विचार

सनातन धर्म र नेवारी संस्कृति
SHARES

पुस २८, २०७४

    सनातन धर्मअन्तर्गत श्रीस्वस्थानीको व्रत चलिरहेको छ, जसमा सनातन धर्मावलम्बीले भन्दा नेवार समुदायकाले बढी निष्ठाका साथ व्रत बस्छन्। काठमाडौंको उत्तरपूर्वी क्षेत्र शालीनदीमा चलिरहेको माधवनारायण व्रत, जहाँ स्वस्थानीको व्रत बस्ने अधिकांश नेवार समुदायका छन्\हुन्छन्। यो व्रतको आधार पुराण हो। 

    वैदिक धर्मका अनुयायी र नेवार समुदाय एकअर्काको संस्कृतिका विरोधी हुन् भन्ने देखाउन लागिपर्नेलाई यो गतिलो जवाफ हुनसक्छ। काठमाडौंकै सन्दर्भमा हेर्दा मुलुकका कुनाकन्दराबाट आएका सनातन संस्कृतिका अनुयायी र नेवार समुदाय युगौंदेखि मिलेरै बसेका छन्। यस्तै केही शताब्दीयता व्यापारको सिलसिलामा कुनाकन्दरामा पुगेका नेवारहरू पनि ती संस्कृतिमा घुलमिल हुन सकेकै छन्। संस्कृतिका धेरै पक्ष समान भएर होला।

    वैदिक सनातन संस्कृति र नेवारी संस्कृतिमा थुप्रै समानता छन्। आफूलाई ‘सनातन धर्मावलम्बी हुँ’ भन्नेहरूले भुलिसकेका रीतिथिति यो समुदायमा जीवितै रहेको पाइन्छ। यो समुदायमा वैदिक परम्पराको झल्को दिने कतिपय संस्कृति अझै कायमै रहेको पाइन्छ।

    नेवार समुदायले नयाँ वर्षको पहिलो दिन गर्ने आत्मपूजा पनि आत्मतत्त्वको महत्त्वलाई उजागर गर्ने वेद, उपनिषद्को दर्शनअन्तर्गत पर्छ। आत्माको महत्त्वबारे श्रीमद्भगवद्गीतामा पनि बताइएको छ। आत्मा र शरीरको महत्त्व बुझी पूजा गर्ने चलन यही दर्शनलाई आत्मसात गर्दै भएको बुझ्न सकिन्छ। आत्मा वा शरीरको महत्त्व बुझेर मात्र हुँदैन कर्मको महत्त्व बुझ्नु त्यत्तिकै जरुरी छ। नेवारी समाजमा कर्मलाई महत्त्व दिइन्छ। 

    वैदिक सनातन संस्कृति र नेवारी संस्कृतिमा थुप्रै समानता छन्। आफूलाई ‘सनातन धर्मावलम्बी हुँ’ भन्नेहरूले भुलिसकेका रीतिथिति यो समुदायमा जीवितै छन्। यो समुदायमा वैदिक परम्पराको झल्को दिने कतिपय संस्कृति अझै कायमै रहेको पाइन्छ।

    वैदिक मान्यताअनुरूपको मानिसहरूमा कर्मको विभाजन गरी कुनै एक विषयमा लागिरहने र त्यस विषयमा दक्ष बन्ने गरेको यो संस्कृतिमा देख्न सकिन्छ। वेदको मर्मअनुसार कुनै पनि काममा लागिरहने र त्यसमा निपुण भएर निस्किने यो समुदायको विशेषता हो। उपवेदमा बताइएका विभिन्न कलाहरूमध्ये नृत्य, गायन, वाद्यवादन, काष्ठ, शिल्प आदि कलालाई नेवार समुदायले जीवन्त राखेको छ। 

    मूर्ति निर्माणको सन्दर्भ वैदिक परम्पराबाटै आएको बुझिन्छ। वेदमा मूर्तिपूजाको प्रसंग नभए पनि कैयौँ शिर, कयौ हात भएका कैयौँ आँखा भएका पुरुषको कल्पना गरिएको छ। त्यही कल्पनाको आधारमा मूर्तिहरूको निर्माण भएको पाइन्छ। 

    वैदिक परम्परामा मौसमअनुसारका खाद्यपदार्थहरू देवीदेवता र पितृलाई अर्पण गरी आफूले खाने परम्परा छ। माघमा गुड र तिलबाट बनेका पदार्थ खाने, वैशाख–जेठको उष्णताबाट शान्ति लिन जौबाट निर्मित पदार्थ र शितल गर्ने पेय पदार्थ खाने, असार–साउनमा दुग्धजन्य पदार्थ खाने जस्ता मौसमअनुकुलका खाद्यपदार्थ उपयोग गर्ने संस्कृति वैदिक परम्पराबाट आएको हो। 

