छैन, जिउँदो रहुन्जेल खुलाउन मिल्दैन

प्रचण्ड र आफूबीचको अधिकांश भित्री कुरा लेखक थापा आफैले सोधखोज गरी ल्याएको औँल्याउँदै भट्टराईले पार्टीका आन्तरिक कुराहरु आफू जिउँदो रहुन्जेल बाहिर ल्याउन नहुने तर्क गरे। ‘लेखकले सोधखोज गरी ल्याएका हामीबीचका कुराहरु तथ्यगत छन्, तर ती कुराहरु मैले भनेको होइन। गोप्य कुराहरु म जिउँदो रहुन्जेल सार्वजनिक गर्न मिल्दैन।’

४. यसकारण छाड्यौँ मार्क्सवाद र पार्टी

एमाले सचिव ज्ञवालीले बाबुरामले मार्क्सवादका आधारभूत मान्यताहरु छाडेको प्रसंग कोट्याएपछि भट्टराईले त्यसको खण्डन गरे, र भने, ‘हामीले मार्क्सवादका आधारभूत मान्यता छाडेका छैनौँ।’ नयाँ शक्ति नेपालले छलफलका लागि आधारपत्र तयार गरेको बताउँदै उनले मार्क्सवादका द्वन्द्वात्मक भौतिकवादमाथि भ्रष्टीकरण भएको विषयलाई प्रधान मानेको स्पष्ट पारे। ‘मार्क्स आफैमा महान व्यक्ति हुनुहुन्थ्यो। उहाँले भौतिकवाद र द्वन्द्ववाद निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएकै हो। तर विचारलाई प्रयोग गर्ने क्रममा अहिले मार्क्सवाद, लेनिनवाद, माओवाद मान्नेहरुले मार्क्सले अघि सार्नुभएको कुराहरुलाई छाडेर भ्रष्टीकरण लाग्यो’ उनले भने, ‘त्यसकारण समयानुकूल हामीले रुप मात्रै परिवर्तन गरेका हौँ, नेपालका मार्क्सवादलाई मान्नेहरुको थोत्रिएको, भ्रष्टीकरण भएको र गन्हाएको खोललाई मात्रै हामीले छाडेका हौँ, मार्क्सवादका मुख्य गुदी छाडेका छैनौँ।’ 

५. कांग्रेसको समाजवाद नांगो उदारवाद

एमाले सचिव ज्ञवालीले बाबुरामको यात्रा मार्क्सवाद कि समाजवाद भन्ने प्रश्न तेर्स्याएपछि बाबुरामले कांग्रेसको समाजवादी नीतिको चर्चा गरे। ‘यहाँ समाजवादको नाममा नवउदारवादको प्रयोग भइरहेको छ। नेपाली कांग्रेसले  प्रजातान्त्रिक समाजवाद भने पनि व्यवहारमा उसले आफ्नो नांगो समाजवाद र नवउदारवादको प्रयोग गरिरहेको छ’ भट्टराईले भने, ‘रामशरण महतजीले जुन नीति अगाडि सार्नुभयो, त्यसैमा आधारित भएर कांग्रेसले लिएको नीतिमा कुनै पनि समाजवाद छैन।’

६. यसकारण छाडेँ संसद्

‘संविधान जारी गरेर त्यसको कार्यान्वयनको लाग्नुको साटो अलपत्र छाडेर किन हिँड्नुभयो भनेर दुर्गा गुरु (दुर्गा सुवेदी) र ज्ञवालीजी (प्रदीप ज्ञवाली) ले प्रश्न सोध्नुभएको छ’ बाबुरामले जवाफ दिए, ‘संविधान कार्यान्वयन ठूलो कुरा हो, संविधान कार्यान्वयन प्रक्रिया लामो हुन्छ। कांग्रेस, एमाले, माओवादी र अन्य स्वतन्त्र साथीहरु मिलेर जारी नयाँ संविधानलाई समृद्धि बनाउनुका साथै कार्यान्वयनका लागि नयाँ शक्तिमा निर्माणमा लागेको हुँ।’ कार्यक्रममा आइपुगेका सुवेदी र ज्ञवालीले बाबुरामले संविधान जारी गरी कार्यान्वयन प्रक्रियालाई बेवास्ता गरेको प्रसंग कोट्याएका थिए।

७. धाधली गरी चुनाव जित्ने मनसाय

राजनीतिक दलका नेताहरु सरकार बनाउने कुरामा मात्रै लागिपरेको बताउँदै भट्टराईले डेढ वर्षभित्र संविधान कार्यान्वयन नहुने खतदा पैदा हुँदै गएको बताए। चुनावका लागि कांग्रेस, एमाले र माओवादीलाई आफ्नै नेतृत्वमा सरकार चाहिएको प्रसंग निकाल्दै उनले प्रश्न गरे, ‘आफ्नै नेतृत्वमा सरकार चाहिन्छ भन्नु अर्थ के? धाँधली गरेर भए पनि चुनाव जितिन्छ भन्ने होइन?’

८. बिचरा प्रचण्ड ! नजानेको मान्छे केही भन्नुहुन्न

तेस्रो दलले सरकारको नेतृत्व गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने बताउँदै उनले तेस्रो दलले सरकारको नेतृत्व गर्दा विगदेखि नै बदनाम हुँदै आएको बताए। ‘बहुदलमा कांग्रेस र एमाले नमिलेर कहिले लोकेन्द्रबहादुर चन्द त कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनायो, त्यसले बहुदललाई नै बदनाम गरायो, त्यस्तै पहिलो संविधानसभामा माओवादी र कांग्रेस नमिल्दा ‘कहिले माधवकुमार नेपाल त कहिले झलनाथ खनालको टाउकोमा हाल्ने काम’ भयो’ भट्टराईले भने, ‘अहिले विचरा प्रचण्डजीको टाउकोमा हालिएको छ। यस्तो कुरा हामी जान्दैनौँ (संसद छोडेकोले), नजानेको मान्छेले केही भन्नुहुन्न।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.