वैशाख १ गतेबाट राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय

|

काठमाडौं : धनकुटाको छिन्ताङमा ३८ वर्षअघि मारिएका १६ जनालाई सरकारले सहिद घोषणा गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन पञ्चायती सरकारका पालामा राज्य पक्षबाट मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

संयोग कस्तो परेको छ भने, तत्कालीन प्रधानमन्त्री थापाका छोरा सुनिल अहिले मन्त्री छन्। बाबुको पालामा मारिएकाहरुलाई ३८ वर्षपछि छोरा क्याबिनेटमा रहेका बेला सहिद घोषणा गरिएको हो। ०३६ साल कात्तिक २७ गते भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्न भन्दै प्रहरीले छिन्ताङमा गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो।

साथै बैठकले आगामी वैशाख १ गतेबाट आर्थिक गणना गर्ने निर्णय गरेको छ। 'राष्ट्रिय आर्थिक गणना- २०७५' वैशाख १ गतेबाटै सुरु गर्ने गरी सूची तयार पार्न आदेश जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो आर्थिक गणना गर्न लागेको हो। यसक्रममा सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलन गरिनेछ।

बैठकले नेपाली सेनाका उपरथी गौरव चण्डुलाई रथीमा बढुवा गर्दै संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न अनुमति दिने निर्णय पनि गरेको छ। नेपालका तर्फबाट हालसम्म बालानन्द शर्मामात्रै फोर्स कमाण्डर बनेको इतिहास छ। यस्तै नेपाली सेनाकै प्रविधिक महासेनानी गेहेन्द्रराज महर्जनलाई प्राविधिक सहायक रथीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ट श्रेणीमा पदोन्नति गर्ने र लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकले उपलब्ध गराउने ८ अर्ब ऋण प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको मन्त्री बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.