|

काठमाडौं : फुटेका माओवादीबीचको एकतापछि गठित नेकपा माओवादी केन्द्र र भातृ संस्थाको संगठन ‘भद्रगोल’ छ । एकतापछि पार्टीभित्र पदीय वरियता र जम्बो केन्द्रीय समितिलाई मिलाउन समस्या परिरहेको बेला भातृ संस्था ‘भद्रगोल’ रहेको पाइएको हो ।

१० माओवादीबीचको एकतापछि गठित माओवादी केन्द्रमा केन्द्रीय समितिबाहेक अन्य कमिटिको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन । गत ९ जेठमा राजधानीमा बसेको माओवादी केन्द्रको पहिलो बैठकले जेठ महिनाभित्र जनस्तरसम्म एकता गर्ने निर्णय गरेको थियो । तर पार्टीको जम्बो केन्द्रीय समितिप्रति आपत्ति जनाई जनस्तरका कार्यकर्ताले एकता प्रक्रियामा जान मानेका छैनन् । पार्टीले प्रदेशहरुमा प्रशिक्षणसहित एकता भेला गरे पनि पदीय जिम्मेवारी टुंगिएको छैन । त्यसैगरी हालसम्म कुनै पनि जिल्लामा माओवादी केन्द्रको तदर्थ कमिटि समेत बनेको छैन ।

यससँगै पुरानो एमाओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसिएल) र अन्य माओवादीको युवा दस्ताबीच पनि हालसम्म एकता भएको छैन । उनीहरुले जम्बो केन्द्रीय समितिप्रति समेत आपत्ति जनाएका छन् । पुरानो एमाओवादीको संगठन हुँदा माघ ८ र ९ गते सम्पन्न अधिवेशनले रामचन्द्र शर्मालाई अध्यक्ष बनाइएको थियो ।  एकतापछि अन्य माओवादीका युवा दस्तासँग भने एकता भएको छैन । ‘हामीबीचमा पनि केही असन्तुष्टिहरु छन्, त्यसलाई हामीले स्वभाविक रुपमा लिएका छौँ । त्यो भन्दा पनि ठूलो समस्या भनेको पार्टीको जम्बो समितिप्रति हाम्रो आपत्ति हो, पार्टीको मुल संगठन नै भद्रगोल छ भने भातृ संस्था हुनु कुनै नौलो कुरा होइन’ एक नेताले भने । 

त्यसैगरी चैत २४–२६ मा काठमाडौंमा सम्पन्न एमाओवादी निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को छैटौँ सम्मेलनबाट धर्मशिला चापागाई अध्यक्षमा चुनिइन् । प्रचण्डपुत्री रेणु दाहाल महासचिव बनेकी अनेमसंघ क्रान्तिकारी र अन्य माओवादीबीचमा पनि एकता हुन सकेको छैन । सबै पार्टीका महिला संगठनले पनि पार्टीको निर्देशनलाई अटेर गरेका छन् । महासचिवले दाहालले भने संगठनात्मक रुपमा एकता हुन बाँकी रहेको भन्दै त्यसको प्रक्रिया सुरु भएको बताइन् । उनले जम्बो समितिप्रति केही असन्तुष्टि हुनु स्वभाविक भएको भन्दै पार्टीको निर्देशनमा सबै चल्ने बताइन् । उनी माओवादी केन्द्रको केन्द्रीय आयोजक समिति सदस्य समेत हुन् ।

यससँगै ६ जेठमा विभाजित माओवादीबीच भएको एकतापछि १७ जेठमा ट्रेड युनियन महासंघको छैटौँ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले शालिकराम जमकट्टेललाई अध्यक्षको जिम्मेवारी दिइयो । अन्य माओवादीलाई वास्तै नगरी एकलौटी ढंगले महाधिवेशन गरेको भन्दै एकता प्रक्रियामा सामेल अन्य मदजुरहरुले गुनासो गरेका छन् । पुरानो एमाओवादी सम्बद्ध मदजुर संगठन र अन्य मजदुरहरुबीच पनि अहिलेसम्म एकता हुन सकेको छैन ।

त्यसैगरी एकता प्रक्रियामा सामेल भएका माओवादी निकट किसानहरुबीच पनि एकता भएको छैन । एमाओवादी निकट किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को पनि वैशाख २७–२९ मा महोत्तरीको बर्दिबासमा महाधिवेशन भयो । तर त्यसपछि अन्य माओवादीका किसान संगठनहरुबीचमा एकता हुन सकेको छैन । उनीहरुले पनि मुल पार्टीभित्रको विवाद मिलेपछि मात्रै एकता गर्ने बताए । 

पत्रकारबीच एकता, महाधिवेशन भदौ ११ मा

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुबीच भने एकता भएको छ । पुष्पकमल दाहाल (प्रचण्ड), रामबहादुर थापा (बादल) लगायतका अन्य माओवादीबीचको एकतापछि गठित प्रेस सेन्टर नेपालको प्रदेश तथा जिल्ला कमिटिमा भने अहिलेसम्म एकता हुन सकेको छैन । ४ सय ९९ सय सदस्यीय केन्द्रीय आयोजक समिति बनाएका प्रेस सेन्टरले भदौ ११ र १२ मा महाधिवेशन गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यले बताए । 

‘संगठन मिलाउँदै गइन्छ’

नेकपा माओवादी केन्द्रका नेता एवम् केन्द्रीय संगठन समायोजन कार्यदलका संयोजक वर्षमान पुनले संगठनलाई मिलाउँदै लैजाने बताए । एकतापश्चात पार्टीभित्र र जनवर्गीय समितिमा देखिएको विवादका विषयमा छलफल भइरहेको भन्दै उनले संगठन मिलाउने कुरा प्रधान नभएको स्पष्ट पारे । ‘पहिलो कुरा एकता हो, एकतापछि देखिएको सबै विवाद मिलाउँदै गइन्छ ।’ थाहा खबरसँग उनले भने ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.