|

नेपालले पाँचौँ एक दिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ।

फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो। खराब ब्याटिङ सुरुआतको बाबजुद नेपालका मध्यम अर्डरले पारी सम्हाल्दै लक्ष्य रक्षा गर्ने स्थितिसम्म पुर्‍याएका थिए।

बलरले सुरुवाती लय देखाए पनि त्यसलाई निरन्तरता दिन सकेनन्। टस हारेर नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। महमुद रसिदले अविजित ६० रन बनाए। रसिद म्यान अफ द म्याचसमेत घोषित भए।

रसिदले असिकर रहमानसँग छैटौँ विकेटका लागि ९१ रनको साझेदारी गर्दै बंगलादेशको जीतको आधार तय गरे। दुर्गादत्त पौडेलको बलमा बोल्ड आउट हुनुअघि रहमानले ४५ रनको महत्त्वपूर्ण योगदान दिए। बंगलादेशको २०.२ ओभरमा १२३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रसिदले पारी सम्हाले।

नेपालका बलरले उत्कृष्ट सुरुवात गरे पनि लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट खुस्काएका थिए। ओपनर अब्दुल मल्लिकले ३८ रन र अब्दुल्लाह जोब्बिरले २६ रनको योगदान दिए। नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको बंगलादेशको खराब सुरुवात गरेको थियो। उसका ओपनर अरिफ उल्लाहलाई ४ रनमै नेपालका बलर खिमानन्द गैरेले क्लिन बोल्ड सुरुवात झड्का दिए।

चौथो ओभरमा बंगलादेशका कप्तान तान्जिलुर रहमान ६ रनमा आउट भए। तर, त्यसपछिका ब्याट्सम्यानले पारी सम्हाले। नेपालको बलिङमा भरत थापाले २ तथा दुर्गादत्त, खिमानन्द गैरे र कप्तान कीर्तन श्रेष्ठले १–१ विकेट निकाले पनि जीत दिलाउन सकेनन्। नेपालका बलरले ३३ अतिरिक्त रन खर्चिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर नै खेल्दै ९ विकेटको क्षतिमा २३४ रनको योगफल तयार पारेको थियो। खराब सुरुवात गरेको नेपालले सम्हालिन नपाउँदै लगातार विकेट गुमाएको थियो। एक समय नेपालको खातामा ७२ रन हुँदा ६ विकेट गुमिसकेको थियो। तर, सातौँ विकेटका लागि खिमानन्द र कप्तान कीर्तनले १०९ रनको बलियो साझेदारी गर्दै नेपालको पारी उकासेका थिए। हिट द विकेट हुनुअघि खिमानन्दले ३४ रन बटुले। 

३७ ओभरमा कीर्तन पनि ३ चौकाको मद्धतले ६६ रनमा आउट भए। आक्रामक ब्याटिङ गरेका पदम बडेला पनि ३० रनमा रन आउटको सिकार भएपछि रन रेटमा खस्किएको थियो। बंगलादेशको बलिङमा खुर्सिद आलमले ३ विकेट लिँदै नेपालको पारी ध्वस्त पारे। बंगलादेशले २ खेलमा १ जीत निकाल्दै अन्तिम ४ भित्र पर्ने सम्भावना बलियो बनाएको छ। लिगमा भारत र पाकिस्तानले २ जीत निकालिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.