|

चितवन : सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ। विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन्। पारिवारिक कारण आमाबुवाहरु बृद्धाश्रममा छाडिन्छन्। भविष्यमा आफूपनि आमा बुबा भइन्छ भन्ने ख्यालै गरिंदैन।

त्यस्तै त्यस्तै विषय समेटेर मानवसेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ। छोराछोरीको विकृत मनोभावनालाई त्याग्न प्रेरणा दिंदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’। नटकको सुरुवात आमाप्रतिको बुहारीको तिरस्कृति मनोभावबाट हुन्छ। 

आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि बाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोराको हेयलाई तुलना गरिएको कथासहितको वेदनाको पोको खोल्छन्। यसैबाट दर्शकको मन रसाउन सुरु गर्छ।

त्यसपछि नाटक ‘आमा’ सुरु हुन्छ ...

‘कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ, यसो उठेर फूलमा पानी मात्रै हाल्दे‘नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा बृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन्। ‘बाहिर गर आफैं, भित्र आफै, सक्तिन म, के म यो घरको नोकर हो र?’ शान्ति कराउन छाड्दिनन्। 

‘हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है,’ आमा भन्छिन्। बुहारीलाई आमा घरमा बसेको मन पर्दैन। बृद्धाश्रममा पठाउन श्रीमानलाई दबाब दिन्छिन्। देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैं गर्छिन्। बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ। 

आमाको ममता अपरम्पार हुन्छ। त्यसको कुनै मोल नै हुन्न। तर छोराले यी सब कुरा बिर्सन्छ। जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमता जाग्छ। 

एक छिन छोरा, तँ एउटी आमाले गरेको ममताको मुल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्तिन, तर एक हप्ता भित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु।’ उ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन्। उपस्थित दर्शकहरुमा आँशुका धारा बग्न थाल्छन्। आमाहरुको मन थामिंदैन। 

नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सुँक्कसुँक्क गरी रुन थालिन्। ‘सुखदुख दुबैसँगै त हुन्छ, दुख देख्दा रुनमन लाग्यो,’ अधिकारीले भनिन्,‘घरपरिवार नै राम्रो भए बाआमा यसरी विछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन।’ उनीसँगै ८७ वर्षका बृद्ध बैकुण्ठ अर्याल र ८१ वर्षका दमयन्ती अर्याल दम्पत्ती नै लठ्ठी टेकेर आमा नाटक हेर्न सहभागी भए। 

............

अर्काे दिन छोरा ओच्छ्यानमा सुतिरहेको हुन्छ। आमाले लठ्टी टेक्दै छोराको शरीरमा पानी खन्याउँछिन्। तर्सिएर छोरा रिसले आगो बन्छ।  ‘तिमी जस्ती अलक्षिनी आमा त कसैको नि छैन, पागल भयौ कि, अन्धी भयौ।’

‘तँलाइ एक दिन चिसो ओछ्यानमा सुत्दा यस्तो गाह्रो हुन्छ भने छोरा, मैले त तँ सानो छँदा यस्तो चिसो ओच्छ्यानमा कति रात बिताएको छु।’ आमाले विगत सम्झाउँछिन् ।

ऊ नतमस्तक हुन्छ। पछुतो मान्छ। प्रायश्चित गर्न थाल्छ। ‘तिमी त देवी हौं, म कस्तो अभागी रहेछु। यति धेरै माया गर्ने आमा पाउँदा भाग्यमानी हुनुपर्ने किन अभागी भैरा‘का? किन तिरस्कार गरिराको। ईश्वर हौ, तिमी त मेरो भाग्य हो।’ 

छोराले आमाको खुट्टा समाएर रुँदैरुँदै गरेको प्रायश्चित देखेर दर्शकको मन फेरी भक्कानिन्छ। माइत गएकी श्रीमतीलाई रुँदै फोनबाटै सम्झाउँछ। अनि कथाको अन्त्य हुन्छ। श्रीमान बनेका भुवन सिंह परियारको लेखन निर्देशन रहेको नाटक आमाको श्रीमती शान्तीको भूमिकामा सञ्चिता गौतम छिन्। गंगा नेपाली आमाको भूमिकामा छिन्।

मनवसेवा आश्रमका संरक्षक तथा संस्कृतिविद् डा गोविन्द टण्डन भन्छन्, ‘आमा बाबु जीवित देवी देवता हुन्। आजको संसार स्वार्थी बन्दै गैरहेकाले सडकमा आमाबाबु फ्याँकिएका छन्। त्यस्तो स्वार्थीपन नआओस् भन्ने चेतना दिन आमा सफल छ।’
 
पुस ३ गते चितवनमा प्रस्तुत गएको ‘आमा सेमिनार’ पुस २४ गते प्रस्तुत भएको थियो। यसअघि मंसिर ४ गते हेटौंडा, पुस १४ गते काठमाडौं, पुस १५ गते बाग्लुङमा कार्यक्रम भइसकेको छ। अब निकट भविष्यमै बुटवल र वीरगञ्जमा गरिंदै छ। 

सडकमा कोही पनि कष्टकर जीवन व्यतित गर्न नपरोस्, मागेर समेत खान नसक्ने मानिसहरु सडकमा नरहोस् भन्ने अभिष्ट आश्रमको  छ। विगत २०८२ सालसम्ममा नेपालका सडकमा यस्ता व्यक्तिहरुको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रमले सामाजिक सचेतनाका लागि ‘आमा सेमिनार’ कार्यक्रम देशवयापी चलाउने अभियान सुरु गरेको छ। 

त्यही सेमिनारको एउटा भाग हो नाटक ‘आमा’। आश्रमका संयोजक रामजी अधिकारी परिवारकै तिरस्कारका कारण कयौं आमाहरु बृद्धाश्रममा पुगेका छन्, सडकमा पुगेका छन्। त्यस्ता आमाहरुको उद्धारका क्रममा देखेभोगेका विषय ‘आमा’ नाटकमा प्रस्तुत गरिएको बताउँछन्। 

यसले समाजमा आमाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुने विश्वास उनको छ। आमा र परिवाको मायाँ ममतामा रहेकाहरुलाई अझै दृढ बनाउँछ भने आमालाई हेलाँ गर्नेहरुलाई सत्मार्गमा ल्याउन ‘आमा’ नाटक सफल भएको छ। आश्रमले देशको विभिन्न जिल्लाका सडकपेटीबाट अहिलेसम्म करिव १ हजारजनाको उद्धार गरेकोमा ३०० जति आमाहरु रहेको चितवन संयोजक रुपा केसीले जानकारी दिइन्। करिब १०० जना आमालाई परिवारमा मिलन समेत गराइसकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.