|
फाइल फोटो

चितवन : सडक चौडा पार्ने काम चलिरहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। थारु समुदायको मुख्य पर्व माघी (खिचरा) सँगै माघेसंक्रान्ति नजिकिएकाले गाडीको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

उनका अनुसार रातिमा १० देखि ४ बजेसम्म सडक रोकेर काम गर्ने गरिएको भए पनि गाडीको अत्याधिक चापका कारण गएराति धेरै समय रोकिन पाएन। यात्रुहरुले रातभर प्रहरीलाई फोन गरेर बाटो सुचारु गर्न आग्रह गरिरहेका थिए।

‘गाडीको अत्याधिक चाप छ, काठमाडौं पोखराका गाडीसमेत अवरोध भए, अनि कसरी रातभर रोक्न सक्नु,’ पन्तले भने, ‘रातिको गाडीको चापले आज बिहानभरी नै सडकमा गाडीको लाइन छ।’ उनका अनुसार अहिले ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।

राति फेरि जलविरेमा एउटा बस गुडाउनै नमिल्ने गरी बिग्रियो । मिस्त्री खोजेर रातभरको प्रयासमा बल्ल बिहान निकालिएको छ। 

विभिन्न ठाउँमा गाडी बिग्रने गर्छ । कतैकतै काम गर्ने ठाउँमा एकतर्फी सडक चलेको छ। त्यसले समेत गाडी आवागमनमा प्रभावित बनाएका बेला गाडीको चाप बढेपछि थप समस्या भइरहेको प्रहरीले जनाएको छ। ‘विभिन्न पर्वहरुले गर्दा २० देखि ३० प्रतिशत गाडीको चाप बढ्यो,’ पन्तले भने, ‘देवघाट मेला सुरु नहुँदैको एक्कासिको चापले समस्या आयो।’

सामान्य अवस्थामा मुग्लिन सडकमा दैनिक करिब १० हजार गाडी गुड्छन्। उक्त सडकमा विगतमा जस्तो अहिले यात्रुहरुलाई जोखिम कम भए पनि सास्ती भने उस्तै छ। घण्टौ गाडीहरु जाम हुँदा सास्ती खेप्नुपर्ने अवस्था छ । 

राति १० बजेदेखि ४ बजेसम्म ६ घण्टा गाडी रोकेर भित्तो काट्ने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव बताउँछन्। उनका अनुसार रातिको काम भने प्रभावकारी हुन सकेको छैन। 

एकजना सवारी चालक सुनिल लामा ६ महिना अघिको भन्दा अहिले केही राहत महसुस गरेको भए पनि  जाम भने नरोकिएको बताउँछन्। सडक स्तरोन्नतिको काम करिब ७० प्रतिशत सकिएको आयोजना प्रमुख यादव बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.