विचार

माघे संक्रान्तिको महत्त्व
SHARES

पुस ३०, २०७४

    नेपाली संस्कृतिमा सबै जातजातिले ठूलो महत्त्वका साथ मनाउँछन्– माघे संक्रान्ति। माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ। सनातन धर्माबलम्बीहरू बिहान सबेरै उठेर नदी, तलाउजस्ता पवित्रस्थलमा स्नान गरी देवपितृहरूलाई तर्पण गर्दछन्। माघे संक्रान्तिमा ब्राह्मण, पुरोहितहरूबाट मैना (महिमा) सुन्ने परम्परा छ। 

    मैना सुनाउनको मुख्य उद्देश्य भनेको अयन, ऋतु, तिथि, बार र तिनीहरूको सम्पूर्ण जानकारी दिनु हो। मैना सुनाउँदा पुरोहितहरू, ‘आजदेखि माघ लाग्यो, सूर्य मकर राशिमा प्रवेश...। दक्षिणायनबाट उत्तरायण...। सपरिवारमा नवग्रह दशा, रोगभय, शत्रुभय जस्ता अनिष्टफल नाश होउन्...' जस्ता वचन पढ्छन्। यसरी मैना सुनिसकेपछि यजमानहरूले ब्राह्मणको हातबाट तिलक पाती ग्रहण गरी गच्छेअनुसार दान गर्छन्।

    नेवारी संस्कृतिमा यो दिनलाई घ्यो चाकु सन्हु अर्थात् घ्युचाकु खाने संक्रान्तिका रूपमा मनाइन्छ। थारु समुदायले यस दिन माघी पर्व मनाउने गर्छ। माघे संक्रान्ति उनीहरूको नयाँ वर्ष आरम्भको दिन पनि हो। यसैले वर्षभरिको हिसाबकिताब मिलाउने, नाचगान र खानपान गरेर उनीहरू यो पर्व मनाउँछन्। अरु जाति र संस्कृतिमा पनि माघे संक्रान्तिको विशेष महत्त्व रहेको पाइन्छ। आफ्नो परम्परा अनुसार धार्मिक कार्य गर्ने र चिसोबाट मुक्त हुने किसिमका खानेकुरा देवीदेवतालाई चढाएर आफू पनि खाने चलन सबै जातजातिमा छ। यसैगरी बिहे गरेर कर्मघर गएका चेलीबेटीलाई बोलाएर ख्वाउने चलन सबै जातिमा पाइन्छ। 

    मकरसंक्रान्ति मात्र होइन माघ महिना नै धार्मिक, साँस्कृतिक एवं सामाजिक पक्षले महत्त्वपूर्ण मानिन्छ। अधिकांश चाडपर्व, मांगलिक कार्य गर्न अनुकुलको महिनाको रूपमा त माघको महत्त्व त छ नै स्वास्थ्यको दृष्टिले जे खाए पनि पच्ने, माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ। ऋतुको हिसावले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकोले प्राकृतिक रूपले उजाड देखिने महिना पनि हो यो। 

    के हो माघे संक्रान्ति ?
    प्रचलनमा रहेको सौरमानको पात्रोअनुसार वर्षमा वैशाखदेखि चैत्रसम्मका बाह्र महिना छन्। ज्योतिषशास्त्र अनुसार यी महिनाहरूमा मेषदेखि मीनसम्मका बाह्र राशिमा सूर्य रहने गर्दछ। अर्थात् सूर्यले एकराशिमा एक महिना बिताउँछ। यसरी नै सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई नै संक्रान्ति भनिन्छ। यसैले माघ एक गतेलाई माघे संक्रान्ति भनिन्छ। यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकरसंक्रान्ति पनि भनिन्छ।

    निरयण मान्यताअनुसार यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने समेत भएकोले यस दिनलाई महत्त्वका साथ लिने गरिन्छ। अयन भन्नाले सूर्यले हिड्ने बाटो भन्ने बुझिन्छ। सूर्य वर्षभरि दुईतर्फ ढल्किने गर्छ दक्षिण र उत्तर। यसैलाई दक्षिणायन र उत्तरायण भनिन्छ। श्रावण संक्रान्तिदेखि ६ महिनासम्म (पौषमसान्तसम्म) अर्थात् कर्कट राशिदेखि धनु राशिसम्म सूर्य दक्षिणतर्फ हुन्छ। यसैलाई दक्षिणायन भनिन्छ। माघसंक्रान्तिदेखि ६ महिनासम्म (आषाढ मसान्तसम्म) अर्थात् मकर राशिदेखि मिथुन राशिसम्म सूर्य उत्तरतर्फ हुने हुनाले यस अवधिलाई उत्तरायण भनिन्छ।

