|

चितवन : चितवनमा एकै समयमा तीन महोत्सव हुँदै छन् । पूर्वी चितवनमै २ महोत्सव र पश्चिम चितवनमा एक महोत्सव हुन लागेको हो। चितवनको रत्ननगरमा पुस २७ देखि माघ ७ सम्म  ‘रत्ननगर महोत्सव’ हुँदै छ भने माघीको अवसरमा पूर्वी चितवनको खैरहनीमा पुस २८ गते देखि माघ ८ सम्म ‘खिचरा महोत्सव’ हुँदै छ। त्यस्तै पश्चिम चितवनको पटिहानीमा पुस ३० गते दखि माघ ४ गतेसम्म ‘बेलोध खिचरा महोत्सव’ हुँदै छ।

रत्ननगर उद्योग वाणिज्य संघ आयोजनामा पुस २७ देखि प्रस्तावित क्षेत्रीय रंगशालामा नवौं संस्करणको ‘रत्ननगर महोत्सव’ आयोजना हुने जनाइएको छ। महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रर्वद्धन, स्थानीय कला संस्कृतिको प्रर्दशन गरिने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय र अन्य क्षेत्रमा उत्पादित वस्तु तथा सेवाको परिचय गराउने ४ सय ५० भन्दा बढी स्टल रहने महोत्सव संयोजक राजाराम रेग्मीले जानकारी दिए।

महोत्सवमा तरकारी, मह, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, पोल्ट्री, फलफूल जस्ता कृषिजन्य वस्तुहरुको प्रदर्शनीका साथै प्रतियोगितासमेत हुनेछ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रदर्शकमा रुपमा वंगलादेश, पाकिस्तान र भारतको सहभगिता रहने आयोजकको भनाइ छ। महोत्सव अवधीभर सौराहासहित चितवनका विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धन कार्यक्रमसमेत रहने छन्। महोत्सवमा फुड फेष्टिबलकोसमेत आयोजना हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

यता पूर्वी चितवनकै खैरहनी नगरपालिकामा माघ १ गते मनाइने माघि (खिचरा) पर्वको अवसरमा ‘खिचरा महोत्सव’ हुने भएको छ । संस्कृति संरक्षणका लागि महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका संयोजक नारायण महतोले जनाकारी दिए।  

माघ सुरु भएसँगै थारु समुदायले नयाँ बर्षको रुपमा माघि मनाउने चलन छ। नयाँ बर्षको स्वागतमा थारु परम्परा अनुसार विशेष गरी चिचर र माछा खाने चलन छ। माघि पर्व र थारु समुदायको मौलिक संस्कृति तथा पहिचान जोगाउनका लागि यहाँ हरेक बर्ष महोत्सव गरिंदै आएको छ।

खिचरा महोत्सवमा थारुका पहिचान झल्कने भेषभुषासहित विभिन्न संस्कृतिक पहिचान एवं परम्परागत औजारहरु प्रदर्शन तथा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिनेछ।

उता थरु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ५ को आयोजनामा पश्चिम चितवनको पटिहानीस्थित सिमलगैरीमा पहिलो ‘बेलोध खिचरा महोत्व’ आयोजना गरिने भएको छ। पुस ३० गतेदेखि माघ ४ सम्म आयोजना हुने महोत्सव थारु समुदायको माघि पर्वको अवसर पारेर आयोजना गरिएको हो । महोत्सवले थारु संस्कृतिको जगेर्ना गर्नुको साथै पटिहानीको पर्यटन विकासमा सहयोग पुग्ने स्थानीय सामाजिक अभियन्ता अपिल घिमिरेले जानकारी दिए।

यसअघि चितवनको सौराहामा ‘चितवन हात्ती महोत्सव’ र रत्ननगरमा ‘पूर्वी चितवन महोत्सव’ सम्पन्न भैसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.