    आयुर्वेदमा यस्ता विषयको विस्तृत चर्चा गरिएको छ। अन्य समुदायमा हराउँदै गएको यस्तो चलन नेवार समुदायमा भने रहेकै छ र अहिले उनीहरूबाट अरु समुदायले पनि ग्रहण गरिरहेका छन्। आयुर्वेदमा कुन पदार्थ कहिले खाने कुन भाँडामा राख्ने कसरी राख्ने र तिनको गुण कसरी बढाउने भन्ने नियम बताइएका छन्। तिनै नियमहरूलाई नेवार समुदायले निरन्तरता दिइरहेको पाइन्छ। त्यसैले पनि खानपान र संस्कृतिमा यो समुदाय अहिलेसम्म सम्पन्न रहेको हो। 

    हिजोआज मानिसहरूले त्यति ख्याल नगरे पनि वैदिक संस्कृतिमा ‘सव्य’ र ‘अपसव्य’ले ठूलो अर्थ राख्छ। जनै दाहिने भएको (देब्रे काँधबाट दाहिनेतिर गएको) अवस्था सव्य हो। देब्रे भएको (दाहिने काँधबाट देब्रे हातमुन्तिर लगिएको) अवस्था अपसव्य हो। विशेषगरी श्राद्ध गर्दाका विशेष अवस्थामा अपसव्य भए पनि अन्य कार्यमा वा सामान्य अवस्थामा मानिस सव्य हुने गर्छ वा हुनुपर्छ। जनै सव्य नै लगाए पनि रुमाल वा बर्को ओड्ने क्रममा मानिसले त्यति ध्यान पुर्याएको पाइँदैन तर नेवारी समाजमा विशेषगरी महिलाहरूले सव्य हुने किसिमले बर्को ओढेको देख्न सकिन्छ। जनै नै नलगाए पनि श्राद्धका बेला अनिवार्य रूपमा रुमाललाई जनै बनाई कर्म गर्ने परम्परा छ। 

    आफूले जे खाइन्छ त्यही पदार्थ आफ्ना देवता र पितृलाई चढाउने सबै धर्मसंस्कृतिको मान्यता हो। नेवार समुदायले अहिले पनि श्राद्धमा आफ्ना पितृलाई मासु चढाउँछ। यो परम्परा वैदिक सनातनीहरूमा पनि थियो। केहीलाई छोडेर अहिले सनातनीहरू श्राद्धमा मासुको प्रयोग गर्दैनन्। मासुको सट्टा मासका फुलौरालगायतका पदार्थ चढाउने चलन चलेको छ। सनातनी र वैष्णवहरूको प्रभाव र दबाबमा परेर नेवारहरूले पनि अचेल यो चलन छोड्न थालेको बुझिन्छ।

    वैदिक परम्परामा तिथिहरू टुट्दैनन्, अहोरात्रात्मक (एक सूर्योदयदेखि अर्को सूर्योदय नहुञ्जेल) हुन्छन्। अर्थात् एउटा सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। टुट्नै परे चतुर्दशीचाँहि टुट्छ। तर अहिले चलेको पात्रोअनुसार जुनसुकै तिथि पनि टुट्छन्। दिउँसो, साँझ, बेलुकी जुनसुकै बेला एउटा तिथि सकिई अर्को तिथि लाग्न सक्छ। आधुनिक प्रयोगले गाँज्दै लगे पनि नेवारी समाजमा अझै पनि 'तिथि अहोरात्रात्मक हुन्छ' भन्ने मान्यता रहेको पाइन्छ। तिथि घटबढ भएको भनेर कुनै वर्ष एउटै चाड अन्यले अघिल्लो दिन र नेवार समुदायले भोलिपल्ट मनाएका उदाहरण पनि छन्। 

    कालगणनाकै सन्दर्भमा पनि नेवार समुदायले वैदिक परम्पराअनुरूपको अमान्त(औँसीमा सकिने महिना) मान्दै आएको छ। वर्ष वा महिनाको प्रारम्भ नै कार्तिक शुक्ल प्रतिपदाबाट हुन्छ। हामीले हिजोआज मान्ने गरेको महिना पूर्णिमान्त हो। यो कृष्ण पक्षको प्रतिपदामा सुरु भएर पूर्णिमामा पूरा हुन्छ। पूर्णिमान्त महिना वैदिक सिद्धान्तको विपरीत हो। 

