|

सल्यान : मुल्यवृद्धिका कारण धेरै मानिसले दैनिक खर्चसमेत धान्न सकेका छैनन्। तर सल्यानकी एक महिलाले भने विगत ७ वर्षदेखि सुत्केरी महिलालाई निःशुल्क खाना खुवाउदै आइरहेकी छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ५ पाखापानी निवासी निर्मला खत्रीले प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने महिलालाई निःशुल्क खाना खुवाउदै आइरहेकी छन्।

२०६७ सालदेखि स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने सबैलाई निशुल्क खाना सुरु गरेको निर्मलाले बताइन्। उनले भनिन् 'मैले समाजमा केही गर्नुपर्छ भन्ने भावना पहिलेदेखिनै थियो, तर के काम गरेर समाजसेवा गर्ने भन्ने लागि रहेको समयमा स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आउने महिलाको पिडा देखेँ र त्यही पीडालाई आत्मसाथ गरेर मैलै स्वास्थ्य केन्द्रमा आउने सबै सुत्केरीलाई निशुल्क खाना खुवाउन थालेकी हुँ।'

सुत्केरी महिलालाई निशुल्क खाना खुवाउँदा पहिले छिमेकीले निकै कुरा काटेको बताउदै उनले छिमेकीले जति कुरा काटे पनि त्यसको कुनै वास्ता नगरी निरन्तर सेवामा लगि रहेको बताइन्। आफू महिला भएकाले सुत्केरी हुँदाको पिडा आफूलाई थाहा भएको बताउदै उनले सुत्केरीलाई निशुल्क खाना खुवाउदा आफूलाई सन्तुष्टी मिल्ने बताइन्। 

खत्रीले सुत्केरीलाई मात्र नभई कहिलेकाहीँ वृद्धवृद्धाहरुलाई पनि निशुल्क खाना खवाउने गरेकी छन्। उनलाई निरन्तर समाजसेवा गरेको भन्दै केही वर्ष पहिले जिल्ला विकास समितिले सम्मान समेत गरी सकेको छ। जिविसले गरेको सम्मानले आफूलाई समाजसेवामा लाग्न थप बल पुर्‍याएको खत्रीको भनाइ छ।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज डा. हेमराज शर्माले निर्मलाले समाजसेवी कामले निकै सकारात्मक प्रभाव पारेको बताउदै निर्मलाको प्रशंसा गरे। समाजसेवा जस्तो कार्य जोकोहीले सहजै गर्न नसक्ने बताउदै डा. शर्माले निर्मलाको यो कार्य जिल्लाकै लागि नमुना भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.