|
चिसोमा आगो ताप्दै तराईका वासिन्दा

विराटनगर : शीतलहरसँगै अत्यधिक जाडो बढेपछि मोरङका सामुदायिक विद्यालयमा जाडोको विदा दिइएको छ। जिल्ला शिक्षा कार्यालयले आइतबार बैठक बसी जाडोको विदा दिएको हो।

पुस २३ देखि २८ गतेसम्म विदा दिएको मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिए। केही दिनयता अत्यधिक जाडो बढेपछि विदा दिने निर्णय गरेको पुरीले बताए। मौसम अनुकूल भएपछि विद्यालय पुनः सुचारु हुने उनले जानकारी दिए। 'चिसोको अवस्था हेरी विदा थप गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछौं,’ पुरीले भने। मोरङमा पाँच सय ९६ सामुदायिक र तीन सय ८४ निजी विद्यालय छन्।

शिक्षा कार्यालयले सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई जाडोको विदा दिए पनि निजी विद्यालय भने सुचारु छन्। विद्यालयले यस अघि नै परीक्षा सुरु गरेका कारण जाडोमा पनि विद्यार्थी विद्यालय जान बाध्य भएका हुन्। 'प्याब्सनमा आवद्ध करिब २ सय वटा विद्यालयहरु छन्,’ प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेले भने, ‘परीक्षाले गर्दा विदा दिन समस्या भएको हो। परीक्षा केही दिनमा सकिएपछि ४/५ दिन विदा दिन्छौं।’

अत्याधिक जाडो बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। जाडोले रुघामर्की लाग्ने, ज्वरो आउनेलगायतको बिरामी आउने गरेको हस्पिटलले जनाएको छ। जाडोको कारण जनजीवनसमेत प्रभावित बनेको छ। सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र काम गर्ने मजदुर जाडोको बढी समस्यामा परेका छन्।

जाडो छल्न दाउरा वितरण

इलाका प्रहरी कार्यालय रानीले अत्याधिक जाडो छल्नका लागि विराटनगरको विभिन्न वडामा दाउरा वितरण गरेको छ।

तराईमा केही दिनदेखि चिसो बढेसँगै स्थानीय बिरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकमा दाउरा वितरण गरिएको हो।

उक्त कार्यालयबाट खटिएको टोलीले बिहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय झमेली चोक, तालिम केन्द्र आसपास, भन्सार कार्यालयको १ नम्बर ढाट, २ नम्बर ढाट र मुसहर बस्तीमा दाउरा झारिएको र जाडो छल्नका लागि आगो ताप्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ। ‘जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत’ जाडो छल्न दाउरा वितरण गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख सन्तोष निरौलाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.