|

कैलाली : सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफ क्लव धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार धनगढी रंगशालामा भएको क्वार्टर फाइनलमा पहिलो संस्करणको उपविजेता संकटा क्लवलाई २-० ले पाखा लगाउँदै एपीएफले गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

संकटा अघिल्लो वर्ष फाइनलमा मनाङ मस्याङ्दीसँग १-० ले पराजित भएको थियो। विभागीय टोली एपीएफको जीतका लागि युवा खेलाडी अञ्जन विष्ट नायक रहे। ह्याट्रिक गर्नबाट चुकेका उनले दुवै गोल गरे। पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाएका उनले दोस्रो हाफको ८५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै आफ्नो टिमको जीत सुनिश्चित गरे।

विष्टले अतिरिक्त समयको पहिलो मिनेटमा ह्याट्रिक गर्ने मौका पाएका थिए। तर उनको प्रहार गोलपोष्टको माथिबाट बाहिरियो। दुई गोल गरेर टिमलाई जिताएका अञ्जन बुधबारको खेलको म्यान अफ द म्याच घोषित भए। उनले खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साइन्सका तर्फबाट नगद १० हजार रुपैयाँ हात पारे।

प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टिम नेपाल आर्मी क्लव र थ्री स्टार क्लवले प्रतिस्पर्धा गर्नेछ। बाई पाएर क्वार्टर फाइनल पुगेको आर्मी र रमपम झापा ११ लाई ३-१ ले हराएर थ्री स्टारले सेमिफाइनल प्रवेशका लागि एकआपसमा भिड्न लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.