|

बाँके : आरन व्यवसाय गर्दै आएका बैजनाथ गाउँपालिका– ८, बेलडाँडीका टेकबहादुर विक दश वर्षअघि घरघरमा गएर खलो (बाली) उठाउँथे। काम गराउँदा अनेक किसिमका खोट देखाउने किसानले ज्याला दिने बेला पनि कुरा सुनाउँथे। खलो दिने बेला कमसल खालका धान, गहुँ, तोरी, मसुरो दिने गरेको उनले विगत सम्झिए। 

निश्चित ज्यालाका लागि उनले वर्षभरि किसानको काम गर्नुपर्ने हुन्थ्र्यो, त्यो पनि नगदमा होइन। उनले श्रमसँग खाद्यान्न साट्ने गरेका थिए। वर्षभरि गरेको श्रमको ज्याला लिन उनले किसानका घरमा गएर बोरामा धान, मकै, गहुँ, तोरी, मसुरो थाप्ने गरेका थिए। तर, पारिश्रमिकवापतको खाद्यान्न एकदमै कम त हुन्थ्यो नै, ज्याला पनि किसानले नै तोक्ने गरेका थिए। ‘बाबु, छोराले वर्षभरि काम गरेको ज्याला २५ क्विन्टल धान मात्र हुन्थ्यो’, उनले खलो प्रथाको व्यथा सुनाए।

तर अहिले उनको दैनिकी फेरिएको छ। अहिले समयसँगै व्यवस्था फेरिएको छ। पछिल्लो समय टेकबहादुर होइन, किसान स्वयम् उनको घरमा पुग्छन्। मेरो काम छिटो गरिदिनुप¥यो भनेर विन्तीभाउ गर्छन्। र, उनले मागेको ज्याला बुझाउँछन्। आजभोलि गाउँघरका किसानहरू खोज्दै आउने गरेको उनले बताए। ‘अहिले मैले खोज्दै जान्नँ, मलाई खोज्दै किसानहरू मेरो घरमा आउँछन्’, उनले भने। 

खेती किसानीमा प्रयोगमा आउने सामग्री निर्माणका लागि उनका नियमित ग्राहक छन्। नियमित ग्राहकबाहेकका पनि फलामको काम गराउन आउने गरेको उनले बताए। साविक टिटिहिरिया गाविसका साथै साविक बनकटवा गाविसका किसान पनि काम लिएर आउने गरेको उनले बताए। ‘अहिले न किसानको कुरा सुन्नुपर्ने चिन्ता छ, न त काम नपाइएला भन्ने चिन्ता नै’, उनले भने। 

आरन पेसाबाट राम्रो आम्दानी
खलो प्रथाबाट नगद ज्यालादारीमा काम गर्न थालेपछि उनको आम्दानी बढेको छ। काम पनि कहिल्यै अभाव नभएको उनले सुनाए। उनले खलो प्रथाले थलिएका कारण आफ्ना पुर्खाहरूको आर्थिक अवस्था कमजोर भएको बताए। उनले एउटाको काम नसकिँदै अर्को काम आउने गरेको बताए। 

उनले अहिले दैनिक सरदर एक हजार रुपैयाँ कमाउँदै आएका छन्। वर्षमा कम्तीमा एक लाख रुपैयाँ बचत हुने गरेको उनले बताए। ‘यही पेसाबाट सात जनाको परिवार पाल्दै आएको छु, छोराछोरी पढ्दै छन्, खाई, पिईबाट बचेको रकमबाट जमिन खरिद गरेका छौँ’, उनले भने। 

आरन पेसाले रोक्यो विदेश जान
दश वर्षअघि उनी रोजगारीका लागि विदेश जाने योजना बनाएका थिए। नगदमा काम गर्दा कमाइ राम्रो भएपछि विदेश जाने योजना त्यागेको उनले बताए। ‘कमाइ राम्रै भएको छ, विदेश जानुपरेको छैन’, उनले भने, ‘कमाइ राम्रो भएपछि विदेश जाने सपना त्यागेँ।’ 

उनले सीपअनुसारको काम गरे युवा पुस्ता कामको खोजीमा विदेश जानु नपर्ने बताए। सीपअनुसारको काम नगरेकै कारण युवा पुस्ता विदेश पलायन भएको उनको बुझाइ छ। ‘मिहिनेत गर्नेका लागि नेपालमै प्रहस्त ठाउँ छ’, उनले भने, ‘आफ्नो देशमा काम गर्दा लजाउनेहरू विदेशमा जुनसुकै काम गर्न तयार हुनु नराम्रो हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.