|

रुकुम : प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय माग्न पहिलेजस्तो धेरै टाढा धाउन नपर्ने बताएका छन्। नेपालकै ७७ औं जिल्ला रुकुमपूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले अब सर्वसाधारणले घरदैलोमै न्याय पाउने बताएका हुन्।

रुकुमपूर्वका जनतालाई उनले न्याय माग्न पश्चिम रुकुम धाउनु नपर्ने उनले बताए। 'रुकुम जिल्ला एउटै हुँदा सर्वसाधारणलाई धेरै दु:ख थियो', पराजुलीले भने, ' त्यसैले रुकुमपूर्वका लागि छुट्टै जिल्ला अदालत स्थापना भएको हो।'

रुकुमपूर्वमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने क्रममा शुक्रबार जिल्ला अदालत र जिल्ला स्वास्थ्य कार्यालय स्थापना भई औपचारिक रुपमा कार्य सञ्चालन सुरु भएको हो। रुकुमपूर्वलाई नयाँ जिल्लाको औपचारिक मान्यता दिँदै गत असोज १९ गते प्रस्तावित सदरमुकाम रुकुमकोटमा केही सरकारी कार्यालय स्थापना गरिएको थियो। 

तीन स्थानीय तह मिलेर नयाँ जिल्ला बनेको रुकुमपूर्वमा यसअघि जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन कार्यालय स्थापना भइसकेका छन्। यस्तै जिल्ला स्वास्थ्य कार्यालय उद्घाटन गर्दै रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कमला रोकाले अब जिल्लामा सबै कार्यालय स्थापना हुने र विकासले गति लिने बताइन्। वर्षाैंदेखिका समस्या अब घरआँगनमै समाधान हुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.