|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : पैसा कमाउने रहर कसलाई पो हुँदैन र? ६ बर्ष अघि पैसा कमाउने र सुखको जीवन विताउने अपेक्षासहित साउदी हानिएका काभ्रेपलाञ्चोकका रामलाल तामाङ विदेशी भूमीमा पुगेपछि मात्र थाहा पाए, त्यहाँ पनि त्यती सहज रहेनछ। चार वर्ष साउदीको गर्मीमा बगाएको पसिनाले उनको जीवनमा कुनै परिवर्तन ल्याएन। केवल परिवार र जन्मभूमिबाट टाढामात्र बनायो।

चार वर्ष साउदीको ग्याँस कम्पनीमा काम गर्दा पनि बचत गर्न नसकेपछि आफ्नै देशमा केही गर्ने लक्ष्यसहित उनी स्वदेश फर्किए। उनी भन्छन ‘म २०६८ सालमा साउदी गएर चार बर्षसम्म त्यहाँको गर्मीमा काम गरें, तर कमाई जति घरखर्चमा नै सकियो। बचत गर्न नसक्ने भएपछि त्यहाँबाट फर्किएर आफ्नै गाउँमा पशुपालन तथा कृषि फर्म दर्ता गरेर गाई पालन शुरु गरेको छु।’

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ (साविक रविओपी गाविस–३) मितिनिछापका रामलाल तामाङको फर्ममा अहिले २० वटा गाई छन्। पाँच वटा गाईबाट शुरु भएको उनको व्यवसाय फस्टाउँदै गएको छ। हाल उनी दूध बेचेर मात्र मासिक ७० हजार कमाउँछन्। उनी भन्छन् ‘दैनिक ७० लिटर दूध बेच्दै आएको छु, खर्च कटाएर ७० हजार त बचत हुन्छ।’ उनको फर्ममा भएका मध्ये ६ वटा गाई ब्याउने छन्। माघको अन्तिमसम्ममा २ सय लिटर दूध उत्पादन गर्ने उनको लक्ष्य छ।

रोजगारीको खोजीमा भैंतारिदै साउदी पुगेका तामाङ अहिले अरुलाई रोजगारी दिने भएका छन्। उनको फर्ममा तीन जनाले रोजगारी पाएका छन्। ब्यवस्थापनदेखि गोठको काममासमेत आफं खट्दै आएका तामाङलाई श्रमती सोमामाया तामाङ र दिदी सितामाया तामाङले साथ दिएका छन्। ‘शुरुमा सबै काममा आफैं लागेपनि अहिले श्रीमती र दिदीले सघाउनुहुन्छ’ तामाङले भने। अहिले तमाङ गोठको काम भन्दा पनि दाना उपलब्ध गराउने र बजार ब्यवस्थापनको काममा बढी व्यस्त छन्।

उनी गाईपालनसँगै कुखुरापालन, बाख्रापालन र तरकारी खेती गर्ने तयारीमा छन्। गाउँमा काम गर्ने मान्छे नै नपाएपछि आफूले गर्नसक्ने काममा आफैं खट्ने गरेको उनको भनाइ छ। उनी भन्छन् ‘खेतबारीमा काम गर्ने मान्छे त नपाईने भयो, गोबर सोहोर्न झन् कहाँ पाईन्छ र?’ विदेशमा जतिको काम गर्‍यो भने त्यहाँ कमाएको पैसा त घरमा नै बसेर कमाउन सक्ने उनको अनुभव छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.