भेडिया : सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीस्थित जर्जर चन्द्र नहरको डिलमा एउटा सानो झुप्रो छ। त्यहींभित्र चारवटा गाईबस्तु, आधादर्जन खसीबाख्रा र परेवासँगै वृद्ध विरक्ष मलाह र उनकी पत्नी असार यता बस्दै आएका छन्। असारमै आएको बाढीले घरवार बगाएपछि वृद्ध दम्पती चन्द्र नहरको डिलमा पुगेका हुन्। उनीहरुले सात महिनायता त्यही झुप्रोमा जसोतसो जिवन निर्वाह गर्दै आएका छन्।
विरक्षका दुईटा घर, भान्छा, गाईगोठ सबै बाढीले बगाइदियो। उनको परिवार लामो समयदेखि गाउँकै ऐलानी जग्गामा घर बनाएर बसोबास गर्दै आएको थियो। छोराहरुले कमाउन थालेपछि चार वर्षअघि एक कट्ठा नम्बरी जग्गा खरिद गरेर जसोतसो घर बनाएको विरक्षले बताए। ‘दुई पैसा जोगाएर जसोतसो जग्गा किनेर आफ्नो घर बनाएँ, त्यो पनि बाढीले बगायो’, उनले भने, ‘पछिल्लो सात महिनादेखि झुप्रोमा दिन काट्नुपरेको छ।’
विरक्षकको झुप्रोछेउकै अर्को झुप्रोमा जिवछ मुखिया (मलाह) को परिवार बस्दै आएको छ। ६५ वर्षीय जिवछ पत्नी दुलरीदेवी, बुहारी र दुई नातिनातिनीका साथ असारयता सोही झुप्रोमा बसोवास गर्दै आएका छन्। पछिल्लो बाढीले जिवछको घर बगाएसँगै १६ कट्ठा खेतीयोग्य जग्गा कटान गरेको थियो।
भारतमा मजदुरी गर्ने एक्लो छोराको भरमा दुई छाक टार्न धौधौ भएपछि त्यही सानो झुप्रोभित्रै उनले चियापसलसमेत सञ्चालन गर्दै आएका छन्। ‘बिहानबेलुका चिया बेच्छु, दैनिक दुईतीन सयजति कमाइ हुन्छ’, जिवछकी पत्नी दुलरीले भनिन्, ‘नानाथरीका दुःखपीडा सहेर जसोतसो जीवन निर्वाह भइरहेको छ।’
पछिल्लो १० दिन यता ह्वात्तै बढेको चिसो र शीतलहरका बीच झुप्रोमा ज्यान जोगाउनु निकै चुनौतिपुर्ण भएको ७० वर्षीय विरक्ष बताउँछन्। ‘अब त यो जीवन नै पहाडजस्तो लाग्न थाल्यो’, उनले भने, ‘बरु बाढीमै डुबेर मरिगए हुन्थ्यो, कम्तीमा यस्तो पीडा त खप्नुपर्ने थिएन।’ उनका दुई छोरा छुट्टै बस्दै आएका छन्। उनीहरुको पनि आर्थिक अवस्था दयनीय नै रहेको विरक्ष बताउँछन्। ‘उनीहरु (छोरा) लाई पनि के भन्नु, आफ्नै पेट भर्न धौधौ छ, हामी बुढाबुढीलाई के हेर्नु ?’ प्रश्न गर्दै उनी भन्छन्, ‘बुढीले परेवा र खसीबाख्रा पालेकी छिन्। त्यसैबाट हुने थोरबहुत आम्दानीले दुईछाक टार्ने काम भइरहेको छ।’
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्लो बाढीले तिरहुत गाउँपालिकाका १ सय ३० कच्ची घर पूरै नष्ट बनाएको थियो। यहाँका झन्डै एक हजार परिवारका २ हजार ६ सय ७७ घरमा बाढीले केही न केही क्षति पुर्याएको तथ्यांक छ। एक सयभन्दा बढी परिवार विस्थापित भएका थिए। तीमध्ये धेरैजसोले आवासको व्यवस्था मिलाए पनि जीवनभोगाइ भने पीडादायी नै भएको तिरहुत गाउँपालिका २ का वडाध्यक्ष जयप्रकाश यादव वताउँछन्। ‘बाढीबाट विस्थापित जसोतसो घर त फर्किए तर उनीहरुको जीवन अझै सामान्य हुन सकेको छैन’, यादवले भने, ‘यहाँका विपन्न बाढीपीडितको घरमा न त खाद्यान्न छ, न लत्ताकपडा नै। चिसो र शीतलहरले उनीहरुको झनै बिजोग भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।