|

विराटनगर : बिक्रीवापतको कमिसन बढाउन माग राख्दै विराटनगरका ग्यास बिक्रेताले सोमबारदेखि ग्यास उद्योगमा धर्ना सुरु गरेका छन्।

चार दिनसम्म खाना पकाउने (एलपीजी) ग्यासको बिक्री बन्द गरेर आन्दोलनमा उत्रिएका बिक्रेताले दोस्रो चरणको आन्दोलनअन्तर्गत ग्यास उद्योगकै गेट अगाडि धर्ना सुरु गरेका हुन्।

एलपी ग्यास बिक्रेता संघको अगुवाइमा भएको आन्दोलनमा आसपासका डिलरहरूले समेत समर्थन गरेका छन्। संघसम्बद्ध पदाधिकारीले सोमबार मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढास्थित कोसी ग्यास उद्योग अगाडि धर्ना सुरु गरेका छन्। 

आन्दोनलमा समर्थन र सहयोग गरिरहेको ग्यास बिक्रेता महांसघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले दैनिक साँझ ४ बजेसम्म धर्ना दिने र उद्योगबाट ग्यासको आपूर्ति हुन नदिने बताए। आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने उनको भनाइ छ।

बिक्रेताले विगत १५ वर्षदेखि प्रति सिलिन्डर ३५ रुपैयाँ मात्र कमिसन प्राप्त गर्दै आएका छन्। लामो समयदेखि ग्यासको कमिसन बढाउन सरकार, नेपाल आयल निगम र स्वयम् उद्योगीले पनि चासो नदिएको बिक्रेताको भनाइ छ। महँगी बढे पनि ग्यास बिक्रेताको कमिसन एक पटक पनि नबढाएको उनीहरूले बताएका छन्।
ग्यास बिक्रेताले प्रति सिलिन्डर पाँच प्रतिशत कमिसन पाउनुपर्ने माग राखेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगर र ग्यास उद्योगी समक्ष आफ्नो मागपत्र पेस गर्दै उनीहरूले कमिसन बढाउन पहल गर्न ज्ञापनपत्रसमेत बुझाएका छन्।

संघका अनुसार मोरङमा झापा, मोरङ र सुनसरीका उद्योगका करिब ५०० डिलर छन्। विराटनगर महानगरभित्र मात्र २०० डिलर छन्। विराटनगरमा दैनिक दुई हजार सिलिन्डर बिक्री हुन्छन्। 

मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्ने प्रक्रिया थाल्न लागेकै बेला मोरङमा ग्यास बिक्रेता आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको आन्दोलनले उपभोक्ता मारमा परेका छन् भने बजारमा ग्यासको कालोबजारी बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.