|

  • रमेश रावत-

अछाम : अछामका महिलाहरूले छाउपडी कुप्रथा निर्मूलका लागि जनप्रतिनिधिहरूलाई गुहारेका छन्। छाउपडी गोठमै ज्यान गुमाउने महिलाको संख्या बढेपछि महिलाहरू न्याय माग्न थालेका हुन्। जिल्लाका अधिकांश महिलाहरू यो कुप्रथाका कारण विभिन्न हिंसा सहन बाध्य भएका छ्न्।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ५ लयाटिकी निर्मला बुढाले रजश्वला भएको समयमा घरमै बस्दा सामाजिक रूपमा तिरस्कार सहनुपरेको गुनासो सुनाएकी थिइन्। माइतीघर कन्चनपुर भएकी बुढाले गाउँका महिलाहरू ६ दिनसम्म छाउगोठमै बस्ने गरेको बताइन्। 'पहिले गुफा(ओडार) मा बस्ने गरेका थियौं, आजभोलि छाउगोठसम्म बस्ने भएका छौं' कालेकाडाकी पद्मा कार्कीले भनिन्।

जिल्लाको पन्चदेवल विनायक नगरपालिकाले छाउपडी कुप्रथा न्यूनीकरणका लागि अभियानको थालनी गरेको छ। नगरपालिकाले अभियानअन्तर्गत नगरपालिकाका पदाधिकारी र सदस्यहरूलाई रजश्वला भएकी महिलालाई घरमा बस्ने वातावरण सिर्जना गर्न आफैँ अग्रसर हुन भनेको छ। मंगलबार नगरका अगुवा महिलाहरूसँग छलफल गरेपछि नगर उपप्रमुख अम्बिका चलाउनेले सुधार आफैँबाट गर्न अग्रसर भएको बताइन्।

छलफलका क्रममा उपस्थित अधिकांश महिलाहरूले आफूहरू छाउगोठमा ज्यान जाने त्रासमा रहेको बताएका थिए। पञ्चदेवल नगरपालिका वडा नम्बर ५ की तारा शाहीले भनिन्, 'सरकार हामी छाउपडी गोठमै मर्न चाहँदैनौ।'

पन्चदेवल क्याम्पस, अछामकी निमित्त प्रमुख विनिता अधिकारिले छाउपडी कुप्रथाको रूपमा रहेको र यसलाई अन्त्य गर्नुपर्ने बताइन्। उनले यो कुप्रथालाई अन्त्य गर्न जिल्लामा रहेका सबै राजनीतिक दलहरूले साझा लक्ष्य बनाउनुपर्ने र नागरिक समाज तथा समाजका अगुवाले पनि पहलकदमी लिनुपर्ने बताइन्।

महिलाहरूका कुरा सुनेपछि नगर प्रमुख देवराज देवकोटाले नगरपालिकालाई छाउपडी गोठ मुक्त घोषणा गरिने प्रतिबद्धता जनाएका थिए। अछाम जिल्लामा अहिलेसम्म छाउगोठमा २०६३ यता ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.