|

देवानन्द न्यौपाने-

    कैलाली (लम्की) : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा ६ स्याउले गुलरा बजारनजिक शनिबार बिहान यात्रुबाहक बस एकापसमा ठोकिँदा ४० यात्रु घाइते भएका छन्। महेन्द्रनगरदेखि नारायणगढतर्फ आउँदै गरेको  ना७ख २२६  नम्बरको बस र टीकापुरदेखि धनगढी जाँदै गरेको  ना४ख ५१३२ नम्बरको यात्रुबाहक बस बाक्लो हुस्सुका कारण एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ।

    घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। अन्य १९ जना घाइतेको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन्। दुर्घटनामा परी बस चालक गेटा कैलालीका दिनेशबहादुर बोहोरा र नारायणी यातायातको बसका चालक प्रेम श्रेष्ठ, भल्काकी रञ्जु खड्का,

    दाङका दानबहादुर बुढा मगर, बलियाका तारा न्यौपाने र परिचय नखुलेका एक जना भल्काका स्थानियको अवस्था गम्भीर रहेको, लम्कीस्थित लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहोल्पुर रेफर गरिएको अस्पताल स्रोतले बताएको छ।

    दुर्घटनामा परी धनगढीका रमेश भण्डारी, महेश महरा, चेतराज जोशी, पशुपति चौधरी, गौतम थारू, भल्काका दीप प्रभात, दाङका डम्मबर कार्की, नवलपासिका टीकाप्रसाद चौधरी, हिरीमनी महतो, भुपेन्द्र महतो, धनबहादुर थापा, इन्द्र बहादुर कुमाल, रुपन्देहीका टंक प्रसाद पन्ती लगायतकाको लालरत्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए।   

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.