|

काठमाडौं : चैत २ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'पंचायत'को अमेरिकाको भर्जिनियामा प्रिमियर शो गरिएको छ। नायक सरोज खनाललगायतको उपस्थितिमा गरिएको उक्त प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको बताइएको छ। फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्। फिल्मको कथावस्तु र कलाकारको अभिनयले खुबै तारिफ पाएको छ।

नेपालको पुरानो सामाजिक व्यवस्था र समाजलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको फिल्म ‘पंचायत’ले अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा आयोजित 'सानफ्रान्सिस्को चलचित्र महोत्सव'मा 'विदेशी भाषाको उत्कृष्ट चलचित्र' विधामा र नायिका निता ढुंगानाले 'उत्कृष्ट मुख्य अभिनेत्री' विधामा पुरस्कार जित्न सफल भएका थिए।

‘पंचायत’मा शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा सरोज खनाल, निता ढुंगाना, रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुंगेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ।

गणेश गिरीको प्रस्तुति रहेको यस फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको यस फिल्मलाई विपीन मल्लले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.