|

काठमाडौं : पद्मश्री पुरस्कार २०७२ निलम कार्की निहारिकाको उपन्यास 'चीरहरण' र पद्मश्री साधना सम्मान २०७२ वरिष्ठ साहित्यकार वैरागी काँइलालाई प्रदान गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०७२ को पद्मश्री पुरस्कार र सम्मान दिने कृति र व्यक्तिको शनिबार घोषणा गरेको हो। 

पुरस्कारवापत कार्कीलाई २ लाख रुपैँया र प्रमाणपत्रसहित सम्मान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिष्ठानले गत साउनमा पाँच सम्भावित कृतिको सूची जारी गरेको थियो। उक्त सूचीमा रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज: मेरो शहरको कथा र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज रहेका थिए।

त्यसैगरी २०७२ सालको पद्मश्री साधना सम्मानबाट वरिष्ठ साहित्यकार बैरागी काँइलालाई सम्मान गरिने भएको छ। करिब पाँच दशकदेखि नेपाली र लिम्बु साहित्यमा कलम चलाउँदै आएकोले काइँलालाई सम्मान गरिने भएको विज्ञप्तीमा जनाइएको छ।

सम्मानवापत अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैँया प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। 

२०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कार दिँदै आएको छ।

यसअघि पद्मश्री साधना सम्मान राष्ट्रकवि माधव घिमिरे, लेखक मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.