    धार्मिक महत्त्व 
    श्रीमद्भागवत गीतामा उत्तरायणमा प्राण त्याग गर्ने व्यक्ति ब्रह्ममा लीन हुने बताइएको छ– अग्निर्ज्योतिरिहः शुक्ल षण्मासा उत्तरायणम्। तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः।। उत्तारायण सुरु हुने महिना भएकाले माघ महिनाको विशेष महत्त्व छ। त्यसैले महिनाको पहिलो दिन गरिने मकर स्नानको महिमा बताइएको छ। यस दिन विशेषगरी त्रिवेणी ( तीन नदीको संगम स्थल) र दोभान(दुई नदीको संगम) मा स्नान गर्नेहरूको ठूलो भीड लाग्ने गर्दछ। भारतको प्रयाग त्रिवेणी, नेपालको नवलपरासी जिल्लाको त्रिवेणी, रिडी क्षेत्रमा रहेको रुरु तीर्थस्थल, चितवनको देवघाट आदिमा मकरस्नान गर्नेको घुइँचो लाग्छ। उपत्यकामा शंखमूल, आर्यघाट आदि क्षेत्रमा पनि तिर्थालुको घुइँचो लाग्ने गर्छ। 

    यो दिन विभिन्न घाट, त्रिवेणी, दोभान र तीर्थस्थलमा स्नान जप र तर्पण गर्नाले पितृहरू पार तर्ने विश्वास गरिन्छ। अझ चितवनको देवघाटमा स्नान गर्न स्वर्गबाट इन्द्रादि देवता र ऋषिमुनिहरू समेत आउने विश्वास गरिन्छ। माघ महिनामा तिलको विशेष महत्त्व भएको पाइन्छ। तिलबाट देवता र पितृलाई चढाउने र यसबाट बनेको पदार्थ खाने परम्परा छ। 

    सामाजिक महत्त्व
    माघे संक्रान्ति पर्वलाई ठाउँअनुसार विभिन्न नामले मनाइने हुनाले यसको साँस्कृतिक एवं सामाजिक पक्षबाट पनि निकै महत्त्व छ। यस दिन विशेषगरी पहाडी भूभागमा गाईभैसीको शुद्ध घ्युमा मासको दाल, चामल, बेसार, अदुवा, समेतको खिचडी बनाएर खाने गरिन्छ। शहरी भागमा भने सख्खरलाई पकाएर बनाएको चाकु घ्युसहित खाने गरिन्छ। साथै यो दिन तिलको लड्डु, तरुल, सेल, फुलौरा, पालुंगाको साग आदि पदार्थ (ठाउँअनुसार) खाने चलन छ। थारु समुदायमा घुँगी, खिचरालगायतका पदार्थ खाने चलन छ। व्यावहारिक रूपले हेर्ने हो भने पनि पुस र माघमा कठ्याङ्ग्रिने जनजीवनलाई उष्णता प्रदान गर्न यी खानेकुराको ठूलो महत्त्व रहेको पाइन्छ। अर्कोतर्फ कामको व्यस्तताबाट एक दिन भए पनि फुर्सद निकालेर जम्मा हुने अवसर पनि हो,  माघे संक्रान्ति।

    कतिपय संस्कृतिमा यो दिन तेल लगाएर घाममा बस्ने चलन छ। यसो गर्दा पुस महिनामा पसेको शरीरको चिसो भाग्छ भन्ने विश्वास गरिन्छ। माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जान्छ। सूर्य मकर राशिमा रहँदा मांगलिक कार्य गर्न मुहूर्त निस्कने, विभिन्न चाडपर्वहरू पर्ने लगायत कतिपय व्यावहारिक पक्षका कारण यो दिनको  ठूलो महत्त्व रहेको पाइन्छ।

    वैदिक परम्परामा माघ
    वैदिक परम्पराअनुसार नववर्षलाई माघ मास आरम्भ भनिन्छ। तर यो मंसिरको उत्तरार्ध वा पुस महिनाको पूर्वार्धतिर पर्छ। पात्रोअनुसार 'मकरे सायनार्क' लेखिएका दिनमा शुक्ल पक्षका कुनै तिथि परेका भए त्यसै पक्षको प्रतिपदामा  कृष्णपक्षको नवमीभन्दा अघिका तिथि भए त्यही कृष्णपक्षको प्रतिपदा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा नयाँ वर्ष सुरु हुन्छ। वैदिक महिना र वर्ष ऋतुबद्ध मानिन्छन्। अर्थात् वर्ष, महिना र ऋतु एकैसाथ शुरु हुन्छन्।

    माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जान्छ। सूर्य मकर राशिमा रहँदा मांगलिक कार्य गर्न मुहूर्त निस्कने, विभिन्न चाडपर्वहरू पर्ने लगायत कतिपय व्यावहारिक पक्षका कारण यो दिनको  ठूलो महत्त्व रहेको पाइन्छ।

    महिना नै महत्त्वपूर्ण
    मकरसंक्रान्ति मात्र होइन माघ महिना नै धार्मिक, साँस्कृतिक एवं सामाजिक पक्षले महत्त्वपूर्ण मानिन्छ। अधिकांश चाडपर्व, मांगलिक कार्य गर्न अनुकुलको महिनाको रूपमा त माघको महत्त्व त छ नै स्वास्थ्यको दृष्टिले जे खाए पनि पच्ने, माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुने र विस्तारै दिन लामो हुँदै जाने र केही न्यानो बद्ढै जाने समेत हुन्छ। ऋतुको हिसावले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकोले प्राकृतिक रूपले उजाड देखिने महिना पनि हो यो। 

    माघमै सनातन धर्मावलम्बीका महत्त्वपूर्ण चाडपर्व पर्दछन्। यसैगरी  विवाह, व्रतबन्धलगायतका मांगलिक कार्य गर्नका लागि उपयुक्त महिना मानिन्छ। माघको कृष्णपक्षमा पर्छ, षड्तिला एकादशी। यो दिन तिललाई छ प्रकारले प्रयोग गरिन्छ। हुन त, हिन्दुका धर्मग्रन्थहरूले यस महिनाभरि नै तिलको प्रयोगको महिमा बताएको पाइन्छ।  यो दिन स्नान, दान, होम, तर्पण, भोजन र मर्दन यी छ कार्यमा प्रयोग गर्नुपर्ने बताइएको छ।  

    माघकृष्ण औशीमा पशुपतिको आर्यघाटमा माधवनारायणको मेला लाग्छ। यही दिन बुटवलको त्रिवेणीमा समेत मेला लाग्छ। हिमाली भेगमा बस्ने शेर्पा, गुरूङ समुदायले मनाउने नववर्षमध्येको सोनाम ल्होसार  माघशुक्ल प्रतिपदाको दिन सुरू हुन्छ। यो महिनामा पर्ने अर्को महत्त्वपूर्ण चाड हो, माघ शुक्लपञ्चमी अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने विशिष्ट पर्वलाई वसन्तपञ्चमी, श्रीपञ्चमी वा  सरस्वतीपूजाको नामले पनि चिनिन्छ। ज्ञान प्राप्त गर्ने र अन्धकारबाट उज्यालोतर्फ अगाडि बढ्न प्रेरित गर्ने दिनको रूपमा यो पर्वको महत्त्व छ।

    पौषशुक्ल पूर्णिमादेखि एक महिनासम्म मध्याह्नमा भगवान् शिवसहित स्वस्थानी  परमेश्वरीको विधिपूर्वक पूजा आराधनाका साथै स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्छन्। माघ शुक्ल पूर्णिमाको दिन समाप्ति गरिन्छ। स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार शालीनदीमा एक महिनासम्म मेला लागिरहेको छ। माघको मंगलवारलाई महत्त्वपूर्ण मानिन्छ। 

    माघको मंगलवार गणेशजीको आराधना गर्ने बढी फलदायी मानिन्छ। स्कन्द पुराणअन्तर्गत माघ माहत्म्यमा शिवभट्ट ब्राह्मण दम्पतीले माघ महिनाकै मंगलवार गणेशजीको  आराधना गरी सन्तान एवं धनधान्यले पूर्ण भएको उल्लेख छ। माघ महिनाको मंगलबार ऋद्धि र सिद्धि (गणेशपत्नी) सहित लड्डु, दुवो आदि पदार्थ चढाएर गणेशको पूजा आराधना गर्नाले मनोवाञ्छित फल पाइने जनविश्वास छ। उपत्यकामा रहेका चार विनायकमा यस अवधिका मंगलवार विशेष मेला लाग्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]