|

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन्।

उनले भने, 'हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ र सम्बन्धमा सुधार हुन्छ भने हामी भेटघाट र वार्ता गर्न तयार छौँ, त्यसका लागि म खुला नै छु।'

गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएको शुभकामना सन्देशमा पनि उनले सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए।

उनले अहिले नै दुई कोरियाको उच्च तहमा वार्ता गरी आवश्यक सम्बन्ध सुधारका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता मङ्गलबार दक्षिण कोरियामा सुरु भएको एक दिनपछि राष्ट्रपति मुनको यो धारणा आएको छ।

आपसमा बिगत लामो समयदेखि नै शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गगलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता सुरु भएको हो। 

यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनले जोड दिएका हुन्।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ।

उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो। दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ।

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो। छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा प्रसंग उठेपनि त्यसमा कुनै निर्णय नभएको र उत्तर कोरियाली वार्ता प्रतिनिधिले यस विषयमा आफूहरुले कुनै निर्णय दिन नसक्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.