    वैष्णव आदि सम्प्रदायको प्रभावसँगै हाम्रो समाजमा एकादशी आदि तिथिको महत्त्व बढी अष्टमी, औँसी, पूर्णिमा जस्ता वैदिक मान्यता बोकेका तिथिहरूको महत्त्व घट्दै गएको पाइन्छ। नेवार समुदायले वैदिक मान्यताअनुरूपका पूर्ण तिथिहरूलाई मान्यता दिँदै आएको पाइन्छ। उनीहरूले आफ्ना चाडपर्व र जात्रा–मेलामा पूर्णिमा (पुन्हि) औँसी र अष्टमीलाई महत्त्व दिएको पाइन्छ। 

    सनातन समाजमा दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्ने परम्परा छ। कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आयुवृद्धिको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्छन्। नेवारी समाजमा पनि जन्मदिनमा वा म्हपूजाका बेला अष्टचिरञ्जीवीको पूजा गर्ने परम्परा छ। 

    नेवार समुदायका दैनिक व्यवहार पूजा–आजा जात्रा–मात्रा लगायत कुनै न कुनै रूपमा सनातन संस्कृतिसँग गाँसिएका छन्। उनीहरूले जति आफ्ना कला संस्कृति, परम्परा, बाजागाजा आदिको संरक्षण गर्न र परम्परालाई अविच्छिन्न रूपमा अगाडि बढाउन वैदिक संस्कृति भएकाले पनि सकेका छैनन्। 

    कान छेड्ने, मुन्द्री लगाउने चलन नेवारी समाजमा अद्यापि छ। सनातन संस्कारभित्रकै कर्णवेध संस्कार वैदिक धर्मावलम्बीमाझ ‘अन्योल’ को विषय बनेको छ। सानोमा कान छेड्ने चलन त छ तर मुन्द्रा वा कुण्डल लगाउने विषयमा सनातन धर्मावलम्बीमा भ्रम छ।

    बालक हुँदा निश्चित समयमा छेडेको कानमा स्नातक भएपछि गुरुले दीक्षान्तस्वरूप कुण्डल लगाइदिने वैदिक परम्परा धेरैले भुलिसकेका छन्। पुरुषहरूले कानमा मुन्द्री झुण्ड्याउनुलाई ‘आधुनिक’ हुनुको रूपमा बुझ्छ अहिलेको समाजले। कान छेडेर निश्चित सुनलगायतका धातुका गहना लगाउँदा स्वास्थ्यमा पर्ने अनुकुल प्रभवका बारे आयुर्वेदले व्याख्या गर्छ। 

    नेपाली समाजमा मलत्याग गरेपछि (दिशा गरेपछि) साबुनपानी लगाएर हात धोए पनि लघुशौच (मूत्रत्याग) गरेपछि हात धुने कार्य हराउँदै गएको देख्न सकिन्छ। हिजोआज पिशाब गरेपछि हात नधोई खानेकुरा खाने अरुसँग हात मिलाउने गरेको देखिन्छ। आधुनिक दृष्टिले सभ्य मानिए पनि धार्मिक, साँस्कृतिक वा स्वास्थ्यका दृष्टिले पनि यो राम्रो होइन। सनातन संस्कृतिमा मूत्रत्याग पछि पनि अनिवार्य रूपमा राम्रोसँग हात धुनुपर्छ। कुल्ला गर्नुपर्छ। नेवारी समाजमा भने मूत्रत्याग गरेपछि पनि हात धुने चलन रहेको पाउन सकिन्छ। 

    यसरी नेवार समुदायका दैनिक व्यवहार पूजा–आजा जात्रा–मात्रा लगायत कुनै न कुनै रूपमा सनातन संस्कृतिसँग गाँसिएका छन् जसको समग्र व्याख्या गर्ने काम सनातन संस्कृतिको राम्रो अध्ययन गर्नेले बाहेक अरुले गर्नै सक्दैन। बरु एउटा सत्यचाहिँ के हो भने नेवार समुदायले जति आफ्ना कला संस्कृति, परम्परा, बाजागाजा आदिको संरक्षण गर्न र परम्परालाई अविच्छिन्न रूपमा अगाडि बढाउन वैदिक संस्कृति भएकाले पनि सकेका छैनन्। 

    आफूलाई वैदिक धर्मका अनुयायी भन्नेहरूले पनि भुल्दै गएको संस्कृति जोगाएर लाभ लिने नेवार समुदायको प्रशंसा जति गरे पनि कम्ती नै हुन्छ। अहिले पाश्चात्य शिक्षा र संस्कृतिले गाँज्दै ल्याएकाले नेवारी वैज्ञानिक र धार्मिक महत्त्वका परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन हुने स्थिति देखिएको छ । संसारकै इतिहासमा महत्त्वपूर्ण संस्कृति र कलालाई नयाँ पुस्तामा पुर्‍याउन सनातन धर्मावलम्बीले विशेष प्रयास गर्नुपर्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]