|

चितवन  : थारूहरूको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको अवसर पारेर पश्चिम चितवनको पटिहानीमा पहिलो खिचरा महोत्सव सुरु भएको छ।

थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ५ बेलोध प्रगन्नाको आयोजनामा आइतवारदेखि शुरु भएको ‘बेलोध खिचरा महोत्सव’ माघ ४ गतेसम्म चल्ने छ। आज थारूहरूले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामले मनाईरहेका छन्।

थारूहरूको संस्कृति संरक्षणका लागि यहाँ पहिलो पटक आयोजित महोत्सवको सोमबार चितवन क्षेत्र नम्बर तीनको प्रदेशसभा सदस्य रामलाल महत्तोले उद्घाटन गरे।

सो क्रममा उनले महोत्सवले पटिहानीको पर्यटन विकास र थारूको मौलिक संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

थारू समुदायको भेषभूषा, रहनसहन, खानाका परिकारका साथै विभिन्न व्यवसायिक गरी ५० वटा स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक ठगाई महत्तोले जानकारी दिए।

म्होत्सवमा १५ देखि १७ लाखको आम्दानी हुने अनुमान गरिएको र करिव २० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा आएका दर्शकहरूले जिप, हात्ती, डुंगा सफारी तथा गाडा चडेर स्थानिय संस्कृति तथा वन्यजन्तुको अवलोकन गर्न सक्नेछन्।

पछिल्लो समयमा पर्यटकिय स्थलको रुपमा विकास भैरहेको पटिहानीमा उक्त महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुग्ने स्थानिय संरक्षणकर्मी अपिल घिमिरेको भनाई छ।

यहाँ २ दर्जन बढी होटलहरूले पर्यटकलाई सेवा दिंदै आएका छन्। चितवन निकुञ्जको नजिकै भएकाले पटिहानीमा पर्यटकको आकर्षण छ।

महोत्सवमा सर्वसाधारणलाई २० र विद्यार्थीलाई रु १० टिकटको व्यवस्था गरिएको छ। उद्घाटनको दिन आज गायक विष्णु खत्री र जमुना सनमले प्रस्तुति दिएका थिए।

महोत्सवमा सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली), गायक सुनिल गिरी लगायतले आआफ्नो प्रस्तुति दिने जनाईएको छ। आज महोत्सव उद्घाटन पुर्व हात्ती तथा विभिन्न जातजातिका झाँकी सहितको शोभायात्रामा निकालिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.