|

पर्वत : पर्वतको जलजला गाउँपालिकास्थित मल्लाज दरबार र मल्लाजकोटमा पुग्ने पर्यटकहरूको संख्या बढेको छ। 

कोट मन्दिरप्रतिको धार्मिक विश्वास, ऐतिहासिक स्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुविधा भएकाले पनि उक्त क्षेत्र पर्यटकको रोजाइमा परेको हो। मल्लकालीन राजाले शासन गरेको मल्ल दरबार र मल्लकालीन सभ्यता समाविष्ट कोटकालिका मन्दिरमा दैनिक दुई हजारको संख्यामा पर्यटकहरू पुग्ने गरेको स्थानीय नवीन जीसीले जानकारी दिए। 

आवतजावतका लागि मोटरबाटोको स्तरोन्नति, पैदल मार्ग र सहज यातायातको सुविधाले पनि पर्यटकको संख्यामा वृद्धि भएको उनले बताए। बेनी बजार आसपासबाट जाने सडकहरू समेत निर्माण गरिएपछि हिजोआज मल्लाज घुम्न जाने पर्यटकको संख्यामा वृद्धि भएको हो। 

म्याग्दीको तातोपानी कुण्ड तथा मुस्ताङ घुम्न जाने पर्यटकहरू पनि एक पटक मल्लाज पुग्ने गरेका छन्। अलपत्र रहेको मल्लाज दरबार र कोट मन्दिरको अहिले पुनर्निर्माण गरिएको छ। १५१ वर्षअघि मल्लकालीन समयमा बनेको माझफाँटस्थित उक्त दरबार जीर्ण बनेको थियो। उक्त स्थानबाट धौलागिरि हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ। बाइसे चौबीसे राज्यका पालामा निर्मित मल्लाज कोट, दरबारलगायतका ऐतिहासिक स्थलको संरक्षण गरी धार्मिक एवम् पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीय बासिन्दाले पहल गरेका छन्। 

कोट मन्दिरमा भक्तजन तथा पर्यटक भित्र्याउनका लागि म्याग्दी बेनीको कालीपुलदेखि डिलफाँटसम्म निर्माण भएको पक्की सिँढीसहितको पैदलमार्गलाई कोटसम्म नै विस्तार गर्ने लक्ष्य राखिएको स्थानीयवासीले बताएका छन्। मल्लाज घुम्ने पर्यटकको संख्या दिनहुँ बढ्न थालेपछि होटल व्यवसायीहरू व्यस्त कनेका छन्। त्यहाँ दैनिक पुग्ने सयौँ पर्यटकहरूले होटल भरिभराउ हुन थालेको स्थानीय पार्वती मल्लले बताइन्। पर्यटकहरू मल्लाजमा वास भने कमै बस्ने तर खाना तथा खाजा खाने आन्तरिक तथा बाह्य पर्यटकहरूबाट यहाँका होटल व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएको मल्लले बताइन्। 

अपेक्षाकृत रूपमा पर्यटकको संख्या बढेपछि यहाँका होटल व्यवसायी तथा लगानीकर्ताहरू उत्साहित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.